पोखरा, पोखरामा संचालित सुजल डेरी प्रालिले पोखराको लेकसाइडस्थित बाराही चोकमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’को नयाँ आउटलेट (पार्लर) सञ्चालनमा ल्याएको छ। सुजल डेरीले संचालमा ल्याएको यो पार्लर पोखरामा चिप्लेढुंगापछिको दोश्रो र नेपालको लागि चौथो आउटलेट हो। यस अगाडी काठमाडौंको नक्साल र महाराजगंञ्जमा पनि आउटलेट सञ्चालनमा छन्।
बाराहीचोकमा खोलिएको आउटलेटको उद्घाटन लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले गरेका थिए । कार्यक्रममा लेकसाइड लगायत अन्य क्षेत्रका बिभिन्न पेशा र ब्यबसायसंग सम्बन्धित व्यक्तित्वको सहभागिता रहेको थियो । सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको उक्त नयाँ आउटलेटलाई आधुनिक, आरामदायी तथा परिवारमैत्री वातावरणमा तयार पारिएको कम्पनीले जनाएको छ।
बर्षौंदेखि डेरी उद्योगमा हासिल गरेको अनुभव, गुणस्तरप्रतिको प्रतिबद्धता, मापदण्डमा आधारित उत्पादन प्रणाली तथा स्थानीय दुग्ध किसान सँगको सहकार्यलाई उपभोक्ता केन्द्रित प्रिमियम रिटेल व्यवसायमा विस्तार गर्ने उद्देश्यसहित पार्लर अघि बढाइएको हो। लभबर्ड्सले उत्कृष्ट सामाग्री प्रयोग गरी नवीनता, फरक स्वाद र उपभोक्ता अनुभवलाई ध्यानमा राख्दै सबै उमेर समूहका लागि आइसक्रिमलाई तीन श्रेणीमा विभाजन गरेको छ। जसअन्तर्गत क्लासिक फ्लेभर्सको सानो स्कुपलाई १५० रुपैयाँ र रेगुलर स्कुपलाई २३० रुपैयाँ तोकिएको छ। यस्तै प्रिमियम फ्लेभर्सको सानो स्कुप १७५ रुपैयाँ र रेगुलर २५५ रुपैयाँ तथा एक्जोटिक फ्लेभर्सको सानो स्कुप २२५ रुपैयाँ र रेगुलर स्कुपलाई ३१० रुपैयाँ पर्नेछ।

लेकसाइड घुम्न आउने स्थानीय तथा बाह्य पर्यटकलाई लक्षित गर्दै पार्लरमा बसेर खान मिल्ने तथा तथा साथमा लिएर जना मिल्ने (टेक-अवे) सेवाको व्यवस्था गरिएको छ। बिहान १० बजेदेखि बेलुका ११ बजेसम्म खुल्ने नयाँ पार्लरलाई साथीभाइ तथा परिवारसँग समय बिताउन र रमाइलो गर्नका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गरिएको सुजल डेरीका निरज श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए।
‘पोखराका उपभोक्तालाई विश्वस्तरीय आइसक्रिमको अनुभव उपलब्ध गराउनु हाम्रो उद्देश्य हो, तर त्यसका लागि महँगो मूल्य तिर्नुपर्ने अवस्था नहोस् भन्नेमा हामी सचेत छौँ,’ लभबर्ड्सका एक आधिकारिक प्रतिनिधिले भने, ‘उत्कृष्ट स्वाद र खुसीको एक स्कुप हरेकका लागि पहुँचयोग्य हुनुपर्छ भन्ने हाम्रो विश्वास हो।’













