लण्डन, बेलायतमा नेपाली कला, संस्कृति र पहिचानको प्रतिष्ठित सांस्कृतिक पर्वका रूपमा स्थापित १७ औँ नेपाली मेला आउँदो आइतबार लण्डनस्थित केम्पटन पार्क रेसकोर्समा आयोजना हुने भएको छ। तमुधिं यूकेद्वारा आयोजित मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मिचेटस्थित तमुधिं यूके भवनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी, सांस्कृतिक कार्यक्रम, सहभागिता, पुरस्कार, स्टल तथा पार्किङ व्यवस्थालगायतका विषयमा जानकारी गराइएको हो। विगतमा जस्तै यस वर्ष पनि नेपाली दूतावास लण्डनको सहकार्यमा मेला आयोजना हुँदैछ।
बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने मेलामा विभिन्न समुदायका मौलिक झाँकी, गीत–संगीत तथा नृत्य प्रस्तुत गरिनेछ। लाखे, मारुनीलगायत मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिहरू मेलाका विशेष आकर्षण रहनेछन्। मेला संयोजक तथा तमुधिं यूकेका उपाध्यक्ष कमल कोने गुरुङले नेपाली मेला कला, संस्कृति र पहिचानको महान् उत्सव भएको बताए। उनले बेलायतमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र पहिचानसँग जोड्न पनि मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
यस वर्ष झाँकी तथा नृत्य प्रतियोगिताको पुरस्कार राशि उल्लेख्य रूपमा वृद्धि गरिएको छ। विजेता टोलीले प्रतिष्ठित एम्बासडर कपसहित एक हजार पाँच सय पाउण्ड प्राप्त गर्नेछ। गत वर्ष विजेताको पुरस्कार एक हजार एक सय पाउण्ड थियो। पहिलो रनरअपलाई सात सय पाउण्ड र दोस्रो रनरअपलाई पाँच सय पाउण्ड प्रदान गरिनेछ। विजेता टोलीहरूलाई नगद पुरस्कारसँगै ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिनेछ। त्यस्तै, एनआरएनए कप विजेताको पुरस्कार राशि पनि तीन सय पाउण्डबाट बढाएर पाँच सय पाउण्ड पुर्याइएको छ।
बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रममा नेपाली तथा विदेशी कूटनीतिक क्षेत्रका पाहुनाहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ। सांस्कृतिक प्रस्तुतिसँगै मेलामा नेपाली खाना, पोशाक, मौलिक सामग्री, व्यापार तथा सेवा र च्यारिटीसम्बन्धी गरी ७५ वटा स्टल रहनेछन्। मेलास्थलमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ।
मेला आयोजनामा करिब ६१ हजार पाउण्ड अर्थात् एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। अध्यक्ष गुरुङले मेलाको सफलतामा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पछिल्ला वर्षमा सञ्चारकर्मीहरूको उपस्थिति घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले नेपाली मेलाको व्यापक प्रचारप्रसारमा सहयोग गर्न सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरे। सो अवसरमा उनले आगामी सेप्टेम्बर ११ र १२ मा आयोजना हुने एक सय किलोमिटर वाक तथा रन कार्यक्रमबारे पनि जानकारी गराए।
पत्रकार सम्मेलन तमुधिं यूकेका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए। मिडिया सेक्रेटरी एसके गुरुङले नेपाली मेला सम्पूर्ण बेलायतवासी नेपालीको साझा कार्यक्रम भएको बताए। तमुधिं यूके आयोजक संस्था भए पनि मेलालाई सफल बनाउन बेलायतस्थित सम्पूर्ण नेपाली समुदायको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो। उनले यस्ता सांस्कृतिक भेलाले नेपाली समुदायलाई एकताबद्ध बनाउनुका साथै बेलायतमा नेपालीहरूको हक, अधिकार र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।
सोही अवसरमा नेपालबाट आएका समाजसेवी तथा कलाकार, काउन्सिलर उत्तरबहादुर गुरुङ, पुनम गुरुङलगायत विभिन्न व्यक्तित्वलाई विशेष सम्मानसमेत गरिएको थियो। बेलायतमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्दै नेपाली मौलिक कला, संस्कृति र पहिचान प्रदर्शन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाली मेलालाई यस वर्ष थप व्यवस्थित, सहभागितामूलक र भव्य बनाउने तयारी रहेको छ।















