पोखरा, भारतीय स्थल सेनाका प्रमुख जनरल धिरज सेठले भारतीय भूतपूर्व सैनिक र तिनका परिवारको लागि नयाँ र कल्याणकारी योजनाहरु घोषणा गर्दै स्वास्थ्य, यातायात र ब्यबसायिक तालिम सम्बन्धमा थप सुधार गरिने बताएका छन। भारतीय राजदुताबासको पोखरास्थित पेन्सन वितरण कार्यालयमा बुधबार आयोजित बिशेष कार्यक्रममा बोल्दै भारतीय स्थल सेनाका प्रमुख धिरज सेठले केहि कल्याणकारी योजनाहरु घोषणा गरेका हुन। उनले भारतीय भूपूहरूलाई कहिल्यै एक्लो महसुस नगर्न आग्रह गर्दै कुनै समस्या परेमा भारतीय सेना सहयोग गर्न तयार रहेको समेत बताए ।

भारतीय पुर्व गोर्खा सैनिकहरूको योगदानको प्रशंसा गर्दै उनले पुर्व गोर्खा सैनिक र तिनका परिवारहरुको अगाडी केहि कुरा राख्नपाउनु आंफ्नो लागी अत्यन्तै गौरवको क्षण भएको बताए। यसै सन्दर्भमा उनले भने- ‘अहिले मैले मैले मेरोसामु ती वीर सैनिकहरू तथा योद्धाहरुलाई सम्झिरहेको छु र देखिरहेको छु, जसले आफ्नो जवानी भारतीय सेनाका लागि समर्पित गरे, उनीहरू बिना भारत र नेपालबिचको सम्बन्ध सायद आज यो अबस्थासम्म आउने थिएन ।’
सोहि समारोहमा भारतीय सेनामा रहेर कर्तव्य पालनाको शिलशिलामा वीरगति प्राप्त गर्ने सैनिकहरूप्रति श्रद्दान्जली प्रकट गर्दै उनीहरुका धर्मपत्नीलाई वीर नारीको रुपमा बिभिन्न उपहारसहित सम्मान गरिएको थियो । त्यस अबसरमा १० जना वीर नारीहरुलाई सेना प्रमुख सेठकी धर्मपत्नी कोमल सेठले उपहार प्रदान गर्दै सहित सम्मान गरेकी थिईन।
भारतीय स्थलसेना प्रमुख सेठले पनि सोहि समारोहमा पुर्व गोर्खा सैनिकहरुमध्ये ९ जनालाई बहादुर सैनिकको रुपमा योद्धा सेवा सम्मान र भारतीय सेनामा कार्यरत रहंदा बिभिन्न अपरेसनको क्रममा आंफ्नो कर्तब्य निर्बाह गर्दा घाइते वा अंगभंग भएकाहरुको जिवन सहज बनाउनको लागि भन्दै ८ जनालाई मोडीफाईड स्कुटर प्रदान गरेका थिए । उनले भारतिय सेनामा कार्यरत रहंदा बहादुरी प्रदर्शन गरेको भन्दै भारत सरकारद्वारा बिभिन्न बहादुरी पदकबाट सम्मान प्राप्त गरिसकेका १० जनालाई सल ओढाएर सम्मान समेत गरेका थिए ।
भारतीय पुर्व सैनिक र तिनका परिवारसहितको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केहि कल्याणकारी कामको बारेमा सुनाए। उनले भने ‘पश्चिम नेपालका भूपू सैनिक र तिनका परिवारका सदस्यहरुलाई स्वास्थ्य उपचारका लागि काठमाडौँ वा पोखरा धाउनुपर्ने बाध्यता हटाउन कोहलपुरमा नयाँ इआइएचएस पोलिक्लिनिक सञ्चालनमा ल्याइएको छ । पोखरा लगायतका अन्य पोलिक्लिनिकहरूमा पनि आधुनिक चिकित्सा उपकरणहरू थप गर्ने प्रक्रिया सुरु गरिएको छ।’

उनले भूपू सैनिकहरूको माग बमोजिम सुनौलीदेखि गोरखपुरसम्मको बस सेवा सञ्चालन गर्ने प्रस्ताव आएको र यसलाई छिटै निर्णयमा पुर्याइने जानकारी समेत दिए । यसबाट क्यान्टिन र स्वास्थ्य सेवा लिन सहज बनाउने भूपू सैनिकहरूको विश्वास छ । भारतीय स्थल सेनाका प्रमुख रहेका उनले नेपालका विभिन्न जिल्ला सैनिक बोर्डहरू मार्फत सञ्चालित कम्प्युटर, ब्युटिसियन र फेसन डिजाइनिङ जस्ता व्यावसायिक तालिमका प्रमाणपत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सिक्किमको मेधावी स्किल युनिभर्सिटीसँग सम्झौता गरिएको समेत स्पष्ट पारे।
उनले नेपाल र भारतबिचको सम्बन्ध दुई छिमेकी देशको भौगोलिक सीमामा मात्र सीमित नरही ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा जोडिएको र दुई देशको सम्बन्ध सदियौँ पुरानो भएको स्मरण गराए। ‘नेपाल र भारतबिचको सम्बन्ध सदियौँ पुरानो छ,’ उनले भने, ‘यो सम्बन्ध दुई छिमेकी देशहरूबिचको मात्र होइन । संस्कृति, परम्परा, धार्मिक आस्था र इतिहासको साझा सम्बन्ध हो ।’ भगवान राम र सीताको सम्बन्ध, पशुपतिनाथ र काशीको धार्मिक आस्था तथा खुला सीमाका माध्यमबाट दुवै देशका जनताहरूबिच रहेको सम्पर्कले दुवै देशलाई सधैँ नजिक राखेको उनले सुनाए ।
बुधबार बिहान काठमाडौँबाट हेलिकप्टरमा पोखरा आएका भारतीय सेना प्रमुखले उक्त बिशेष समारोहलाई सम्बोधन गरेपछि भारतीय पुर्व सैनिक र तिनका परिवारहरुलाई संयुक्त रुपमा भेटघाट गरि बिभिन्न बिषयमा जानकारी लिएका थिए । उनले उक्त स्थानमा उपस्थित पुर्व सैनिक र तिनका परिवारहरु, नेपाल भारत मैत्री बिद्यालयमा अध्ययनरत बिधार्थीहरु र त्यहाँ पुगेका संचारकर्मीहरुसंग पनि सामुहिक तस्बिर लिएका थिए।

उनलाई पोखरामा भारतीय दुताबास, पोखरा पेन्सन वितरण कार्यालयका प्रमुख चित्तरन्जन साहु सहित पोखरास्थित नेपाली सेनाका सुरक्षा अधिकारीहरुले समेत स्वागत गरेका थिए। उनि उक्त कार्यालय परिसरमा आयोजित कार्यक्रम सकेर मध्यान्ह काठमाडौँ फर्किएका छन ।
कसलाई गरियो त सम्मान ?
सोहि अबसरमा भारतीय सेना प्रमुख धीरज र उनको धर्मपत्नी एवं आर्मी वाइभ्स वेलफेयर एसोसिएसनकी अध्यक्ष कोमल सेठले भारतीय सेनामा सेवारत रही बहादुरी देखाउने, सेवा र सर्वोच्च बलिदान दिनेहरूलाई विधिन्न पदक र सम्मान गरेका थिए । पेन्सन वितरण कार्यालय पोखराका जनसम्पर्क अधिकारी भुषण पाण्डेले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार त्यस अबसरमा सेना प्रमुख सेठले भूपू गोर्खा सैनिक, सहिदका परिवार (वीर नारी) तथा घाइते सैनिकहरूलाई विभिन्न श्रेणीका राष्ट्रिय पदक, सम्मान पत्र र मोबिलिटी स्कुटर (तीन पांग्रे स्कुटर) प्रदान गरेका थियो ।
उनीहरूलाई ६ प्रकारका प्रमुख पदक, सम्मान तथा राहत सामग्री वितरण गरिएको हो । वीरता र सर्वोच्च साहस देखाएवापत दिइने भारतको दोस्रो उच्च सैन्य सम्मान ‘कीर्ति चक्र’ दिलबहादुर थापालाई प्रदान गरिएको छ । त्यसैगरी शान्तिकालको तेस्रो उच्च वीरता सम्मान ‘शौर्य चक्र’ केशबहादुर क्षेत्रीलाई ‘अपरेसन रक्षक’ कै क्रममा देखाएको साहसिक योगदानका लागि प्रदान गरिएको छ।

सैन्य कारबाहीका क्रममा साहस र कर्तव्यनिष्ठा देखाउने ७ जना वीर सैनिकहरूलाई ‘सेना मेडल’ बाट विभूषित गरिएको छ । सेना मेडल प्राप्त गर्नेहरूमा चुमनसिंह गुरुङ, रामप्रसाद गुरुङ, कृष्णबहादुर क्षेत्री, गणेशबहादुर याखो लिम्बू, शुभराज राई, मीनबहादुर गुरुङ र होबिर सेन छन्। भारतीय सेनामा लामो समयसम्म उच्च तहको विशिष्ट सेवा पु¥याएबापत ठाकुरप्रसाद पौडेललाई प्रतिष्ठित ‘विशिष्ट सेवा मेडल’बाट सम्मानित गरिएको छ ।
लामो समय निष्ठापूर्वक सेवा सम्पन्न गरी सेवा निवृत्त भएका ९ जना वरिष्ठ पूर्वसैनिकहरू दलबहादुर पुन, रेशमबहादुर क्षेत्री, किसनबहादुर थापा, ताराप्रसाद श्रेष्ठ, विदुर थापा, कुलबहादुर खत्री, जगतप्रसाद गुरुङ, कर्णबहादुर गुरुङ र मबिराज राईलाई ‘योद्धा सेवा सम्मान’ प्रदान गरिएको छ । सेवाका क्रममा घाइते भएका भूपू सैनिकहरु हर्कबहादुर थापा, होमबहादुर आले, नइन्द्रकुमार तुम्बापो, ओमबहादुर थापा, कुमार थापामगर, घीमाछिरिङ लामा, भीमसेन कमार र चित्रप्रकाश गुरुङलाई तीनपांग्रे स्कुटर प्रदान गरिएको छ ।
सोही क्रममा विभिन्न युद्ध तथा सैन्य अभियानहरूमा ज्यान गुमाएका १० जना सैनिकका धर्मपत्नी तथा आमाहरू (वीर नारी) लाई पनि सम्मान गरिएको थियो । यो सम्मान पदमकुमारी गुरुङ, विष्णुमाया थापा, रत्न देवी र पिउमाया गुरुङ, धनुकुमारी खत्री, कलावती पुन (भाविसरा थापा), केशकुमारी गुरुङ, गुड्डुमाया गुरुङ, कमला थापा र धनमाया गुरुङलाई प्रदान गरिएको छ ।













