पोखरा, शिक्षासेवी एबम शिक्षाबिद् जोर्ज जोनले पोखराको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पृथ्वीनारायण क्याम्पसका पूर्व विद्यार्थी हरुले २०५३ सालमा गठन गरेको जोर्ज जोन प्रतिष्ठानको ३० औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। उक्त समारोहमा ५ जना शिक्षासेवीलाई सम्मान गरिनुको साथै प्रतिष्ठानको नयाँ कार्यसमिति समेत गठन गरिएको छ। तिन दशक अगाडी प्रकाशमान गुभाजुको नेतृत्वमा जोर्ज जोन शिक्षा प्रतिष्ठान पोखरा स्थापना गरिएको थियो।
विगत ३० वर्षदेखि पोखरामा शैक्षिक विकासका लागि काम गर्दैआएको प्रतिष्ठानले शिक्षामा योगदान दिनेहरुको सम्मान, क्षमता विकास, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस पटकको बार्षिकोत्सबमा ५ जना शिक्षासेवीलाई सम्मान गर्नुको साथै पृथ्वीनारायण क्याम्पसका विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने ४ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो ।
सम्मानित हुने शिक्षासेवीहरुमा प्राडा रामचन्द्र पोखरेल, कृष्णदेव प्राधानांग, प्रेमबहादुर श्रेष्ठ, डा. दीर्घमान गुरूङ र रामकली खडका रहेका छन। त्यस्तै छात्रवृत्ति पाउने विद्यार्थीहरुमा सुन्दर ढकाल (मानविकी संकाय), सन्नी गुरूङ (व्यवस्थापन संकाय), समीक्षा चापागाईं (शिक्षा संकाय) र सुशीलकुमार च्वाईं (विज्ञान संकाय) छन् । उनीहरुलाई समाजशास्त्री प्रा.डा चैतन्य मिश्रले दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
सोहि अबसरमा प्रतिष्ठानका संस्थापक सदस्य विनोद कायस्थ अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित समितिका सदस्यहरुमा अरुण शेरचन, अर्जुन अधिकारी, डा नगेन्द्रबहादुर भण्डारी, डा. थानेश्वर सुवेदी, धु्रव श्रेष्ठ, डा. माया लामा, भाविका ढेवाजु, उपेन्द्र गिरी, धनबहादुर नेपाली र डा. विजय थापा रहेका छन।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजशास्त्री डा. चैतन्य मिश्रले उच्च शिक्षाको विकासमा जोर्ज जोनको महत्वपूर्ण योगदान रहेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जोर्ज जोनको प्रेरणाबाट निर्देशित भएर धेरै व्यक्ति शिक्षाको विकासमा लागेको चर्चा गरे। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डा. कुशुमाकार न्यौपानेले जोर्ज जोन अनुशासित, लगनशील, अहंकारविहीन अध्ययनशील व्यक्ति भएको उल्लेख गरे ।
कार्यक्रममा पृथ्वीनाराण क्याम्पसका संस्थापक प्रमुख जोर्ज जोन, क्याम्पस प्रमुख हरि पाठक, पूर्व क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोइराला, उपाध्यक्ष तथा प्रतिभा छनोट उपसमितिका संयोजक रामगोपाल ढेवाजु, सचिव अर्जुन अधिकारी, सल्लाहकार राजीव पहारी, प्राडा. रामचन्द्र पोखरेल, डा. नगेन्द्रबहादुर भण्डारी, संस्कृतिकर्मी कृष्णदेव प्रधानांग, निर्वाचन समितिका संयोजक गिरधारी सुवेदी लगायतले शिक्षा क्षेत्रको बारेमा आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा संस्कृतिकर्मी प्रधानांगले प्रतिष्ठानको लागि १ लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।














