पोखरा, अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रम अन्तर्गत काठमाडौँमा सम्पन्न तीनदिने ‘क्यापस्टोन एक्सेलेरेटर’मा गण्डकी प्रदेशका पाँच उद्यमी सहभागी भएका छन्। देशभरका सात सहरमा आयोजित कार्यशालामा सहभागी दुई सयभन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोटबाट उत्कृष्ट २० मा परेका पाँचजना गण्डकीका उद्यमीले काठमाडौँमा आफ्नो व्यवसाय, नवप्रवर्तन र विस्तारका योजनासहित प्रस्तुति दिएका हुन्।
गण्डकीबाट साइनो मार्केटप्लेसका कमलराज पराजुली, लुमिनो टेक्नोलोजीका विजय कुमाल, लुम्ले कफी इस्टेटका नवीन देवकोटा, पाथसुत्रका हरिकृष्ण लामिछाने र नेपाल लोकसेवा तयारीसम्बन्धी एप ‘नेप्टेकपाल’का विवेक आचार्य उत्कृष्ट २० उद्यमीमा छनोट भएका हुन्। तीनदिने क्यापस्टोन एक्सेलेरेटरमा सहभागी उद्यमीलाई आफ्नो व्यवसायलाई थप व्यवस्थित, लगानीयोग्य र अन्तर्राष्ट्रिय बजारका लागि सक्षम बनाउने विषयमा प्रशिक्षण तथा परामर्श दिइएको थियो। लगानीका लागि तयारी, निर्यातको सम्भावना, कृत्रिम बुद्धिमत्ताको प्रयोग, बजार विस्तार, डिजिटल प्रविधि, बजारीकरण र रणनीतिक सञ्चारलगायत विषयमा विज्ञहरूले सहजीकरण गरेका थिए।
उक्त कार्यक्रममा गण्डकी प्रदेशबाट सहभागी पाँच उद्यमीले फरक-फरक क्षेत्रका व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने सम्भावना प्रस्तुत गरेकोमा साइनो मार्केटप्लेसका कमलराज पराजुलीले नेपालमै उत्पादित वस्तुलाई डिजिटल माध्यमबाट बजारसँग जोड्ने ‘मेड इन नेपाल’ तथा ‘मेक इन नेपाल’ केन्द्रित विद्युतीय व्यापारिक मञ्चको अवधारणा प्रस्तुत गरेका छन्। स्थानीय उत्पादनलाई प्रविधिको माध्यमबाट उपभोक्तासम्म पुर्याउने र नेपाली उत्पादनको बजार विस्तार गर्ने उद्देश्य उनको व्यवसायको मुख्य आधार हो।
यसैगरी लुमिनो टेक्नोलोजीका विनय कुमालले प्रविधिको क्षेत्रमा आधारित आफ्नो व्यवसाय तथा त्यसको विस्तारका सम्भावना प्रस्तुत गरेका छन्। प्रविधिमार्फत नयाँ सेवा र समाधान विकास गर्दै बजारको आवश्यकता सम्बोधन गर्ने उनको उद्यमले डिजिटल अर्थतन्त्रमा गण्डकीका युवाको सम्भावनालाई प्रतिनिधित्व गरेको छ।
गण्डकी प्रदेशको लुम्ले कफी इस्टेटका नवीन देवकोटाले गण्डकीको कृषि उत्पादन, विशेषगरी कफीलाई मूल्य अभिवृद्धिसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सम्भावना प्रस्तुत गरेका छन्। स्थानीय उत्पादनलाई ब्रान्डिङ, प्रशोधन र बजार विस्तारसँग जोडेर कफी क्षेत्रलाई व्यावसायिक बनाउन सकिने उनको व्यवसायले देखाएको छ।<
यसैगरी पाथसुत्रका हरिकृष्ण लामिछानेले आफ्नो व्यवसायमार्फत उत्पादन तथा सेवाको क्षेत्रमा नयाँ सम्भावना प्रस्तुत गरेका छन्। व्यवसायलाई थप विस्तार गर्न लगानी, बजार र रणनीतिक व्यवस्थापनका विषयमा उनले कार्यक्रममा विज्ञहरूबाट सुझाव प्राप्त गरेका छन भने नेप्टेकपालका विवेक आचार्यले लोकसेवा तयारीलाई प्रविधिसँग जोड्ने डिजिटल सेवाको अवधारणा प्रस्तुत गरेका छन्। डिजिटल माध्यमबाट परीक्षार्थीलाई अध्ययन सामग्री तथा तयारीका सेवा उपलब्ध गराउने उनको उद्यमले शिक्षा र प्रविधिको संयोजनमार्फत ठूलो बजार सिर्जना गर्न सकिने सम्भावना देखाएको छ।














