पोखरा, पोखरा महानगरपालिका -२ मोहरियाटोलका अग्रज ब्यबसायी वेदमान गुभाजू र उनकी धर्मपत्नी नेत्रकुमारी गुभाजूको स्मृतिमा उनका छोरा विमलमान गुमाजूले स्थापना गरेको कञ्चन पत्रकारिता पुरस्कार- २०८३ बाट यस बर्ष पत्रकार खेम सारु मगर र गोपाल बहादुर जिटीलाई प्रदान गरिएको छ आदिबासी जनजाती पत्रकार संघ फोनिजले संचालन गर्दै आएको उक्त पुरस्कार फोनिजको २७ औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित एक समारोहमा वितरण गरिएको हो ।
फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार वितरण समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता विमलमान गुभाजूलगायतले पत्रकारद्वय सारु र जिटीलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले प्रशासन र पत्रकार एकआपसमा जोडिएको बताए । जिल्लाका कतिपय संवेदनशील विषयमा पत्रकारले ध्यान दिनुपर्ने भन्दै उनले आगामी दिनमा पत्रकारिता क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको उल्लेख गरे ।
कार्यक्रममा पुरस्कृत पत्रकार खेम सारु मगरले जीवनको आधा समय पत्रकारिता क्षेत्रमा व्यतित गरिरहँदा यो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु आफ्नो लागि अहोभाग्य रहेको बताए । त्यस्तै अर्का सम्मानित व्यक्ति जिटीले पत्रिका वितरकको रुपमा काम गर्दागर्दै पत्रकारिता क्षेत्रमा जोडिँदा यो पुरस्कारले यही क्षेत्रमा अझै केही अगाडि बढ्ने प्रोत्साहन मिलेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति तिलप्रसाद पुन ‘तिलक’, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कमलप्रसाद पौडेल, पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य एबम फोनिजका सदस्य रवीन्द्र माकाजू, पुरस्कारदाता विमलमान गुभाजूलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठान कास्कीका परिषद् सदस्य रवीन्द्र माकाजूले वेदमान गुभाजू तथा आमा नेत्रकुमारी गुभाजूका विषयमा जानकारी गराएका थिए । गण्डकी प्रदेश फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङले सम्मानित प्रतिभा परिचय दिएकी थिइन् ।
यसअघि उक्त पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा मगर, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बाग्लुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केवी राना मगर, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरका कमला राना मगर र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसकेका छन् । फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरज थापामगरले सञ्चालन गरेका थिए ।















