पोखरा, नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडाको मूल्यवृद्धि गरेको छ प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा (फ्यूल सरचार्ज) बढाएको र बढेको नयाँ भाडा दर मंगलवारदेखि लागू भएको बताइएको छ । नेपाल आयल निगमले श्रावण १७ मा हवाई इन्धनको मूल्य साविकको प्रतिलिटर २२९ रुपैयाँबाट बढाएर २४९ रुपैयाँ पुर्याउने निर्णय गरेसंगै हवाई भाडाको दर वृद्धि गरिएको हो ।
सोही मूल्य वृद्धिलाई समायोजन गर्न प्राधिकरणको १९ गतेको निर्णयानुसार हवाई सेवा कम्पनीहरूलाई बढेको फ्यूल सरचार्ज कार्यान्वयन गर्न निर्देशन दिइएको हो। प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतद्वारा हस्ताक्षरित पत्र अनुसार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरसहितका सबै आन्तरिक वायुसेवा सञ्चालकहरूलाई नयाँ दर कायम गर्न परिपत्र गरिएको छ ।
नयाँ भाडादर अनुसार पोखरा – काठमाडौँरुटको भाडा दरमा ३ सय १५ रुपैया बढाइएको छ भने पोखरा–भद्रपुर रुटमा ८ सय १० रुपैयाँ, पोखरा–धनगढी रुटमा ६ सय ८५ रुपैयाँ र पोखरा–जनकपुर मा ५ सय २५ रुपैयाँले भाडा वृद्धि भएको छ । काठमाडौंबाट सञ्चालन हुने माउन्टेन फ्लाइट पनि ६ सय ८५ रुपैयाँले महँगो भएको छ ।
विराटनगर–धनगढी रुटको मूल्य सबैभन्दा धेरै अर्थात १ हजार २ सय ९० रुपैयाँले बढेको छ । त्यसपछि नेपालगञ्ज–भद्रपुर रुटमा १ हजार १ सय ७० रुपैयाँ र जनकपुर–धनगढी रुटमा १ हजार १ सय रुपैयाँले भाडा बढेको छ । काठमाडौंबाट हुने उडानमा पनि यात्रुले थप भार बेहोर्नुपर्ने भएको छ ।
काठमाडौं–धनगढी रुटमा ८ सय ८० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज मा ६ सय ५५ रुपैयाँ, काठमाडौं–भद्रपुर मा ६सय ५ रुपैयाँ, काठमाडौं–विराटनगर मा ४ सय ८० रुपैयाँ, काठमाडौं–भैरहवामा ४ सय १० रुपैयाँ, काठमाडौं–जनकपुर मा २ सय ६० रुपैयाँ र काठमाडौं–सिमरा मा १ सय ८० रुपैयाँले टिकट महँगिएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ९० रुपैयाँ कायम गरेपछि सोहीअनुसार फ्यूल सरचार्ज समायोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।















