पोखरा, पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हाम्रो इको नेक्स्ट टेक्नोलोजी प्रा.लि.ले चार सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सौजन्य स्वरूप प्रदान गरेको छ । जिल्ला खेलकुद विकास समिति, कास्कीको आयोजनामा रङ्गशाला परिसरमा सञ्चालित वृक्षारोपण कार्यक्रमको लागि उक्त मल हस्तान्तरण गरिएको हो ।
रङ्गशालालाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, खेल सम्बद्ध संघ–संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रमुख, प्रदेश सभासद् तथा खेलप्रेमी समाजसेवीहरूको सहभागितामा वृक्षारोपण अभियान निरन्तर चलिरहेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीले वृक्षरोपण गरिएका बिरुवाहरूलाई व्यवस्थित रूपमा हुर्काउन र मलजल गर्न समाजसेवी गोपाल गुरुङ र खेलप्रेमी समाजसेवी राजेन्द्र बहादुर थापाको समन्वयकारी भूमिकाको प्रशंसा गरे ।
सोही समन्वयका आधारमा हाम्रो इको नेक्स्ट टेक्नोलोजीका सञ्चालक राजेश गौतम (राजु)ले समिति परिसरमै पुगी जिल्ला खेलकुद बिकास समिति कास्कीको अध्यक्ष मिलन गुरुङ सहितका पदाधिकारीहरुलाई मल हस्तान्तरण गरेका थिए ।
मल हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले व्यवसायी राजेश गौतमले हरियाली वृक्षारोपण अभियानमा प्राङगारिक मल प्रदान गरी सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।
मल हस्तान्तरणपछि बोल्दै हाम्रो इको अर्गानिक मलका उत्पादक राजेश गौतम (राजु)ले पोखराको एकमात्र अन्तर्राष्ट्रियस्तरको रङ्गशालालाई हरियाली बनाउने पवित्र उद्देश्यमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । “हामीले रोपेका बिरुवाहरूलाई मानिसलाई जस्तै उचित पोषण र हेरचाहको आवश्यकता पर्छ’ गौतमले भने ।
रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानमा ब्रिटिश क्याम्प काठमाण्डौमा कार्यरत मेजर सूर्य गुरुङको परिवारले समेत सहभागीता जनाएका छन । गुरुङको परिवारले वृक्षारोपण अभियानमा जापानिज कटुस, एभोकाडो, जामुन प्रजातिका विरुवाहरु रोपेका थिए । गुरुङले प्राकृतिक विपत्तिको वेलामा समेत सहयोग गर्दै आइरहेको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डिबि नेपालीले जानकारी दिए ।















