Play

संघीयता र प्रदेशसभाको अभ्यासबारेमा जनप्रिय क्याम्पसका विद्यार्थीलाई अभिमुखीकरण

गुरुकुल खबर


पोखरा, संसदीय पत्रकार मञ्च गण्डकीले पोखराको जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीलाई संघीयता र प्रदेशसभाको अभ्यासका बारेमा जानकारी दिएको छ । युवा लक्षित संसदीय पहुँच कार्यक्रम अन्तर्गत मंगलबार आयोजित अभिमुखीकरणमा क्याम्पसका विभिन्न तहमा अध्ययनरत १ सय ८ विद्यार्थी सहभागी भए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सचिवालयका कानुन तर्फका उपसचिव आमोद दाहालले नेपालको शासन व्यवस्था र प्रदेशको क्षेत्राधिकारबारे सहजीकरण गरे । उनले नेपाल होल्डिङ टुगेदर संघीयताको ढाँचामा रहेको र यहाँ ३ तहको संघीय शासन प्रणाली अभ्यासमा रहेको बताए ।

नेपालको वर्तमान संविधानले ३१ वटा मौलिक हकको व्यवस्था गरेको जानकारी उनले विद्यार्थीलाई दिए । संघीयतामा शक्ति विकेन्द्रीकरण हुने भएकाले विविधतालाई सम्बोधन गर्न सहज हुने उनको भनाइ थियो । दाहालले गण्डकी प्रदेशसभाको संरचना र त्यसले गर्दै आएका कामकारबाहीबारे कार्यपत्र प्रस्तुत गरे ।

गण्डकी प्रदेशमा ११ जिल्ला र ३६ निर्वाचन क्षेत्र रहेको जानकारी दिँदै उनले प्रदेशसभामा ६० जना सदस्य रहने व्यवस्था बताए । यसमध्ये ३६ जना पहिलो हुने निर्वाचित हुने प्रणाली र २४ जना समानुपातिक प्रणालीबाट आउने उनले उल्लेख गरे । समावेशी प्रतिनिधित्वका आधारमा हाल सभामा २३ जना आदिवासी जनजाति, ३१ जना खस आर्य र ६ जना दलित समुदायको प्रतिनिधित्व रहेको तथ्यांक उनले प्रस्तुत गरे ।

‘कक्षा १२ को सामाजिक अध्ययन विषयमा संघीयता र नेपालको शासन व्यवस्थाबारे पढ्नुपर्ने हुन्छ, यो अभिमुखीकरणले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्राप्त गर्न ठूलो सहयोग पुग्नेछ,’ जनप्रिय क्याम्पसका प्लस टु को–अर्डिनेटर मदनकुमार जैसीले भने । संसदीय पत्रकार मञ्चले क्याम्पसलाई रोजेर यस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा उनले खुसी व्यक्त गरे । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै शासन प्रणालीका प्राविधिक विषय बुझ्न पाउनु सकारात्मक भएको उनको तर्क थियो ।

उपप्राध्यापक वेदहरि तिमल्सिनाले पत्रकारले समाचार संकलन बाहेक विद्यालय र क्याम्पसमा पुगेर जनचेतना जगाउने कार्य गर्नु उदाहरणीय भएको बताए । ‘नेपालको राजनीतिक र प्रादेशिक संरचनाका बारेमा विद्यार्थीलाई जानकारी हुन जरुरी छ,’ उनले भने । विद्यार्थीहरूमा राजनीतिक जागरूकता हुनुपर्ने र उनीहरूले राज्यको नीति निर्माण प्रक्रियामा चासो राख्नुपर्नेमा उनले जोड दिए । उनले यस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मञ्चका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक भरत कोइरालाले विद्यार्थीलाई संघीयता र प्रदेशको संरचना बुझाउन कार्यक्रम प्रभावकारी भएको बताए । उनले यस्ता खालका संसदीय पहुँच कार्यक्रमहरू आगामी दिनमा अन्य क्याम्पसहरूमा समेत सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशसभाले निर्माण गरेका विभिन्न कानुन, आर्थिक कार्यविधि र प्रदेशका अधिकार सूचीका बारेमा समेत विद्यार्थीलाई जानकारी गराइएको थियो । उक्त अवसरमा विद्यार्थीहरु विनीता क्षेत्री र मन्दिप पोखरेलले संवैधानिक व्यवस्था र मौलिक हकका बारेमा जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा संसदीय पत्रकार मञ्चका संस्थापक अध्यक्ष लालप्रसाद शर्मा, सल्लाहकार केशवशरण लामिछाने र सहसचिव उमा आले मगर, कोषाध्यक्ष ऋषिराम बराल लगायत पदाधिकारी, शिक्षक र विद्यार्थीको समेत सहभागिता थियो । मञ्चले संसदीय पत्रकारिताको माध्यमबाट प्रदेशसभा र जनताका बीचमा पुलको काम गर्दै आएको र यस्ता कार्यक्रमले नागरिकलाई संसदीय प्रक्रियासँग जोड्न मद्दत पुग्ने सहभागीले बताए ।

१९ श्रावण २०८३, मंगलवार २०:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा