पोखरा, पोखरा उधोग बाणिज्य संघको आसन्न अधिबेशनमा बाणिज्य तर्फबाट उपाध्यक्षको उमेदवारी घोषणा गरेका मनोज कुमार श्रेष्ठले संघको अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका उत्तममान बुद्दाचार्य, उपाध्यक्ष बलराम आचार्य र शोभा गौतमको योग्यता र कार्यक्षमता माथि प्रश्न उठाएका छन। उनले अध्यक्ष पदमा हालको कार्यसमिति बाहिरबाट उमेदवार बन्ने सम्भावना प्रवल रहेको समेत बताएका छन।
पोखराको एक एफएमसंगको अन्तरबार्तामा उनले आसन्न अधिबेशनमा अध्यक्षको उमेदवारी घोषणा गरेका तिनै जनाको आलोचना गर्दै श्रेष्ठले अध्यक्षको उमेदवारी घोषणा गर्नेहरु भिजन के हो ? कस्तो टिम बनाउने ? साथीहरुको बरियता कसरि मिलाउने भन्ने बारेमा उनीहरुलाई केहि जानकारी नभएको दाबि गरे।
पोखरा उधोग बाणिज्य संघका कोषाध्यक्ष समेत रहेका श्रेष्ठले आँफुसंग सोही कार्यसमितिको बरिष्ठ उपाध्यक्ष रहेका उत्तममान, उपाध्यक्ष रहेका बलराम र महासचिब रहेकी शोभा गौतमलाई लक्षित गर्दै उनीहरु कुहिरोको काग जस्तो बनेको आरोप लगाए। उनले भने ‘पहिले अध्यक्षको टिम अर्थात् प्यानल बन्थ्यो, तर अहिले अध्यक्षको उमेदवारले आंफ्नो टिममा को को लाई कसरि राख्ने भन्ने कुरा उनीहरुलाई नै थाहा छैन । संस्थालाई कसरी अगाडी बढाउने भन्ने भिजन पनि उनिहरुसंग छैन, उनीहरु कुहिरोको काग जस्तै बनेको छन र लगाम बिनाको घोडा जस्तै देखिएका छन।’

एक प्रश्नको उत्तरमा श्रेष्ठले पद्धति र प्रक्रिया भन्दा बाहिर गएर उनीहरुले अध्यक्षको उमेदवारी घोषणा गरेको, उनीहरुमा परिपक्वता र जिम्मेवारीपन नदेखिएको भन्दै बर्तमान कार्यसमिति भन्दा बाहिरबाट कुनै योग्य र सक्षम व्यक्ति अध्यक्षको उमेदवार बन्न आउने प्रवल सम्भावना रहेको बताए। कार्यसमितिमा रहेका तिन जनालाई कमजोर र असक्षम भन्ने आरोप लगाएका श्रेष्ठले कार्यसमिति भन्दा बाहिरबाट कसलाई अध्यक्षको उमेदवार बनाउन चाहेको भन्ने कुरा भने स्पष्ट रुपमा खुलाएनन।
उनले बाणिज्य तर्फको उपाध्यक्षको उमेदवार आँफु, महासचिवको उमेदवार घोषणा गरेका सुदिप प्रधानांग, कोषाध्यक्षको उमेदवार घोषणा गरेका देबेन्सन प्रजुको साथै बरिष्ठ उपाध्यक्ष घोषणा गरेका दिनेश बाँस्तोला सहित चारजनाको टिम बनाएर चुनाबमा अगाडी बढेको स्पष्ट पारेका छन। श्रेष्ठले अध्यक्ष पदमा कार्यसमिति भन्दा बाहिरको मान्छेलाई उमेदवार बनाउने भनाई व्यक्त गरेको भएपनि त्यसपछिको उधोग तर्फको उपाध्यक्ष र उपमहासचिब एबम सदस्य पदमा कसलाई उमेदवार बनाउने वा समर्थन गर्ने भन्ने पनि स्पष्ट बताएनन।
अन्तर्वार्ताको क्रममा श्रेष्ठले संघका हालका अध्यक्ष गोकर्ण कार्कीको भने खुलेर प्रशंसा गरे । ‘अध्यक्ष कार्कीले आंफ्नो क्षमता पनि राम्रो देखाउनुभयो र संघलाई आर्थिक रुपमा पनि सम्पन्ननागा बनाउनुभयो’ श्रेष्ठले भने ।
अघिल्लो चुनाबमा अर्जुन पोखरेलको समुहबाट पदाधिकारीसहितको प्यानलको घोषणा गरिएकोमा कार्कीले प्यानल नबनाई अध्यक्ष पदमा एक्लो उमेदवार घोषणा गरेका थिए । जसका कारण कोषाध्यक्ष मनोज कुमार श्रेष्ठसहित सबै पदाधिकारी निर्बिरोध निर्बाचित भएका थिए तर अध्यक्षमा भने पोखरेल पराजित बन्न पुगेका थिए।
यसपटक पनि पोखरेलले अध्यक्ष पदमा उमेदवारी दिने चर्चा चल्नु र बाणिज्य तर्फको उपाध्यक्ष उमेदवार बन्ने मनोज श्रेष्ठले नै अन्य उमेदवारलाई असक्षम र अयोग्यको आरोप लगाउनुले पोखरेललाई फेरी पनि उमेदवार बनाउन खोजेको हुन् कि भन्ने बहस शुरु भएको छ। पोखरेलको परिवार क्यानाडामा बस्ने गरेकोले उनीपनि हाल क्यानाडा रहेको र केहि दिनमा पोखरा आएर निर्णय लिने बुझिएको छ ।
यसपटक अध्यक्षमा उमेदवारी घोषणा गर्नेहरुमध्ये हालको महासचिब शोभा गौतमले मतदातासंगको व्यक्तिगत भेटघाटलाई तिब्र बनाएकी छन भने हालका उपाध्यक्ष बलराम आचार्यले बर्तमान कार्यसमितिमा रहेका सदस्यहरुसहि केहि अग्रजहरुसंगको छलफल र प्यानल बनाउने गृहकार्यमा जुटेका छन। यसैगरी हालका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले पनि प्यानल बनाउने गृहकार्य सहित चुनाबी तयारी गरेको बताइन्छ।















