बिराटनगर, सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका घाइतेको अवस्था बुझ्न बिहीबार राति विराटनगर पुगेका गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बिरुद्ध प्रदर्शन र नाराबाजी भएको छ। घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्री गुरुङ र मेहता प्रवेश गरेलगत्तै अस्पताल बाहिर भेला भएका दर्जनौँ प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरुले गोलीकाण्डमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने तथा हिन्दु राज्य घोषणा गर्नुपर्ने जस्ता माग राख्दै प्रदर्शन गरेका थिए।
उनीहरूले ‘बालेन सरकार होसियार’, ‘हिन्दु राज्य घोषणा गर’, ‘मान्छे मार्न पाइँदैन’ लगायतका नारा लगाएका थिए। साथै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको राजीनामासमेत माग गरेका थिए। प्रदर्शन र नाराबाजीका कारण केहीबेर अस्पताल परिसर तनावग्रस्त बनेको थियो। प्रदर्शनकारी र मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालबीच केहीबेर भनाभनसमेत भएको थियो। एसपी कटवालले घटनाको निष्पक्ष छानबिन भइरहेको भन्दै हतारमा निष्कर्षमा नपुग्न प्रदर्शनकारीलाई आग्रह गरेका थिए। सम्भावित अप्रिय अवस्था रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ ।
यसअघि बुद्ध एयरको जहाजमार्फत साँझ करिब ७ बजे विराटनगर आइपुगेका गृहमन्त्री गुरुङले विमानस्थलमै झण्डै एक घण्टा कोशी प्रदेशका सुरक्षा अधिकारीहरूसँग सुनसरीको देवानगन्जलगायत क्षेत्रको सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ लिएका थिए। बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सुरक्षा निकायले देवानगन्जको अवस्था नियन्त्रण उन्मुख भए पनि पूर्ण रूपमा चुनौती मुक्त नरहेको जानकारी गराएको थियो।
विमानस्थलमा प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मीहरूसँग भने गृहमन्त्रीले कुनै प्रतिक्रिया दिएनन्। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले पत्रकारहरूलाई ‘गृहमन्त्रीज्यूलाई कुनै पनि प्रश्न नसोध्नुहोला’ भन्दै अनुरोध गरेका थिए। सुरक्षा ब्रिफिङपछि गृहमन्त्रीको टोली विराट नर्सिङ होम पुगेको थियो। त्यहाँ उपचाररत चार जना घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले उपचारमा सरकारले कुनै कमी हुन नदिने र दोषीमाथि कानुनी कारबाही हुने आश्वासन दिएका थिए। घटनाको छानबिन जारी रहेकाले केही समय धैर्य गर्नसमेत उनले आग्रह गरेका थिए।त्यसपछि मन्त्रीद्वय न्युरो अस्पताल पुगेका थिए। न्युरो अस्पतालमा उपचाररत तीन जना घाइतेसँग भेटघाट गर्दै उपचारको अवस्थाबारे जानकारी लिइएको थियो।
कप्तानगन्जमा दुई पक्षबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए। घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै राति मृत्यु भएको थियो भने देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार उपचारकै क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ। यससँगै गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। घटनामा घाइते भएका अन्य आठ जनामध्ये एक जनालाई बिहीबार साँझ थप उपचारका लागि काठमाडौं लगिएको छ।
स्थानीयको मागपछि घटनास्थलको अवस्था बुझ्न तथा मृतक र घाइतेका परिवारसँग भेटघाट गर्न गृहमन्त्री विराटनगर आएका हुन्।विराटनगरका अस्पतालमा उपचाररत सबै घाइतेसँग भेटघाट सकेपछि गृहमन्त्रीसहितको टोली इनरुवातर्फ जाने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ।















