विराटनगर : सुनसरीको देवानगन्जमा आइतबार रातिदेखि सुरु भएको तनाव सोमबार र मंगलबार हिंसात्मक बने पनि बुधबार अवस्था उल्लेख्य रूपमा शान्त देखिएको छ। यद्यपि, कर्फ्यु आदेश भने यथावत् राखिएको छ भने जिल्लाभर सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
उच्च सुरक्षा सतर्कताबीच बुधबारदेखि तनाव क्रमशः मत्थर बन्दै गएको हो। मंगलबार रातिसम्म बजार क्षेत्रमा झडप र तनाव भइरहे पनि बुधबार दिनभर कुनै ठूलो अप्रिय घटना भएन। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो परिचालनपछि अवस्था नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ। कर्फ्यु जारी रहेकाले सर्वसाधारणलाई भेला, जुलुस तथा अनावश्यक आवतजावतमा रोक लगाइएको छ।
गृह मन्त्रालयले गठन गरेको सहसचिव भूपेन्द्र थापाको नेतृत्वको छानबिन समिति बुधबार पहिलो पटक घटनास्थल पुगेर स्थलगत अध्ययन गरेको छ। समितिले स्थानीयसँग बयान लिँदै घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरेको छ। मंगलबार नै टोली घटनास्थल जाने तयारीमा रहे पनि दुई पक्षबीचको तनावका कारण सम्भव भएको थिएन। यसअघि समितिले विभिन्न अस्पताल पुगेर गोली लागेका घाइतेहरूको बयान लिएको थियो।
घटनास्थल पुगेको छानबिन टोलीलाई स्थानीयले निष्पक्ष अनुसन्धानको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्। तनाव अन्य क्षेत्रमा फैलिन सक्ने संकेत देखिएपछि राजनीतिक दलहरू पनि सक्रिय भएका छन्। काठमाडौंमा भएको सर्वदलीय छलफलको निर्णयअनुसार देवानगन्ज र हरिनगर गाउँपालिकामा सर्वदलीय बैठक गरी सामाजिक सद्भाव कायम गर्न संयुक्त अपिल गर्ने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुधबार बसेको सर्वदलीय बैठकले पनि सबै पक्ष संयमित भई सामाजिक सद्भाव कायम राख्न पहल गर्ने निर्णय गरेको छ। यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सर्वपक्षीय बैठक बसेको थियो। यद्यपि अवस्था पूर्ण रूपमा सामान्य भने भइसकेको छैन। बुधबार हरिनगर, घुस्की, दुहबी र लौकहीलगायत क्षेत्रमा विरोध प्रदर्शन भए पनि ठूलो अप्रिय घटना भने हुन पाएन।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले मंगलबारको तुलनामा बुधबार अवस्था धेरै सुधारिएको बताए। स्थानीय तहमा सर्वदलीय छलफल, सुरक्षा निकायबीचको समन्वय र प्रशासनको सक्रियताले अवस्था नियन्त्रणतर्फ गएको उनले बताए। कर्फ्यु जारी रहेकाले सुरक्षा सतर्कता भने कायमै राखिएको उनको भनाइ छ।
साम्प्रदायिक तनावको प्रभाव सीमावर्ती क्षेत्रमा पनि देखिएपछि प्रशासनले भारतसँग जोडिएका सीमा नाकामा निगरानी कडा बनाएको छ। भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि परिचयपत्र अनिवार्य गरिएको छ। कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले सीमामा कडा निगरानी गरिएको जानकारी दिएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि मोरङका सबै सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा बनाइएको बताएका छन्।
यसैबीच, हरिनगरमा आन्दोलनकारी समूहले इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख इन्स्पेक्टर प्रकाश पराजुलीले प्रयोग गरिरहेको ना १ झ ८७४ नम्बरको सरकारी गाडीमा ढुंगामुढा गरेको छ। आक्रमणबाट गाडीको सिसा फुटेको थियो भने केहीबेर अवस्था तनावपूर्ण बनेको थियो।
तनावका बीच इटहरीमा नागरिक समाजको अगुवाइमा शान्ति र्याली निकालिएको छ। र्यालीमा सहभागीहरूले अफवाहको पछि नलाग्न, संयमता अपनाउन तथा दुई समुदायबीच आपसी विश्वास कायम राख्न आग्रह गरेका थिए।
घटनापछि राहत तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकारले मृतकका परिवारलाई २ लाख रुपैयाँ, घाइतेलाई जनही ५० हजार रुपैयाँ तथा आगजनीबाट घर, पसल वा अन्य सम्पत्तिमा क्षति पुगेकालाई पनि ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। राहत जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा वितरण गरिने जनाइएको छ।
प्रदेश सरकारले सर्वपक्षीय बैठकमार्फत सामाजिक सद्भाव कायम गर्न आठबुँदे निर्णयसमेत गरेको छ। निर्णयअनुसार पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक सञ्चालन गर्ने, साम्प्रदायिक सद्भाव प्रवर्द्धनका कार्यक्रम अघि बढाउने तथा राजनीतिक, प्रशासनिक र सामाजिक पक्षबीच समन्वय बढाइनेछ।
संघीय सरकारले भने बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट घटनासम्बन्धी कुनै नयाँ निर्णय सार्वजनिक गरेको छैन। यसअघि सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो।
घटनामा गोली लागेर तथा त्यसपछिका विभिन्न हिंसात्मक घटनामा घाइते हुनेको संख्या २२ पुगेको छ। उपचारपछि एक जना घर फर्किसकेका छन् भने २१ जना विराटनगरका विभिन्न अस्पतालमा उपचाररत छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार न्युरो अस्पतालमा ९, विराट नर्सिङ होममा ४, नोबेल अस्पतालमा २, विराट मेडिकल कलेजमा २, गोल्डेन अस्पतालमा २ र अन्य अस्पतालमा ३ जनाको उपचार भइरहेको छ।
आइतबार राति प्रहरीको गोली लागेर ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको शव भने अझै न्युरो अस्पतालमै राखिएको छ। प्रशासनले घटनाको निष्पक्ष छानबिन र प्रभावित क्षेत्रमा शान्ति पुनःस्थापना गर्ने प्रयासलाई तीव्र बनाइएको जनाएको छ।














