बिराटनगर, सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना समेत परिचालन गरिएको छ। दुई समुदायबीच भएको हिंसात्मक झडपपछि सोमबार बिहानदेखि जारी कर्फ्यु उल्लंघन गर्दै स्थानीय सडकमा उत्रिएपछि क्षेत्र पुनः तनावग्रस्त बनेको र सेना परिचालन गरिएको हो।
कर्फ्यु आदेशलाई बेवास्ता गर्दै सयौँ प्रदर्शनकारी कप्तानगन्ज चोकमा भेला भएर टायर बाल्दै नाराबाजीमा उत्रिएको र प्रदर्शनका कारण कप्तानगन्ज बजार क्षेत्रको अवस्था असामान्य बनेकोपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो टोलीसंगै घटनास्थलमा सेना परिचालन गरिएको हो।

सेना परिचालनपछि स्थिति नियन्त्रण तर्फ
घटनाको प्रभाव पूर्व–पश्चिम लोकमार्गसम्म पुगेकोबेला बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित नेपाली सेनाको टोली मैदानमा उत्रिएपछि मात्रै तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आउन थालेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवानगन्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

कर्फ्यु लागू भए पनि बिहान करिब १० बजेदेखि करिब एक हजारको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए। प्रदर्शनकारीले कप्तानगन्ज चोकमा टायर बाल्दै नाराबाजी गरेका थिए। केहीबेरमै प्रदर्शन तोडफोड र आगजनीमा परिणत भएपछि सुरक्षा अवस्था थप जटिल बनेको थियो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नुपरेको हो। उनका अनुसार बख्तरबन्द गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगन्ज पुगेर फिल्डमा खटिएपछि प्रदर्शनकारी तितरबितर हुन थालेका थिए। सेना परिचालनपछि क्षेत्रको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भएको प्रशासनले जनाएको छ। तर सेनाको टोली पुग्नुअघि नै प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड र आगजनी गरिसकेका थिए।
फार्मेसी र पसलमा आगजनी र तोडफोड
प्रहरीका अनुसार एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड गरी भित्र रहेका सामान सडकमा निकालेर आगो लगाइएको थियो। सुरक्षाकर्मी तत्काल पुग्न नसकेका स्थानमा बढी क्षति पुगेको प्रारम्भिक निष्कर्ष प्रशासनले निकालेको छ। प्रमुख जिल्ला अधिकारी घिमिरेले अवस्था थप बिग्रिए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा थप सुरक्षा कारबाही अघि बढाउने चेतावनी दिएका छन्। परिस्थिति नियन्त्रणभन्दा बाहिर गए थप गोली चलाउनुपर्ने अवस्था आउन सक्ने भएकाले सबैलाई संयमता अपनाउन उनले आग्रह गरेका छन्।

उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही हुने उनले स्पष्ट पारे। सेनासहितको संयुक्त सुरक्षा टोलीले अवस्था नियन्त्रणमा लिइसकेको र थप क्षति हुन नदिने प्रयास जारी रहेको प्रशासनको भनाइ छ। प्रदर्शनका क्रममा एउटा पक्ष सडकमा उत्रिएसँगै अर्को पक्ष पनि भेला हुन थालेपछि सम्भावित साम्प्रदायिक तनाव रोक्न सेना परिचालन गरिएको प्रशासनले जनाएको छ।
राजमार्गमा सवारी आवागमन प्रभावित
कप्तानगन्जको घटनाको विरोधमा सुनसरीको लौकही र फूलचोकमा पनि टायर बालेर प्रदर्शन गरिएको छ। प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा बिहानदेखि सवारी आवागमन प्रभावित बनेको छ। राजमार्गमा सवारीसाधन रोकिँदा यात्रुहरू समस्यामा परेका छन्। सुरक्षाकर्मीले सम्झाइबुझाइ गर्दै यातायात सञ्चालन गराउने प्रयास जारी राखे पनि पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।
सुरक्षकर्मीको गोलीबाट एकको मृत्यु, ९ घाइते, झडपमा २२ बढी घाइते
आइतबार राति कप्तानगन्जमा भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट थप नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू पनि सुनसरी पठाइएको छ। कोशी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार कप्तानगन्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा उपस्थितिलाई थप सुदृढ बनाउँदै स्थिति पूर्ण रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
सुनसरीको सुरक्षा कमान्डर बिहिन अबस्थामा
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक झडप र त्यसक्रममा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाले सुरक्षा संयन्त्रको नेतृत्व व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। घटनाको समीक्षा गर्दा झडपको समयमा सुनसरीको सुरक्षा संयन्त्र नियमित कमान्डरविहीन अवस्थामा सञ्चालन भइरहेको तथ्य खुलेको छ।

सुनसरीमा सशस्त्र प्रहरी बल नम्बर ४ गण इनरुवाका गणपति तथा जिल्ला प्रमुखको पद दुई सातादेखि रिक्त थियो। त्यसैबेला जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेवे बिदामा थिए। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरे पनि बिदामा रहेकाले प्रदेश प्रहरीको नेतृत्व निमित्त अधिकारीमार्फत सञ्चालन भइरहेको थियो। सशस्त्र प्रहरी बलका सुनसरी प्रमुख एसपी श्यामकुमार कार्कीलाई गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि असार ३० गते मुख्यालय तानिएको थियो।
तस्बिर – प्रदेश खबर















