झापा, झापाको दमकमा घरायसी विवादका कारण श्रीमान र श्रीमती दुबैको ज्यान गएको छ बिबाद बढ्दै गएपछि श्रीमान्को खुकुरी प्रहारका कारण गम्भीर घाइते भएकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको र श्रीमतीको मृत्युपछि आंफुले समेत आत्महत्याको प्रयास गरेका श्रीमान्को पनि उपचारका मृत्यु भएको छ । दमक नगरपालिका–१, श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको गम्भीर घाइते अबस्थामा अस्पतालमा उपचारार्थ भर्ना गरिएको भएपनि दुबैको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार, बुधबार दिउँसो करिब २ बजे श्रीमान्–श्रीमतीबीच सामान्य विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीको प्रहारबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो ।
श्रीमतीमाथि ज्यानै लिने गरी आक्रमण गरेलगत्तै धनबहादुरले घरको अर्को कोठामा गएर सिलिङ पंखामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए । सोही क्रममा उनकी २५ वर्षीया छोरीले बुबालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुइँमा झारेकी थिइन्।घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए ।
प्रहरीले घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएकामा उपचारकै क्रममा दुवैको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















