पोखरा, पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न. ९ सिल्मीस्थित एकोहोरेपाखामा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा कुश्मा नगरपालिका- ३ दुर्लुङका ३० वर्षीय सुजन परियार र कुश्मा नगरपालिका – १० कटुवाचौपारीको साइकलचोकका १४ वर्षीय शिशिर लामिछाने हुन् । मृतक परियार ट्याक्टर चालक हुन सदरमुकाम कुश्माबाट ग्यादी तर्फ जाँदै गरेको उक्त ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर एक जना घाइते भएको र उनि स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ५ आरुचौरका २२ वर्षीय उदय सापकोटा रहेको प्रहरीले जनाएको छ । घाइते सापकोटाको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बलको चण्डिका गण र जिल्ला प्रहरी कार्यालय पर्वतको टोली घटनास्थल पुगेर घाइते र मृतकको उद्धार गरेको थियो । प्रहरी निरीक्षक राजनकुमार पटेलले घटनास्थलमा उद्धारका काम सकेर अनुसन्धान अघि बढाइएको जानकारी संचारकर्मीलाई दिएका छन ।
















