पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै विभिन्न विधाका २ सय ६ वटा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ । जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ६५ जना फरार प्रतिवादी र ५ जना विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा सबैभन्दा धेरै ६६ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । अभद्र व्यवहारका ४०, ठगी तथा आपराधिक विश्वासघातका २० र लागुऔषधका १४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीको सक्रियतामा ६५ जना फरार प्रतिवादीहरु पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३४ जना पुरुष र ३१ जना महिला रहेका छन् । उनीहरुबाट १४ वर्ष ४ महिना २९ दिन कैद सजाय र ९० लाख ६८ हजार ५६० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो । फरार प्रतिवादीहरुमा चेक अनादरका २३, चोरीका १८ र विभिन्न सार्वजनिक अपराधका ६ जना रहेका छन् । फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिई अदालतमा पेश गरिएको प्रहरीले बताएको छ ।
विदेशी नागरिकको हकमा युगाण्डाका ५ जना नागरिक पक्राउ परेका छन् । युगाण्डाका ४७ वर्षका सामिम बासाबे र ५० वर्षका टोना मारी अहमिम्बिसिब्वेले एक नेपालीको ७ हजार रुपैयाँ र परिचय पत्र चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । यस्तै अन्य ३ जना युगाण्डाली नागरिकलाई मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात र अभद्र व्यवहार गरेको आरोपमा लेकसाइडबाट नियन्त्रणमा लिइएको छ । उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।
सुनका गरगहना चोरी गर्ने गिरोहलाई पनि प्रहरीले कानुनको दायरामा ल्याएको छ । पोखरा-१८ खपौदीमा घर फोरेर ५ तोला सुन र विभिन्न सामान चोरी गर्ने २७ वर्षका साजन सुनार र चोरीको सुन खरिद गर्ने ५६ वर्षका नारायण लाल विक पक्राउ परेका छन् । उनीहरुबाट १८ लाख १७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । अर्को एक घटनामा संलग्न सन्तोष लामिछाने, राजेन्द्र परियार, रोसन परियार, विशाल नेपाली र टिकाराम विश्वकर्मालाई ३ लाख ९६ हजार रुपैयाँ र सुन चोरीको आरोपमा कारवाही गरिएको छ । अदालतको आदेश अनुसार उनीहरुमध्ये केहीलाई कारागार चलान गरिएको छ भने केही धरौटीमा छुटेका छन् ।
ट्राफिक व्यवस्थापन तर्फ प्रहरीले फुटपाथमा जथाभावी पार्किङ गर्ने १ हजार ६० वटा सवारी साधनलाई कारवाही गरेको छ । विशेषगरी न्युरोड, सभागृह चोक र चिप्लेढुंगा क्षेत्रमा पैदल यात्रीलाई अवरोध पुग्ने गरी राखिएका सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । यसैगरी प्राकृतिक स्रोतको अवैध उत्खननमा संलग्न १४ वटा सवारी साधनलाई नियन्त्रणमा लिई स्थानीय तह मार्फत २ लाख २९ हजार रुपैयाँ जरिवाना गराइएको छ । प्रहरीले यस महिना ५ किलो १५० ग्राम र ३ किलो ४०० ग्राम गाँजासहित छुट्टाछुट्टै स्थानबाट ४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो नयाँ सूचना अधिकारीसँग पत्रकारहरुको परिचयात्मक कार्यक्रम समेत राखेको थियो ।
















