पोखरा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २९ तालचोक बस्ने २२ बर्षीय रुबिना खातुनलाई लागूऔषध खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ करिब २८ ग्राम र नगद ११ लाख ४६ हजार सहित प्रहरीले पक्राउ गरेको छ।
बेगनासताल क्षेत्रमा क्षेत्रमा लागू औषधको बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय शिशुवा र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले गत महिना अर्थात बैशाख २९ गते बेलुका उनलाई पक्राउ गरेको थियो।

निज रबिना खातुनबाट बरामद गरिएको लागु औषध डिजिटल तराजुबाट तौल गर्दा ३.५० ग्राम रहेको र उनको साथबाट मोवाईल पनि बरामद गरिएको जनाउंदै प्रहरीले निजको घरकोठा समेत खानतलासी गर्दा घरको बराण्डामा प्लाष्टिकको कचौराले छोपी लुकाई राखेको लागू औषध खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ २७.७० ग्राम समेत बरामद भएको बुझिएको छ।
पक्राउ परेकी खातुनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

















