पोखरा, पोखरा महानगरपालिका वडा नं. ३१, बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ। सिन्धुली जिल्ला घर भई हाल पोखरा–१८ सराङकोटस्थित मामाघरमा बस्दै आएका अन्दाजी २२/२३ वर्षका कान्छा मगर नामले चिनिने युवा बेगनास तालको रेस्क्यु टावर नजिकै पौडी खेल्ने क्रममा आइतबार दिउँसो डुबेर बेपत्ता भएका थिए।
युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको पोखरा -५, मालेपाटनस्थित २४ न. कालिका गणको हेड क्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल वलीको कमाण्डमा खटिएको गोताखोर सहितको ११ जनाको टोलीले ति युवालाई उद्द्वार गरेको थियो ।
सोमबार दिउँसो करिब साढे ४ बजेतिर घटनास्थल पुगेको उद्द्वार टोलीले तत्कालै खोजी कार्य सुरु गरी सवा पांच बजे तालको करिब २० फिट गहिराइबाट ती युवकलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो। उद्धार कार्यमा गोताखोर द्वय रमेश हिटन र देवराज खनाल संलग्न रहेको शसस्त्र प्रहरी बल कालिका गणले गुरुकुल खबरलाई जानकारी दिएको छ।
तालबाट बाहिर निकालिएका मगरलाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमाण्डमा खटिएको १० जनाको टोलीले थप उपचारका लागि साँझ करिब ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) तर्फ लगेको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
















