Play

रास्वपा कास्कीमा पनि गुटबन्दीको प्रभाव: पार्टीका केहि नेताहरुले मतदान नगर्दा अध्यक्ष पदमा १ मतले हारजीत

गुरुकुल खबर


पोखरा, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि मुलुकका पुराना राजनीतिक दलहरुको जस्तो आन्तरिक बिबाद र प्रतिष्पर्धा बढ्न थालेको छ। हाल जिल्ला अधिबेशनको दौरानमा कतिपय जिल्लामा आन्तरिक विवाद बढ्दैजाँदा कार्यकर्ताहरु बीच द्वन्द बढेपछि अधिबेशन नै स्थगित भैरहेका घटनाहरु समेत सार्बजनिक भैरहेका छन । कास्की जिल्लामा पार्टीभित्र आन्तरिक गुटबन्दीका कारण कडा प्रतिष्पर्धा भएपनि  कुनै अप्रिय घटना नभई सामान्य अबस्थामा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिबेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन गरिएको छ।

अधिबेशनले रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारीलाई निर्वाचित गरेको छ। यस अगाडी पनि जिल्ला समितिको अध्यक्षको जिम्मेवारीमा रहेका अधिकारी १ मतको झिनो अन्तरले मात्र बिजयी भएको घटनालाई हेर्दा रास्वपाको जिल्लास्तरमा पनि आन्तरिक गुटबन्दी बढेको महशुश गर्न सकिन्छ ।

यस अगाडि सम्पन्न प्रतिनिधिसभा निर्बाचनमा कास्कीको क्षेत्र न. २ वा ३ मध्ये जुनसुकै क्षेत्रबाट भएपनि उमेदवार बन्ने चाहना राखेका अधिकारी लाई पार्टीले त्यसबेला टिकट नदिएको र अहिले जिल्ला अधिबेशनमा पनि कडा चुनौती व्यहोर्नुपरेको छ। त्यसबेला पार्टीले कास्की – २ मा उत्तम प्रसाद पौडेललाई र कास्की -३ मा बिना गुरुङलाई उमेदवार बनाएको थियो र दुबैजना भारी मतका साथ बिजयी भएका थिए।

यसपटक पार्टीको जिल्ला अध्य्यक्षमा कडा प्रतिष्पर्धामा १ मतको झिनो अन्तरले विजयी बनेपछि अधिकारीको राजनीतिक यात्रा कसरी अगाडी बढ्ला भन्ने जिज्ञासा धेरैले राखेका छन। तर आगामी राजनीतिक यात्राबारेमा न त उनले नै केहि बताएका छन न त पार्टीका अन्य नेताहरुले नै केहि कुरा सार्बजनिक गरेका छन।

संसदीय निर्बाचनमा उमेदवार बन्न नपाएका उनलाई आसन्न स्थानीय तहको निर्बाचनमा रास्वपाले पोखराको मेयरको उमेदवार बनाउन लागेको कारण टिकट नदिएको हो कि भन्ने अनुमान समेत कतिपयले गरेका थिए । आसन्न स्थानीय तहको निर्बाचनमा उनलाई पोखरा महानगरको नभए अन्नपुर्ण गाउँ पालिकाको प्रमुखको रुपमा पार्टीले उमेदवार बनाउने सम्भावना कतिपयले ब्यक्त्ब गरेका छन ।

अध्यक्षमा बिजयी अधिकारी को हुन ? 

कास्की रास्वपाको अध्यक्षमा बिजयी यदुनाथ अधिकारी पोखरामा रियल स्टेट व्यवसायीको रुपमा बढी चिनिन्छन । उनि अन्य ब्यवसायमा समेत आबद्ध छन।  कास्कीको अन्नपुर्ण गाउँपालिका धम्पुस घर भएका अधिकारी बिगत केहि बर्षदेखी पोखराको रत्नचोक नजिक बस्दै आएका छन । उनि रास्वपामा लाग्नु अगाडी नेकपा एमालेमा लामो समय र त्यसपछिको केहि समय नेकपा माओबादीसंग सम्बद्ध थिए।  पछिल्लो समय उनि राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीको मूल प्रवाह अर्थात रबि लामिछाने निकटको समुहमा आबद्ध रहँदै आएको बुझिएको छ ।

जिल्ला अध्यक्षमा अधिकारीसंग एकराज न्यौपानेले प्रतिष्पर्धा गरेका थिए।  शुरुवातमा न्यौपानेलाई कम आंकलन गरेर सर्वसम्मत रुपमा अधिकारीको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा गर्ने आन्तरिक प्रयास गरिएको थियो। तर उक्त प्रयासले सार्थकता नपाएपछि बाध्यात्मक अबस्थामा मतदान प्रक्रिया अगाडी बढाईएको बताइन्छ ।

मतदानमा जिल्ला अधिवेशनका मतदाता २ सय ९० मध्ये २ सय ३७ जनामात्र मतदानमा सहभागि भएकोमा ४ जनाले अध्यक्ष पदमा कसैलाई पनि मतदान नगरेको बुझिएको छ। बाँकी २ सय ३३ मतमा अधिकारीले १ सय १५ र न्यौपानेले १ सय १४ मत प्राप्त गरेका थिए ।

यसैबीच, पार्टी भित्र जिल्लास्तरमा पनि आन्तरिक गुटबन्दी बढ्न सक्ने भन्दै पार्टीबाट निर्बाचित सांसद एबम केन्द्रीय सदस्यले मतदानमा भाग नलिएको रास्वपाका एक कार्यकर्ताले बताएका छन ‘जिल्ला अध्यक्षमा दुईजना उमेदवार बीचको प्रतिष्पर्धामा सहमती कायम गर्न नसकेपछि सांसदहरुले पनि मतदानमा भाग लिनुभएन, वहाँहरुले आंफ्नो अनुकुलको उमेदवारको पक्षमा गोप्य रुपमा मत मागेको भएपनि खुल्ला रुपमा वहाँहरुले कसैलाई मत मागेको देखिएन, सबैको साझा र केन्द्रीय नेता भएको कारण जिल्लाको बिबादमा किन पर्ने भनेर वहाँहरुले मतदान नगरेको मैले बुझेको छु’ उनले गुरुकुल खबरसंग भने ।

‘पार्टीभित्र न्यौपाने र अधिकारी दुवै जना बिगतमा लामिछानेको समुहमा रहेको भएपनि पद लिने चाहनाको कारण र केन्द्रीय नेताहरुले समेत आंफ्नो समूह बलियो बनाउन पार्टी भित्र गुटबन्दी बढाउने गर्छन। राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीको जिल्ला अधिबेशनमा पनि त्यस्तै अबस्था देखिन पुग्यो’ रास्वपाका कतिपय कार्यकर्ताको भनाई छ ।

अध्यक्षका प्रत्यासी न्यौपाने को हुन ?

अध्यक्ष पदमा १ मतले पराजित भएका न्यौपानेको राजनीतिक यात्रा पनि नेकपा एमाले हुँदै अगाडी बढेको हो।  पोखरा महानगरपालिका- ६ बैदाम घर भएका न्यौपाने शुरुमा नेकपा एमाले, त्यसपछि नेकपा समाजबादी र बिबेकशील साझा पार्टी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका हुन।  उनि पनि व्यवसायीको रुपमा चिनिन्छन।  पोखराको लेकसाइडको न्यौपाने परिवारका सबैजसो नेकपा एमालेसंग निकट रहेको बताइन्छ।

न्यौपानेलाई पार्टी भित्र बालेन्द्र शाहसंग निकट मानिनेहरुको समुहले जिल्ला अध्यक्ष बनाउने प्रयास गरेको र सोहि अनुरुप नै अगाडी बढ्न सुझाएको थियो। सोहि अनुरुप सहमतिको लागि भएका अनेक प्रयास बिफल हुन पुगेका थिए। तर मतदान प्रक्रियामा भने उनि १ मतले पछाडी परे। जिल्ला सभापति पदमा पराजित भएपनि २५ प्रतिशत मत पाउने अध्यक्षको उमेदवारलाई जिल्ला समितिको सदस्य बनाउने भन्ने पार्टीको बिधानको ब्यबस्था अनुरुप न्यौपाने पनि जिल्ला सदस्य बनेका छन।

यसरी हेर्दा कास्कीमा रास्वपाका अधिकांश नेताहरु रबि लामिछाने निकट रहेको र सोहि अनुरुप अधिकारीले चुनाब जितेको भएपनि उनलाई कडा टक्कर दिने न्यौपानेलाई लामिछानेसंग असहमत राख्ने अर्थात पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह निकट मानिने प्रतिनिधिहरुले मतदान गरेको बताइएको छ ।

कास्कीमा रास्वपा भित्र कास्की -२ का सांसद उत्तमप्रसाद पौडेल र कास्की -३ का सांसद बिना गुरुङ सहितका नेताहरु रबि लामिछाने निकट मानिन्छन । यसैगरी कास्की क्षेत्र न. १ बाट सांसद बनेर बर्तमान मन्त्रीमण्डलमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका गनेश पौडेल बालेन्द्र शाह निकट मानिन्छन।  उनलाई बालेन्द्रको कोटाबाट पार्टीको केन्द्रीय सदस्य, कास्की – १ को प्रतिनिधिसभा उमेदवार बनाउनुको साथै मन्त्री समेत बनाइएको छ।

मन्त्री पौडेल सरकारको काममा ब्यस्त रहने गरेको भनिएपनि पार्टीको कास्की जिल्ला अधिबेशनको लागि भने उनले पोखरा आएर राम्रै समय बिताए। पार्टीको अधिबेशन उद्घाटनमा मात्र नभएर उनि आंफ्नो अनुकुलको नेतृत्व चयन गराउन समेत आंफ्नो किसिमले लागेको बताइन्छ।  श्रोतका अनुसार उनि सहित बालेन्द्र समूहका पार्टी नेता र कार्यकर्ताहरुले न्यौपानेलाइ जिताउन खोजेको भएपनि उनीहरुको प्रयासले सार्थकता पाउन सकेन।

जिल्ला कार्यसमिति र क्षेत्रिय समितिको पदाधिकारी र सदस्यहरु

कास्की जिल्ला अधिवेशनका लागि निर्वाचन प्रमुख रहेका शंकर पन्तका अनुसार पार्टीको जिल्ला कार्यसमितिकों उपसभापतिमा चिनबहादुर गुरुङ र सहसचिबमा सुजन बस्ताकोटी निर्विरोध निर्वाचित भएपनि कार्यसमितिको सचिबमा विश्वराज पौडेल १ सय २२ मतल्याएर विजयी भएका छन । सचिबमा पौडेलका प्रतिस्पर्धी टेकराज सापकोटाले १ सय ६ मत मात्र पाएका थिए । कार्यसमितिको कोषाध्यक्षमा भने बिधानको ब्यबस्था बमोजिम पछि मनोनयन गरिने जनाइएको छ ।

जिल्ला कमिटीमा केही सदस्य निर्विरोध भएपनि ४ जना सदस्य पदको लागि भने लागि मतदान नै भएको थियो । कार्यसमितिको ४ जना सदस्य पदमा भेषराज तिमिल्सिना, ऐकेन्द्र बन्जरा, लक्ष्मी पौडेल, प्रतिभा रानाभाट, राजु भुजेल घर्ती, रेशमबहादुर रानाभाट, सफल शर्मा, सूर्यमोहन भण्डारी, श्याम गुरुङ र सीता चापागाई गरि १० जना उम्मेदवार रहेकोमा सिता चापागाईं, भेषराज तिमिल्सिना, लक्ष्मी पौडेल र श्याम गुरुङ निर्बाचित भएका छन।

यसबाहेक जिल्ला समितिको सदस्यमा लक्ष्मी परियारको साथै कास्की क्षेत्र न. १ का संयोजक श्रवणराज जमरकटेल, क्षेत्र न. २ का संयोजक  चित्रबहादुर क्षत्री, क्षेत्र न. ३ का संयोजक राजकुमार भण्डारी पनि पदेन सदस्य रहने भएका छन। पार्टीको क्षेत्रिय संयोजकहरुले जिल्ला समितिमा प्रतिनिधित्व गर्ने भएपनि सबै क्षेत्रमा उपसंयोजक, सचिब र सदस्यहरुको समेत ब्यबस्था गरिएको छ।

जसअनुसार क्षेत्र न. १ मा दुईजना उपसंयोजकमध्ये क प्रदेशको उपसंयोजकमा सामन्तमणी सुबेदी, ख प्रदेशको उपसंयोजकमा उषा भुजेल, सचिबमा लक्ष्मण कार्कीलाई राखिएको छ।  यसैगरी क्षेत्र न. २ को दुवै प्रदेशको उपसंयोजक रिक्त राखिएको छ भने सचिबमा फुलबहादुर रानाभाट तथा सदस्यहरुमा गौरव पाख्रिन र शर्मिला रिजाललाई राखिएको छ।  यसैगरी कास्की क्षेत्र न. ३ को क प्रदेशको उपसंयोजक पद रिक्त रहेको र ख प्रदेशको उपसंयोजकमा तीर्थराज अधिकारी, सचिबमा मिनबहादुर बस्नेत एबम सदस्यहरुमा डिल्लीराज अधिकारी र सिता अधिकारीलाई राखिएको छ।

अब हुने प्रदेश र स्थानीय तहको निर्बाचनमा दुई तिहाई जित्छौं – केन्द्रीय सदस्य गनेश पौडेल 

यसैबीच रास्वपाको कास्की जिल्ला अधिबेशनको उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य एबम संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्री गनेस पौडेलले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशका स्थानीय तह र प्रदेशमा दुई तिहाइभन्दा बढी स्थान जित्ने दाबी गरे । आगामी दुई वर्षपछि राष्ट्रिय सभामा पार्टीको उपस्थिति हुने उल्लेख गर्दै मन्त्री पौडेलले भने, ‘प्रदेश र स्थानीय तह कब्जा भइसकेपछि, प्रदेश र स्थानीय तहमा दुई तिहाइभन्दा बढी संख्यामा हामीले जितिसकेपछि अब राष्ट्रिय सभामा पनि हाम्रो दुई तिहाइ भइहाल्छ।’ उनले चार वर्षभित्रको मेहनतले राष्ट्रिय सभामा विजय हासिल हुने र त्यसपछि संविधान संशोधन गरेर नागरिकका समस्याहरूको समाधान बताए।

रास्वपाले ल्याएको बजेटले आम नेपाली, व्यवसायी र श्रमजीवीहरूमा उत्साह जगाएको दाबी मन्त्री पौडेलले गरे। देशलाई अभूतपूर्व परिवर्तनको दिशामा लैजान सात ठाउँबाट उत्तर दक्षिण राजमार्गहरू निर्माण भइरहेको र ती कामहरू आगामी १० वर्षभित्र पूरा हुने उनले बताए। ३५ वर्ष देखिका समस्याहरू रातारात परिवर्तन नहुने भन्दै उनले हिमाल, पहाड र तराईसम्म विकासको काममा सरकार तल्लीन रहेको उल्लेख गरे।

पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समाजमा सम्मानपूर्वक र बिनाकुनै दबाब काम गर्न आग्रह गर्दै उनले निर्वाचनमा मित्रतापूर्ण रूपमा सहभागी हुन आह्वान गरे। अरू विभिन्न पार्टीका साथीहरू पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आउन संवाद भइरहेको भन्दै उनले अन्य दलबाट आउनेहरूलाई स्वागत गरे।

२४ जेष्ठ २०८३, आईतवार १३:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा