- गोविन्दराज पहारी
मंसिरको सुुरुआती शीतलतासँगै ताल वाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको नेतृत्व सम्हाल्दा मनमा एउटा फरक हुटहुटी र विद्यालयलाई नयाँ उचाइमा पुर्याउने दृढ सङ्कल्प थियो । ६ महिना मात्र यो विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्ने अवसर पाएँ । यो समय एउटा सामाजिक काम गर्ने हुटहुटी बोकेको व्यक्तिका लागि निकै छोटो समय हो । यद्यपि कुनै पनि पल खेर नफाली अत्यन्तै सघन रूपमा काम अगाडि बढ्यो । यो यात्रा जेठ १० गतेसम्म आइपुग्यो । अहिले आएर केलाउँदा यो समयावधि एउटा कार्यकाल मात्र होइन । बरु कर्म, सहकार्य र रूपान्तरणको एउटा उत्सव बन्यो ।
हाम्रो नेतृत्वको पहिलो परीक्षा विद्यालयको सम्पत्ति संरक्षण र सौन्दर्यीकरणबाट सुरु भयो । समितिको पहिलो बैठकमै विद्यालयमा लामो समय देखि बेवारिसे र असुरक्षित अवस्थामा रहेको डिहीको पाटनस्थित विद्यालयको जग्गालाई तारबार गर्ने निर्णय गरियो । स्थानीय टोल विकास संस्था, छिमेकी र अभिभावकहरूको स्वस्फूर्त श्रमदान र सहकार्यले उक्त जग्गा सुरक्षित भयो । यहाँ भविष्यका कर्णधारहरूका लागि खेल मैदान र पूर्वाधार विस्तारको बलियो आधार तय गर्यौं ।

त्यसपछि जीर्ण र उज्यालो हराएका विद्यालयका भवनहरूलाई दाताहरूको सहयोग र शिक्षक–कर्मचारीको सामूहिक पसिनाबाट नयाँ रङ रोगन गरी बालमैत्री, सफा र आकर्षक स्वरूप दिइयो । यही कार्यकालभित्र पुस १४ गतेको भव्य स्थापना दिवसमा पूर्व अध्यक्षहरूलाई मरणोपरान्त सम्मान र उत्कृष्ट शिक्षक कर्मचारीलाई कदर गरियो । यसले विद्यालयको इतिहास र वर्तमानलाई एउटै कडीमा बाँध्ने ऐतिहासिक काम गर्यौं । यी सुरुवाती दिनहरूले नेतृत्वको इच्छाशक्ति दृढ र समुदायको साथ पाएमा हरेक चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने कुरा प्रमाणित गरे ।
ताल वाराही विद्यालयको सुधारको यो यात्रा भौतिक पूर्वाधारमा सुधारसँगै विद्यालयको इतिहासमै पहिलो पटक दूरगामी र क्रान्तिकारी कदमको रूपमा छात्रवासको ऐतिहासिक सुरुवात गरेर भएको छ । टाढाबाट आउने, विपन्न र शैक्षिक रूपमा विशेष सहयोग आवश्यक भएका विद्यार्थीहरूका लागि ओछ्यान, बाथरूम र ट्वाइलेटसहितको पूर्ण व्यवस्थित होस्टल निर्माण गरियो, जसलाई दिगो बनाउन नेपालमै एउटा मौलिक र उदाहरणीय ‘फुड बैंक’ को अवधारणा ल्याइयो । समुदाय, सङ्घसंस्था र मनकारी व्यक्तिहरूबाट प्राप्त उल्लेखनीय खाद्यान्न सहयोगले विद्यालय र समाजको सम्बन्धलाई भावनात्मक रूपमा अझ बलियो बनायो । यसको सुखद परिणाम स्वरूप होस्टलमा बसेका विद्यार्थीहरूले उत्कृष्ट र सन्तोषजनक नतिजा ल्याउन सफल भए ।

यसका साथै, पुसको कठ्याङ्ग्रिदो चिसोबाट बचाउन सम्पूर्ण विद्यार्थीहरूलाई करिब तीन लाख बराबरको न्यानो स्वेटर वितरण गरियो । पिउने पानीका लागि दैनिक तीन हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यतालाई सधैँका लागि अन्त्य गर्दै ५ लाख ६४ हजारको लगानीमा बोरिङ र थप ५ लाखको लगानीमा आधुनिक फिल्टर प्रणाली जडान हुने तयारीमा छ । शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन पहिलोपटक डिजिटल बोर्डको व्यवस्था गरी शिक्षकहरूलाई प्रविधिमैत्री तालिम दिइयो । नर्सरीदेखि कक्षा ३ सम्मको शैक्षिक जग बलियो बनाउन प्रसिद्ध संस्था ईसिईसीसँग ३ लाखको लगानीमा १ वर्षे शिक्षक तालिमको सम्झौतासमेत सम्पन्न गरिएको छ । उक्त तालिमको लागि स्रोत खरीदका लागि बाँकी २ लाख ५० हजार बराबरको व्यवस्था गरिएको छ । यसले विद्यालयको प्राज्ञिक जगलाई अझ मजबुत बनाउने अनुभुती भएको छ ।
हाम्रो ६ महिनाको कार्यकालले विद्यालयमा एउटा बलियो र गतिशील जग बसालेको छ । यसको जगमा उभिएर निकै सुन्दर, आधुनिक र गौरवशाली प्रोजेक्टहरू पाइपलाइनमा अर्थात् कार्यान्वयनको अन्तिम चरणमा आइपुगेका छन् । विद्यालयमा छिट्टै नै विद्यार्थीहरूका लागि स्वास्थ्य र सरसफाइलाई ध्यानमा राख्दै एउटा सुविधासम्पन्न र अत्याधुनिक भान्साको निर्माण कार्य अगाडि बढ्दैछ । प्रविधिमैत्री सिकाइलाई थप व्यापक र प्रभावकारी बनाउन विद्यालयमा थप अर्को नयाँ डिजिटल बोर्ड जडान हुने प्रक्रियामा छ । शिक्षकहरूलाई डिजिटल सिकाइ प्रणालीमा पोख्त बनाउन ६ लाख ४० हजार मुल्य बराबरका ८ वटा अत्याधुनिक ल्यापटपहरू पाइपलाइनमा रहेका छन् ।
छात्रा विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ र महिनावारी स्वच्छता जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकतामा राख्दै विद्यालयमा आधुनिक स्यानिटरी प्याड भेन्डिङ मेसिन आउँदैछ । शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि बाँकी रहेका अन्य तालिमहरूलाई पनि निरन्तरता दिई छिट्टै सम्पन्न गरिने छ । सबैभन्दा सुखद र दीर्घकालीन महत्त्वको कुरा, प्रारम्भिक बाल विकास कक्षाको सिकाइलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी दुई वर्षसम्मका लागि एक जना पूर्ण रूपमा तालिम प्राप्त शिक्षक अनुदान स्वरूप ताल वाराही स्कुलले प्राप्त गर्दैछ । यसले हाम्रा साना नानीबाबुहरूको भविष्य उज्ज्वल बनाउने छ ।

यी ६ महिनामा जे–जति उपलब्धिहरू हासिल भए र भोलिका लागि जुन समृद्धिको मार्गचित्र कोरियो, त्यो म अध्यक्ष एक्लैको प्रयासबाट कदापि सम्भव थिएन । यस महाअभियानमा दिनरात नभनी खट्नुहुने आदरणीय शिक्षक शिक्षिकाहरू, कर्मचारी मित्रहरू, भू.पू. विद्यार्थी एसोसिएशन, पर्यटन व्यवसायीहरु, सल्लाहकार ज्यूहरु, नागरिक समाज, अनुगमन तथा मुल्याआफ्नो काखको बच्चा सुम्पेर विद्यालयलाई माया गर्ने अभिभावकज्यूहरू, प्यारा विद्यार्थीहरू, टोल विकास संस्था, छिमेकी र सहयोगी दाताहरूप्रति म नतमस्तक छु र हृदयदेखि नै आभार प्रकट गर्दछु ।
आज म विद्यालय व्यवस्थापन समितिको निवर्तमान अध्यक्षको रूपमा रहँदै गर्दा पद र कुर्सीमा रहनु वा नरहनुले मेरो विद्यालय र समाजप्रतिको दायित्वलाई सङ्कुचित पार्ने छैन । आउने दिनहरूमा पनि यो पवित्र शैक्षिक मन्दिरको शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधारको विकास र हाम्रा नानीबाबुहरूको सर्वाङ्गीण विकासका लागि म समाजको एक सचेत नागरिकको हैसियतमा निरन्तर, निस्वार्थ र सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछु । हाम्रा पाइलाहरू रोकिएका छैनन्, ताल वाराही स्कुललाई पोखराकै एक उदाहरणीय शैक्षिक केन्द्र बनाउने हाम्रो साझा यात्रा जारी छ । धन्यवाद, नमस्कार ।
( पहारी ताल वाराही माध्यमिक विद्यालय, बैदाम, पोखराको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हुन )















