पोखरा, बेगनास सिंचाई प्रणाली अन्तर्गत बेगनास सिंचाई जल उपभोक्ता समिति दुुई नम्बर शाखामा लामो समयदेखि अचम्मको परम्परा कायम छ। स्थानीय बाँधाको रहमा स्थानीय उपभोक्ताले नहरमा कुनै समस्या वा बिघ्नबाधा नआओस्, नहर पुग्ने ठाउँमा राम्रोसँग सिंचाई होस र खेतीबाली पनि राम्रो होस भन्ने कामना गर्दै स्थानीय कृषकहरुले सामुहिक पूजा गर्ने परम्परा रहेकोमा त्यसलाई निरन्तरता दिईरहेका छन ।
बेगनास नहर अन्तर्गत पर्ने उक्त शाखाबाट सिंचाई सेवा लिइरहेका कृषक तथा उपभोक्ताहरुले विगत एकसय वर्ष भन्दा अघिदेखि यस किसिमको पुजा आज्ञा गर्दै आएको बताइन्छ। हरेक वर्ष बौद्ध पूर्णिमा या महत्वपूर्ण तिथिमिति पारेर भंगेर, काली नाग, सेती नाग र बनस्कन्धीको पूजाआजा गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको समितिका अध्यक्ष शिबबहादुर थापाले जानकारी दिए ।
नहरमा कुनै समस्या नआओस्, राम्रोसँग सिंचाई होस्, खेतीबाली राम्रो होस् भन्ने कामना सहित स्थानीय उपभोक्ताले प्रत्येक वर्ष सामुहिक पूजाआजा गर्दै आएको र बेगनास सिंचाई प्रणाली अन्तर्गत विभिन्न पाँचवटा शाखा रहेको मूल समितिका अध्यक्ष राजु खत्रीले जानकारी दिए ।
यसवर्ष संघीय बजेट अन्तर्गतको करिब ६० लाख रुपैयाँको लागतमा यहाँका पाँचवटै शाखामा आवश्यकता अनुसार मर्मतसम्भारका कामहरू संचालन भैरहेको
उनले बताए ।
प्राचीनकालदेखि बेगनासमा गरिदै आएको सामुहिक पूजाको विशिष्ट महत्व रहेको समाजसेवी एवम् ज्येष्ठ सदस्य कृष्णप्रसाद अधिकारीको भनाई छ । हाम्रा प्राचीन संस्कार तथा संस्कृतिको जगेर्नासँगै नयाँ पुुस्तामा हस्तान्तरण हुनुु आवश्यक रहेको दुई नम्बर शाखाका निवर्तमान अध्यक्ष विष्णुबहादुर बस्नेतले बताए ।















