पोखरा, चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था चलचित्र पत्रकार संघ नेपाल कास्कीले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको छ । संघले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यस पटक पनि प्रकाशन गरेको हो । यस बर्ष अर्थात २०८३ को भित्तेपात्रोको बिमोचन कार्यक्रममा बोल्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार संघले चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि गरेका कामको सराहना गरे।
संघले वर्षेनी गर्दै आएको ‘सिनेमा संवाद’ कार्यक्रम सहित संघले गरेका कामहरु प्रशंसनीय रहेको उनले बताए । २०८३ भदौ २६ गते चलचित्र ‘पेन्सन पट्टा’ रिलिज गर्ने मिति तय भएको र चलचित्र पत्रकार संघ कास्कीबाट प्रचारप्रसारमा अपेक्षा गरेको उनको भनाई थियो ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । नयाँ कार्यसमितिको सक्रियताको प्रशंसा गर्दै उनले संघले संस्थागत विकाससँगै चलचित्र पत्रकारितालाई समेत बढवा दिने खालको कार्यक्रम गर्न सुझाएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले आफु पनि चलचित्र पत्रकार संघ कास्कीको संस्थापक सदस्य रहेको बताउँदै एक पछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धी गतिविधि बढदै गएको उल्लेख गरे । पोखरा ओपन स्टुडियो भएको र यहाँको पर्यटन प्रवर्द्धनमा सिनेमासँग सम्बन्धित गतिविधिले टेवा पुगेको उनले बताए ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले संघले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै भित्तेपात्रो विमोचन गरिएको जानकारी गराए । यस अघिका कार्यसमितिले गरेका कामहरुको निरन्तरतासँगै थप नयाँ कार्यक्रम समेत संघले गर्दैजाने उनले बताए । पत्रकार, कलाकार, रंगकर्मी, गीतकार, कवि लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य चलचित्र पत्रकार संघ नेपाल कास्कीका उपाध्यक्ष गौरव त्रिपाठीले र कार्यक्रमको संचालन सचिव सुरेश सुनारले गरेका थिए ।















