काठमाडौँ, नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक खराब मौसमका कारण केहि समय ढिलो शुरु भएको बताइएको छ। बैठक नेपाली काँग्रेसका सभापति गगन कुमार थापाको अध्यक्षतामा शुरु भएको छ ।
बैठकमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद बन्नेहरुको नाम टुंगो लगाइने बुझिएको छ । कार्यसम्पादन समितिको बैठकले नाम टुंगो लगाएर निर्बाचन आयोगमा पठाइने र त्यसपछि आयोगले रुजु गरेर नाम सार्बजनिक गर्छ तर पार्टीले टुंगो लगाएका नामको बारेमा पार्टीले समेत नामावली सार्बजनिक गर्न सक्छ।

बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ । यसअघिको निर्वाचनको पहिलो दल कांग्रेसले अहिलेको निर्वाचनमा आधाभन्दा कम सिट जितेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । कांग्रेसले चुनावी समीक्षा भने अझै सम्म गरेको छैन ।
कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले आज समानुपातिकको नाम टुंगो लगाइने बताए । उनले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुन सक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुंगो लगाइने रहेको बताए । कांग्रेसका सामु अब हुने पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारेमासमेत बैठक गरी टुंगोमा पुग्नुपर्नेछ । प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय समिति बैठकको तयारी भइरहेको भन्दै यो सातासम्म बस्ने जानकारी दिए ।
नेकपा एमाले र श्रम संस्कृति पार्टीले समानुपातिक तर्फबाट सांसद बनाउनेहरुको नाम सार्बजनिक गरिसकेको छन। तर रास्वपाले भने आज आइतबार नै नामको टुंगो लगाएको भएपनि निर्बाचन आयोगले स्वीकृत गरेपछि मात्र नाम सार्बजनिक गर्ने जनाएको छ ।















