काठमाडौँ, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको निर्बाचन आयोगले जनाएको छ । बुधबार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत केही क्षेत्रको मतगणना सम्पन्न भएसँगै दुवैतर्फको मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन । प्रत्यक्षतर्फको मतगणना भने यसअघि नै सकिएको थियो । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १२५ सिट, नेपाली कांग्रेसले १८ सिट, नेकपा एमालेले ९ सिट, श्रम संस्कृति पार्टीले ३ सिट एबम राप्रपाले १ सिट र स्वतन्त्र रुपमा महाबिर पुन निर्वाचित भएका थिए ।
समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्यमा जुटेको छ । बुधबार दिउँसोसम्म आयोगले समानुपातिकतर्फ एक करोड ७ लाख ८५ हजार ८७६ मत गणना गरिसकेको जनाएको छ । गणनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ५७ हजार १३० मतसहित अग्रता बनाएको छ । दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२, नेकपा (एमाले) ले १४ लाख ५२ हजार ७५८ मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत पाएको छ ।
२०७९ को निर्वाचनमा ठुला बनेका नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल यो निर्वाचनमा दुवै निर्वाचन प्रणालीमा खुम्चिएका छन् । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ ल्याएको नेकपा एमालेको यो पटकको मत झन्डै आधाले घटेको छ । यो पटक एमालेले समानुपातिकमा १४ लाख ५२ हजार ७५८ मत मात्र पाएको छ । अघिल्लो चुनावमा ल्याएको मतको तुलनामा एमालेको यो पटकको समानुपातिक मत १३ लाख ९२ हजार ८८३ मतले घटेको छ ।
त्यस्तै, नेपाली कांग्रेसको समानुपातिक मत पनि अघिल्लो चुनावको तुलनामा घटेको छ । कांग्रेसले यो पटक १७ लाख ५४ हजार ६९५ मत पाएको छ । उसले २०७९ को निर्वाचनमा २७ लाख १५ हजार २२५ मत पाएको थियो । अघिल्लो र यो चुनावमा कांग्रेसको समानुपातिक मतान्तर ९ लाख ६० हजार ५३० कम छ ।
समानुपातिकतर्फ दलहरूले पाएको मतको आधारमा उनीहरूका सांसद थपिनेछन् । जसअन्तर्गत रास्वपाका समानुपातिक सांसद ५७, नेपाली कांग्रेसका २०,एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९, श्रम संस्कृति पार्टीका ४,राप्रपा ४, सांसद थपिने छन् । प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल सांसद २७५ मध्ये रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र स्वतन्त्र १ सांसद प्रतिनिधिसभामा रहनेछन् । अघिल्लो निर्वाचनमा २१ सांसद लिएर सांसद छिरेको रास्वपा यस पटकको निर्बाचनमा करिब दुई तिहाइ सांसद लिएर संसद छिर्ने भएको छ।
यो निर्वाचनमा जनमत, जसपा, लोसपा,नाउपा, नेमकिपा, जनमोर्चा राष्ट्रिय पार्टीको हैसियत बनाउन नसक्दा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उदाउन पुगेको छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।















