पोखरा, कास्की जिल्लाका तीनवटा निर्बाचन क्षेत्रबाट निर्बाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्यहरुले जनताको सपना र आकांक्षा पूरा गर्ने भरिया का रूपमा आँफुहरुले काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । रास्वपा कास्की जिल्ला समितिले पोखरामा आयोजना गरेको शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै कास्कीबाट निर्बाचित तीनजना प्रतिनिधि सभा सदस्यहरु खडकराज पौडेल गनेस, उत्तम पौडेल र बिना गुरुङले आन्फुहरु जनताको सेवक रहेर काम गर्ने बताएका हुन ।
कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य खडकराज पौडेल गनेसले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी र फुट स्वीकार्य नहुने स्पष्ट पारे । ‘राजनीति मेरो लागि मानव सेवा हो, आफ्नो सेवा होइन । अरू पार्टीले नेतालाई भगवान र जनतालाई झोले बनाए, तर हामी जनताको सपना बोक्ने भरिया र झोले हौं,’ राजनीतिलाई आध्यात्म र ईश्वरको बन्दनासँग तुलना पौडेलले भने, ‘चुनाव जितेपछि माला, खादा र अबिर पहिरिएर तामझाम गर्नुभन्दा जनताको काममा लाग्र्छौैं ।’ पौडेलले आफूले निर्वाचनका क्रममा कुनै पनि प्रतिस्पर्धीको आलोचना नगरेको स्मरण गर्दै स्वस्थ राजनीतिक संस्कारको वकालत गरे ।
कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तम प्रसाद पौडेलले बर्षौंदेखि कायम रहेका राजनीतिक किल्लालाई जनताले भत्काइदिएको बताए । जनतालाई दास सम्झने पुराना राजनीतिक शक्तिहरूको घमण्डलाई आम नागरिकले मतदानमार्फत तोडिदिएको उनले बताए । ‘हामी त केवल प्रतिनिधि पात्र हौं ।’ पौडेलको भनाई थियो उनले रास्वपाले पाएको सफलताको पछाडी रबि लामिछाने नै प्रमुख कारण रहेको दाबि गरे ।
यसैगरी कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना गुरुङले निर्बाचनबाट प्राप्त जनमतलाई विजयका रूपमा मात्र नहेरी ठूलो जिम्मेवारीका रूपमा लिएको बताइन् । उनले काम गरेर परिणाम नदेखाउँदासम्म विजयको खुसीयाली मनाउन हतार नगर्ने सुनाइन् । ‘मैले सुरुमै भनेकी थिएँ, जबसम्म सदनमा गएर नागरिकको आवाज उठाउन र काम गरेर देखाउन सक्दिन, तबसम्म खादा र माला लगाउँदिन । तर मतदाताहरूको माया र खुसीलाई सम्मान गर्दै अहिले यहाँहरू माझ उभिएकी छु,’ उनले भनिन् ।
कार्यक्रममा रास्वपा कास्कीका अध्यक्ष यदुनाथ अधिकारी लगायत बिभिन्न बक्ताले विभिन्न निर्वाचन क्षेत्रका संयोजक, पदाधिकारी तथा स्वयंसेवकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा जनताको विश्वासलाई टुट्न नदिने प्रतिवद्धता जनाएका थिए ।















