काठमाडौँ, फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको अन्तिम परिणाम आउन अब केहि मात्र बाँकी छ। हाल सम्मको मतगणनाको परिणाम्बारेमा निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ १६५ मध्ये १६१ सिटको अन्तिम नतिजा आइसकेको छ । जसमध्ये सबैभन्दा बढी १२४ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित निकालेको छ भने यस अगाडी ठुलो दल रहेको नेपाली कांग्रेस १७ सिट र नेकपा एमाले ८ सिटमा खुम्चिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ७, सिटमा, श्रम संस्कृति पार्टी ३ सिटमा, राप्रपा र स्वतन्त्रले एक-एक सिट जितेका छन् ।
मतगणना जारी रहेका बाँकी क्षेत्रमध्ये रास्वपा एक,कांग्रेस एक र एमाले एक स्थानमा अग्रता लिएको छ । जसमा रास्वपा गोर्खा १, कांग्रेस इलाम १, एमाले संखुवासभामा अहिलेसम्म अग्रस्थानमा रहेको छ । धनुषा १ मा भने रास्वपाका उम्मेदवारको उम्मेदवार खारेज भएको र यसविरुद्ध अदालतमा मुद्दा रहेकाले मत परिणाम रोकिएको छ । देशैभर रास्वपाको लहर चल्दै धेरै ठाउँमा एकलौटी रूपमा मत ल्याएर सो पार्टीका उम्मेदवार जित निकालेका छन् । तर केही क्षेत्रमा भने थोरै मतान्तरले मात्रै जित निकालेको अवस्था छ ।
झापा ५ मा रास्वपाका बालेन्द्र शाहले करिब ५० हजार मतान्तरले जितेका छन् । प्रतिशतका हिसाबले बालेन्द्र ५६.९७ प्रतिशत मतान्तरले विजयी भएका छन् । झापा २ मा रास्वपाकी इन्दिरा राणा मगरले ६८.१९ प्रतिशत मतान्तर अर्थात् ४८ हजार बढी मतले विजयी भएकी छन् ।अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवार ठुलो मतान्तरले विजयी भएको देखिन्छ ।
तर देशका केही क्षेत्रमा भने अत्यन्तै झिनो मतले मात्रै जित निकालेको अवस्था छ । बालेन्द्र शाहले ४९ हजार बढी मतले जित निकाल्दा कसैले ५ मतान्तरले पनि विजयी भएका छन् । तीमध्ये कम मतान्तरले हारजित भएका १५ क्षेत्रहरु यस्ता छन् ।

ओखलढुंगा–१
अहिलेसम्म मत परिणाम आएका क्षेत्र मध्ये सबैभन्दा कम मतान्तर ल्याएर रास्वपाले जित निकालेको क्षेत्र ओखलढुंगा बनेको छ । ओखलढुंगामा कांग्रेसका कुमार लुइँटेलले ५ मतको झिनो मतान्तरमा हार व्यहोर्नुपर्यो । उनलाई रास्वपाका विश्वराज पोखरेलले ५ मतले जित्न सफल भए । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा लुइँटेलले १३ हजार ९४८ मत ल्याएर दोस्रो बने ।
सिन्धुली–१
सिन्धुली–१ मा नेकपा एमालेका प्रदीप कुमार कटवाल क्षेत्री पनि झिनो मतान्तरले पराजित भए । कटवालले १५ हजार ८७५ मत पाउँदा रास्वपाका धनेन्द्र कार्कीले १६ हजार ६५९ मत पाए । यसरी हेर्दा कार्कीले कटवाललाई ७ सय ८४ मतान्तरले पराजित गरेका छन् ।
बागलुङ–२
बागलुङ–२ मा पनि झिनो मतले रास्वपाले जित निकालेको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका टेकराज पौडेल ७ सय ७९ मतान्तरले पराजित भए । उनलाई रास्वपाका उम्मेदवार सोम शर्माले १२ हजार ६४७ मत ल्याउँदै पराजित गरे । यता पौडेलले ११ हजार ८६८ मात्रै मत ल्याएका थिए।
गुल्मी–२
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्ट झिनो मतान्तरले पराजित भए । उनले विष्टले १६ हजार ९६७ मत ल्याए । तर रास्वपाका गोविन्द पन्थीले १६ हजार ४०६ मत ल्याएका थिए । यसरी गुल्मी २ मा ५ सय ६१ मतान्तरले रास्वपाले जित निकालेको छ ।
तेह्रथुम–१
तेह्रथुममा एमालेका सचिव भानुभक्त ढकाल झिनो मतान्तरले पराजित भए । रास्वपाका सन्तोष सुब्बासँग ८ सय ७९ मतान्तरले जित निकाले । ढकालले १० हजार ६८२ र सुब्बा ११ हजार ५६१ मत ल्याए ।
दैलेख–१
दैलेख क्षेत्र नम्बर १ मा पनि एमालेका उम्मेदवार रवीन्द्र राज शर्मा साँघुरो मतान्तरले पराजित भए । शर्मालाई कांग्रेसकी बासना थापाले ५ सय ७६ मतान्तरले हराइन् । उक्त क्षेत्रमा शर्माले ११ हजार ७९६ र थापाले १२ हजार ३७२ मत ल्याएकी थिइन् ।
बाजुरा–१
बाजुरा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार लालबहादुर थापा कम मतान्तरले पराजित भए । कांग्रेसका जनकराज गिरीसँग ५४० मतले उनलाई हराए । गिरीले १७ हजार १७३ मत ल्याएर विजयी हुँदा एमालेका थापाले १६ हजार ६३३ मत पाए ।
अछाम–१
अछाम क्षेत्र नम्बर १ मा कांग्रेसका भरतबहादुर स्वार विजयी भए । स्वारले नेकपाका भीम रावललाई ५२६ मतको अन्तरमा हराए । स्वारले १० हजार ७ सय ५९ मत ल्याउँदा रावलले १० हजार २ सय ३३ मत प्राप्त गरे ।
अछाम – २
सुदूरपश्चिम प्रदेश अन्तर्गतको अछाम २ मा पनि कम मतान्तरले हार–जित भएको छ । जसमा नेकपा एमालेका यज्ञ बहादुर बोगटीले ४७२ (२.५४) प्रतिशत मतान्तरले हराए । उनले ९ हजार ५१८ मत ल्याउँदा नेपाली कांग्रेस पुष्प बहादुर शाहले ९ हजार ४६ मत ल्याए ।
डोटी–१
डोटी क्षेत्र नम्बर १ मा एमालेका दीपकबहादुर धामी सानो मतान्तरले पराजित भए । उनी कांग्रेसका भरतबहादुर खड्कासँग ७८७ मतले पछि परे । खड्काले १४ हजार ८९७ र धामीले १४ हजार ११० मत लिए ।
ताप्लेजुङ
ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवेले विजयी हासिल गरेका छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा झिनो मतले नेपाली काँग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु पराजित भए । उनलाई थेवेले २२५१ मतले जिते । लिम्बुले ११ हजार ७११ मत ल्याउँदा थेवेले १३ हजार ९६२ मत ल्याएका थिए ।
भोजपुर
एक मात्रै निर्वाचन क्षेत्र रहेको भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । उनीसँग एमालेका सचिव शेरधन राई पराजित भए । शेरधनलाई राईलाई १ हजार ९१३ मतान्तरले हराए । श्रम संस्कृति पार्टीका राईले १६ हजार ६६३ मत ल्याउँदा एमालेका राईले १४ हजार ७५० मत ल्याए ।
पाल्पा–१
पाल्पा १ मा काँग्रेसका सन्दीप राना विजयी भएका छन् । उनले एमालेका नारायण प्रसाद आचार्य झिनो मतान्तरले हराए । उनले एमालेका आचार्यलाई १ हजार ५१७ मतान्तरले हराएका हुन । उनले १८ हजार ३३६ ल्याउँदा एमालेका आचार्यले १६ हजार ८१९ मत ल्याए ।
कालिकोट – १
कालिकोट १ मा नेपाली कम्युनिस्ट पार्टी महेन्द्र बहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) नगीन्द्र शाहीलाई हराए । उनले १ हजार ८७ (४.८६) प्रतिशत मतान्तरले हराए । नेकपाका साहीले ११ हजार ७३४ एमालेका शाहीले १० हजार ६४७ मत ल्याएका थिए ।
हुम्ला – १
कर्णाली प्रदेश हुम्ला १ मा पनि थोरै मतान्तरले हारजित भएको छ । जसमा नेपाली कांग्रेस जय पती रोकायाले नेकपाका दीपेन्द्र रोकायालाई हराए । नेकपाका रोकायालाई १ हजार ५५४ मतान्तरले हारे । कांग्रेसका रोकायाले ८ हजार ७९७ मत ल्याउँदा नेकपाका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत ल्याए ।















