काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिक तामाङको उम्मेदवारी खारेज हुने सम्भावना बढेको छ । उनको जर्मनीको स्थायी बसोबास अनुमति पत्र सार्वजनिक भएपछि उम्मेद्वारी खारेज हुने सम्भावना बढेको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ मा नेपाली नागरिक मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था भएपनि तामाङको जर्मनीको पिआर रहेको पाइएको छ। जर्मनीको पिआरलाई त्यहाँको नागरिक सरह मानिने भएकाले उनले नेपाली नागरिकता त्यागेको मानिनेछ ।
विदेशको स्थायी बसोबास अनुमतिपत्र (पिआर) लिएर नेपालमा राजनिती गर्न नपाइने कानुनी व्यवस्था भएपनि उनी धादिङको क्षेत्र नम्बर १ मा रास्वपाबाट चुनावी मैदानमा छिन् । उनले पिआर लिएको बिषय धेरै पहिला देखी नै बिबादमा आएको भएपनि प्रमाण भने सार्वजनिक भएको थिएन ।

निर्वाचनको अघिल्लो दिन उनले जर्मनीको पि आर लिएको प्रमाण सार्वजनिक भएको हो । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १४ मा विदेशी नागरिकले मतदान गर्न समेत नपाउने व्यवस्था गरिएको छ। ‘मतदान समेत गर्न नपाउने व्यक्ति उम्मेदवार मिल्ने कुरै हुँदैन,’ अधिवक्ता रामचन्द्र कोइरालाको भनाई छ ।
यो अवस्थामा उनको उम्मेदवारी सिधै खारेज हुने निर्वाचन आयोगको प्रावधानहरूबाट देखिन्छ । एमालेका नेता लालबाबु पण्डित सामान्य प्रसाशन मन्त्री भएका बखत कानुन नै बनाएर पिआर धारण गरेकालाई राजनिती गर्न निषेध गरेका थिए । अधिवक्ता कोइरालाका अनुसार निर्वाचन आयोगले आजै उनको उम्मेदवारी खारेज गर्नुपर्ने अबस्था रहेको छ ।

















