काठमाडौँ, नेपाल सरकारले त्यहाँ रहेका १७ लाखभन्दा बढी नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। बिहीबार काठमाडौँमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरी नेपालीको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको बताएको छ। मध्यपूर्वमा विकसित तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई सोहि ठाउँमा सुरक्षा दिएर राख्ने निर्णय समेत गरेको बुझिएको छ
प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने उल्लेख गर्दै तत्कालका लागि जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्नका लागि व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । सरकारले मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सम्बन्धित देशका नेपाली दूतावासलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न पनि निर्देशन दिएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि र इरानले त्यसको प्रत्याक्रमण गरेपछि मध्यपूर्वको स्थिति तनावपूर्ण बनेको छ।
मन्त्रीपरिषद बैठकबारेमा जानकारी दिँदै उनले भने, ‘अवस्था सामान्य छैन, अहिलेलाई सबै विमानस्थल बन्द छन्, कसैलाई फर्काउन र ल्याउन सकिँदैन, त्यसैले अहिले जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने विषयमा छलफल भएको छ, सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुको असुविधाबारे छलफल भएको छ ।’ क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको मन्त्री शर्माले बताए । मन्त्रालयले जारी गरेको ‘एडभाइजरी’ मा भनिएको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस् र आवश्यक सावधानी अपनाउनुहोस्। आफू रहेको स्थानका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्। सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्नुहोस्।’
यसैबीच मध्यपूर्वमा उत्पन्न भएको तनावपूर्ण अबस्थाका बारेमा पत्रकार सम्मेलनमा जानकारी दिँदै मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म त्यस क्षेत्रमा नेपाली नागरिक सुरक्षित रहेको र नेपाल सरकारले पनि पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको बताए। सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचनालाई जानकारीमा लिएर त्यसको पालना गर्न आग्रह गर्दै उनले यस किसिमको घटनाक्रमलाई सम्बोधन गर्न मन्त्रालयले ‘र्यापिड एक्सन टिम’ गठन गर्न लागेको जानकारी दिए।
मन्त्रालयका अनुसार मध्यपूर्व र आसपासका देशमा हाल १७ लाख २९ हजार २८८ जना नेपाली नागरिक छन्। जसमध्ये साउदी अरबमा ३ लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्स (युएई) मा ४ लाख ७८ हजार १४४, कतारमा ३ लाख ५७ हजार, कुवेतमा १ लाख ७५ हजार र ओमानमा २५ हजार नेपाली छन्। यस्तै बहराइनमा २८ हजार, जोर्डनमा ३ हजार, साइप्रसमा १७ हजार, इराकमा ३० हजार, लेबनानमा १ हजार ५००, इजरायलमा ६ हजार ५००, इरानमा ६ जना र इजिप्टमा ५०० जना नेपाली रहेको तथ्यांक छ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक पहल गरिरहेको बताए। उनले नेपाली नागरिकलाई घरभित्रै सुरक्षित रहन, आधिकारिक सूचना पालना गर्न र अप्ठ्यारो परेमा दूतावास वा मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरे। मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी श्रेष्ठले ८ वटा दूतावास र २ वटा कन्सुलर सेवामार्फत समन्वय भइरहेको जानकारी दिए।
काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली दूतावास र दोहास्थित राजदूतावाससँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरिएको छ। मध्यपूर्वको यो अवस्थाका कारण भिसा र टिकट लिई जान तयार रहेका र ट्रान्जिटमा रहेका नेपालीले सास्ती भोग्नुपरेको मन्त्रालयले जनाएको छ।















