पोखरा, नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी) बिचमा एकता गर्ने तयारी अगाडी बढेको छ । यहि फागुन २१ गतेको निर्वाचन अगाडि नै दुई पार्टी बिचमा एकता गर्ने तयारी गरिएको बुझिएको छ। दुई पार्टीबीचको एकताको तयारी गत पुष महिनामा नै भएपनि नेपाली काँग्रेस भित्रको आन्तरिक बिबादको कारण एकताको प्रक्रिया रोकिएकोमा अहिले आएर एकता प्रक्रिया पुनः सुरु गरिएको हो ।
नेपाली कांग्रेसको गत पुस १३ गते पार्टीका तत्कालिन कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको थियो । त्यही आह्वानपछि कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनको टोलीले कांग्रेसमा समाहित हुन चाहेको प्रस्ताव गत पुस १४ गते नै तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासामु देउवा निवास महाराजगन्ज पुगेर राखेको थियो ।
त्यसलगत्तै कांग्रेसमा उत्पन्न आन्तरिक बिबादका कारण एकताको प्रक्रिया समेत ओझेलमा परेकोमा सुशीलमान शेरचन नेतृत्वको कांग्रेस (बीपी)सँग कांग्रेस सभापति गगन थापाको पहलमा अहिले एकताको प्रयास भइरहेको बताइएको छ। नेपाली कांग्रेसका निर्वाचन समितिका संयोजक सिताराम केसी र नेपाली कांग्रेस (बीपी)का वरिष्ठ नेता कर्णबहादुर मल्लबिच पार्टी एकताका लागि भइरहेको छलफल अन्तिम चरणमा पुगेको बताइएको छ।
एकताका लागि छलफल भैरहेको र एकताको प्रक्रिया सुरु भएको जानकारी दिंदै नेपाली काँग्रेस बिपीका बरिष्ठ नेता मल्लले भने ‘हामी एकताको प्रक्रियामा छौँ, निर्वाचनअघि नै एकता गर्नेगरी कुराकानी अगाडि बढीरहेको छ ।’ निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि सोमबारसम्म मात्रै समय दिएकाले निर्वाचन अघि एकता गर्ने भए सोमबारसम्म गरिसक्नुपर्छ । नेता मल्लले अन्तिम प्रयास भइरहेकाले सम्भावना प्रवल रहेको बताए।















