Play

बदर मतको संख्या कम गर्न कास्कीमा पनि मतदाता शिक्षा अभियान, ३६५ मतदान केन्द्र र ३ लाख ८ हजार मतदाता

गुरुकुल खबर


पोखरा, यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्बाचन क्षेत्र रहेको कास्कीमा पनि तयारी तीव्र पारिएको छ । यस अगाडिका निर्बाचनमा हुने बदर मतको संख्या कम गर्ने उद्देश्यका साथ निर्बाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरेको जनाएको छ ।

पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउन गत फागुन ३ गतेदेखि शुरु गरिएको घरदैलो अभियान फागुन १७ गतेसम्म चल्नेछ । जिल्लाका ५ वटै पालिकाका ७२ वडामा स्वयंसेवकमार्फत नमुना मतपत्र देखाएर मतदान गर्ने तरिका सिकाइँदै छ ।

विसं २०७९ को निर्वाचनमा कास्कीमा ५ प्रतिशत मत बदर भएको थियो । त्यसबेला खसेको १ लाख ७८ हजार ८०६ मतमध्ये ८ हजार ४६४ मत बदर भएको कार्यालयले जनाएको छ । मतपत्रमा सही ठाउँमा छाप नलगाउने, गलत तरिकाले पट्याउने र कोठाभन्दा बाहिर छाप लगाउने जस्ता कारणले मत बदर हुने गरेको पाइएको छ । ‘विगतका निर्वाचनमा बदर मतको प्रतिशत बढी देखिएकाले यसपटक हामीले मतदाता शिक्षामा जोड दिएका हौँ,’ सूचना अधिकारी न्यौपानेले भने ।

कास्की जिल्लामा निर्बाचन सम्पन्न गर्न २ हजार १९० जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई शुक्रबार र शनिबार नियुक्ति पत्र वितरण गरेको छ । मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिन ३ जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ । कास्कीमा ३ वटा निर्वाचन क्षेत्रमा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र कायम गरिएको छ । कारागार र जिल्ला समन्वय समितिमा २ वटा अस्थायी मतदान केन्द्रसहित कुल ३६५ मतदान केन्द्र रहनेछन् ।

मतदानमा नखटिने कर्मचारीले जिससमा रहने केन्द्रबाट समानुपातिकतर्फ भोट हाल्न पाउनेछन् । कास्कीमा यसपटक मतदाताको संख्या ३ लाख ८ हजार ५७२ पुगेको छ । विसं २०७९ को निर्वाचनमा यहाँ २ लाख ९१ हजार ५६८ मतदाता थिए । चुनावका लागि १८ राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा ४४ पुरुष र ५ महिला उम्मेदवार रहेको कार्यालयले जनाएको छ ।

१६ फाल्गुन २०८२, शनिबार १०:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा