पोखरा, यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनले पोखरा महानगरपालिका वडा नम्बर २८ का विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट गरेका छन्।
भेटघाटका क्रममा रानाभाटले अब बन्ने सरकार नेपाली कांग्रेसको हुने र त्यसको नेतृत्व गगन थापाले गर्ने बिश्वास व्यक्त गरे । ‘गगन थापाको नेतृत्वमा समृद्ध नेपाल निर्माणको परिकल्पना पूरा गर्ने उद्घोषका साथ कांग्रेस अगाडि बढेको छ’, उनले भने ।
सोही अवसरमा कांग्रेस केन्द्रीय सदस्य केसीले सच्चिएको र सुध्रिएको कांग्रेस नै देश विकासको अन्तिम विकल्प भएको बताए । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाको विकाससँगै अब देशकै नेतृत्व कांग्रेसले गर्ने र विकासले गति लिने विश्वास व्यक्त गरे । यस्तै महासमिति सदस्य विकास लामा गुरुङले क्षेत्र नम्बर १ को उन्नतिका लागि सबै पक्ष मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिए ।
घरदैलोका क्रममा टोलीले काफलघारी, माझठाना, रैकर र स्यांखुदी लगायतका ठाउँमा मतदातासँग अन्तरक्रिया गरेको थियो । पोखरा २८ का सभापति विश्वरमण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसभापति रामबाबु भण्डारी, वीरबहादुर बुढाथोकी, निरोज लामिछाने, सागर अधिकारी र टीकाराम लामिछाने लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन वडा सचिव जीवन तिवारी र राजेश भण्डारीले गरेका थिए ।















