Play

पोखरा विमानस्थललाई सेतो हात्ती र भूतको विमानस्थल भनिएकोमा पोखराका मेयर आचार्यको आक्रोश

पोखराका आयोजनालाई नकारात्मक रुपमा हेर्ने बौद्दिक माफिया प्रवृति अन्त्य हुनुपर्नेमा जोड


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘सेतो हात्ती’ र ‘भूतको विमानस्थल’ जस्ता शब्द प्रयोग गरेर पोखराको अपमान गरिएको भन्दै आपत्ति प्रकट गरेका छन । पोखरामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा विमानस्थललाई लिएर प्रयोग गरिएका कतिपय शब्दावली प्रति गम्भीर असहमति प्रकट गर्दै कडा आक्रोश समेत व्यक्त गरे। काठमाडौंमा बस्ने अनि पोखराका आयोजनाहरूलाई नकारात्मक रूपमा मात्रै हेर्ने ‘बौद्धिक माफिया’ प्रवृत्ति अन्त्य हुनुपर्ने समेत मेयर आचार्यले जोड दिए ।

‘सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी’ (सेसिफ)ले पोखरामा आयोजना गरेको कार्यक्रममा विज्ञको रुपमा केहिको प्रस्तुतिलाई लिएर मेयर आचार्यले आक्रोश व्यक्त गरेका हुन । विज्ञहरूले विमानस्थललाई ‘सेतो हात्ती’ र ’भूतको विमानस्थल’ (घोस्ट एयरपोर्ट) को संज्ञा दिएपछि पोखरेली नागरिकको तर्फबाट बोल्दै मेयर आचार्यले यस्ता नकारात्मक शब्दले पोखराको पनिअपमान गरेको भन्दै यस्ता शब्द प्रयोग नगर्न सचेत गराए । ‘यो विमानस्थल पोखरेलीहरूले ५० वर्षसम्म संघर्ष गरेर, अनसन बसेर र आफ्नो पसिनाले सिञ्चित सम्पूर्ण जमिन दिएर बनाएको गौरवको आयोजना हो,’ उनले प्रश्न गरे, ‘यसरी एउटा प्राज्ञिक संस्थाले पोखरालाई नै बदनाम गर्ने गरी शब्दावली प्रयोग गर्न कुन आधारमा मिल्छ? के पोखरा सधैं काठमाडौंले हेप्ने ठाउँ हो ?’

विमानस्थलको असफलताको कुरा गर्दा यसको व्यस्तता र आन्तरिक उडानको पाटोलाई नियतवश लुकाइएको आरोप समेत लगाए । पोखरा विमानस्थल अहिले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ र काठमाडौं पछिको सबैभन्दा व्यस्त विमानस्थल पनि पोखरा बनेको छ । ‘पुरानो विमानस्थलमा अहिलेको विमानस्थलबाट ठुलो संख्यामा यात्रुले सेवा लिइरहेका छन र राति ११ बजेसम्म पनि विमानस्थल संचालन हुनेगरेको छ’  नेपालकै व्यस्त पोखरा विमानस्थललाई कुन आधारमा भूतको विमानस्थल भनियो ? मेयर आचार्यले आक्रोशित हुँदै प्रश्न गरे।

उनले अन्तर्राष्ट्रिय उडान सुरु हुन नसक्नुमा विमानस्थलका कर्मचारी वा प्राविधिक कारण नभई भू–राजनीतिक र कूटनीतिक समस्या जिम्मेवार रहेको बताए । उनले प्रधानमन्त्री तहबाटै भारतसँग हवाई रुट र उडानका लागि पहल हुनुपर्नेमा जोड दिए । ‘के दिल्लीबाट पोखरा सिधै उडान हुन सक्दैन ? पक्कै सक्छ, तर यो कूटनीतिक पहलको अभाव मात्र हो,’ उनले भने, ‘हामीले जति अपेक्षा गरेका थियौं, त्यति अन्तर्राष्ट्रिय यात्रु नहुनु एउटा पाटो होला, तर त्यसकै आधारमा सिंगो आयोजनालाई नै असफल भन्न मिल्दैन ।’

विमानस्थल निर्माणका क्रममा भएका भनिएका अनियमितता र भ्रष्टाचारका विषयमा छानबिन हुनुपर्नेमा भने उनले सहमति जनाए । तर, भ्रष्टाचारको बहानामा पोखरा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठाउनु गलत भएको उनको भनाई थियो । राज्यले खर्च गरेको २१ अर्ब रुपैयाँ ठूलो कुरा होइन, अरु थुप्रै सामान्य काममा पनि ऋण लिइएको छ । यो आयोजनालाई सही ढंगले चलाउन सरकारले ठोस नीति ल्याउनुपर्छ । उनले  राज्यले लिएको ऋण व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न कूटनीतिक संयन्त्र परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

कुटनीतिक र वित्तीय चुनौतीको चेपुवामा ‘पोखरा विमानस्थल’ 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः वर्तमान अवस्था र भविष्यको मार्गचित्र’ विषयमा ‘सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी’ (सेसिफ) ले मंगलबार पोखरामा आयोजना गरेको छलफलमा विज्ञहरुले कूटनीतिक ‘ब्रेकथ्रु’ र ऋणको पुनर्संरचना हुनुपर्ने कुरामा जोड दिएका छन  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कूटनीतिक र वित्तीय चुनौतीको चेपुवामा परेको कारण अन्तराष्ट्रिय उडान हुन् नसक्दा यसको दिगोपनामा प्रश्न उठिरहेको उनीहरुको भनाई थियो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट लिइएको २१५.९४ मिलियन अमेरिकी डलर अर्थात करिब २८ अर्ब रुपैयाँ ऋण र त्यसको ब्याज तिर्न विमानस्थलको आम्दानीले कठिन हुने भन्दै विज्ञहरुले पोखरा विमानस्थलको हालको आम्दानीले उक्त ऋण तिर्न २ सय ६ वर्ष लाग्ने तथ्यांक प्रस्तुत गरेका थिए । सेसिफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले विमानस्थल गम्भीर संरचनात्मक संकटमा रहेको बताउँदै यसलाई ‘सेतो हात्ती’ हुनबाट जोगाउन कूटनीतिक पहललाई तीव्रता दिनुपर्ने बताए ।

अनुसन्धाता सुरंगना राज्यलक्ष्मी राणाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार विमानस्थल निर्माणमा गम्भीर प्राविधिक त्रुटि र आर्थिक अनियमितता देखिएका छन् । सम्झौताविपरीत धावनमार्गको उचाइ घटाएर ठेकेदार कम्पनी सिएमसीलाई १.०६ मिलियन डलर गैरकानुनी फाइदा पुर्याइएको र त्यसकै कारण ठूला जहाजले ‘लोड पेनाल्टी’ व्यहोर्नु परेको उनले बताइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस आयोजनामा १४ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको दाबी गर्दै ५ जना पूर्वमन्त्री र १० जना पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थल सञ्चालन हुन नसक्नुमा नेपालको फितलो कूटनीति र केन्द्रिकृत मानसिकता जिम्मेवार रहेको आरोप लगाए । भारतले महेन्द्रनगर र नेपालगन्जको हवाई रुट दिन अस्वीकार गर्नु र चीनले यसलाई ’बिआरआइ’ परियोजनामा राख्नुले पोखरा समस्यामा परेको उनले बताए । उनले भने, ‘चीनका जहाज किनेपछि युरोपियन युनियनले नेपालको आकाशलाई ब्ल्याक लिस्टमा राखेको १४ वर्ष भइसक्यो, जसले गर्दा हाम्रो उड्डयन क्षेत्र धराशयी भएको छ ।’

चुनौतीका बाबजुद विमानस्थलमा सम्भावनाका ढोकाहरु अझै खुला रहेको विज्ञहरुको मत छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले ५ दशकको संघर्ष र पोखरेलीको सपनाको प्रतिफल यो विमानस्थल भएकाले सरकारले यसको ऋण व्यवस्थापन र अनुदानका लागि चीनसँग पहल गर्नुपर्ने बताए । उनले विमानस्थल सञ्चालनका लागि नागरिक स्तरबाट दबाब दिन एक ‘नागरिक समिति’ बनाउनुपर्ने प्रस्ताव गरे।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराम लामिछानेले विमानस्थलले आन्तरिक पर्यटनमा सुधार ल्याएको बताउँदै भारतका लखनउ, दिल्ली र देहरादुन जस्ता सहरबाट उडान सुरु गर्न सके पर्याप्त यात्रु मिल्ने दाबी गरे । उनले विमानस्थलको ऋण भुक्तानी अवधि १३ वर्षबाट बढाएर २५ वर्ष बनाउनुपर्ने र उच्चस्तरीय वैदेशिक भ्रमणमा पोखराका विज्ञहरुलाई पनि सामेल गराउनुपर्ने सुझाव दिए । संरक्षणकर्मी हेमन्त ढकालले पोखरा विमानस्थल क्षेत्रमा उडानका लागि चराको जोखिम कायम रहेको औंल्याए । उनले भने, ‘पहिले यो मांसहारी चराको राजधानी जस्तो थियो, अहिले पनि ती चरा आकर्षित हुनगरी फोहोर फालिएको छ । यसबाट आउन सक्ने जोखिमबारे सोचौं ।’

५ फाल्गुन २०८२, मंगलवार १९:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा