पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम चितवनका नेता दिनेश कोइरालाले नेपाली काँग्रेसले बिगतमा आँफुलाई कारबाही गरेको स्मरण गर्दै आँफुमाथि कारबाही गरिएको भन्दा यसपटक बढी दुखी भएको बताएका छन। जसले जे जे भनेपनि नेपाली काँग्रेस विभाजित भएकै हो भन्दै कांग्रेस नेता कोइरालाले कांग्रेसमा हाल देखिएका दुई पक्षले आधिकारिताको दाबि गरेपनि आधिकारिक पार्टी दुवै नरहेको जनाएका छन। उनले भनेका छन ‘आज पार्टी फुट्दा लाखौ कार्यकर्ता, मतदाता र शुभचिन्तकको आँशु बगेको छ । त्यो आँशु नै आधिकारिक पार्टी हो ।’
कोइरालाले पार्टीका नेताहरुसमक्ष तपाईंहरु हार्दा केहि नहुने तर कार्यकर्ता, पार्टी र देशलाई जिताउनुपर्ने कुरामा समेत जोड दिएका छन। ‘लाखौं कार्यकर्ता र भावना जित्न सकिएन भने जितको के अर्थ ? प्राविधिक बहुमतको के अर्थ ? त्यसैले अब हामी सबैजनाले हारिदिउँ । कार्यकर्ता समक्ष हारिदिउँ, जनता समक्ष हारिदिउँ। प्लिज शेरबहादुर र डा. शेखर दाई, प्लिज गगन र विश्व हार्न तयार भइदिनुस् । तपार्ईहरु सबैजनाले हारेर कार्यकर्तालाई जिताइदिनुस्, जनतालाई जिताइदिनुस्, देशलाई जिताइदिनुस् । प्लिज, प्लिज ।’
कांग्रेस केन्द्रीय सदस्य कोइरालाले आंफ्नो सामाजिक संजाल फेसबुकमा लेखेको छन..
साथीहरु,
आज सानेपा वैठकमा मैले आँशु थाम्न सकिनँ । विगतमा म पनि कारवाहीमा परें, निष्काशित भएँ । त्यसबेला धेरै दुःखी भएको थिएँ, तर आज त्योभन्दा धेरै दुःखी भएँ । मेरो आँशु रित्तिएको जस्तो लाग्न थाल्यो । छोरा मान्छे रुन हुँदैन भन्ने कतैकतै सुनेको थिएँ तर मन नथामिएपछि के गर्नु ?
म केही विनम्र आग्रह गर्दछु।
१) जसले जेजे भने पनि पार्टी फुटेकै हो, विभाजित भएकै हो ।
२) अब दुवै पक्षले आधिकारिक पार्टी आफ्ने भएको दावी गर्नेछ तर आधिकारिक पार्टी दुवै होइनन् । आज पार्टी फुट्दा लाखौ कार्यकर्ता, मतदाता र शुभचिन्तकको आँशु बगेको छ । त्यो आँशु नै आधिकारिक पार्टी हो ।
३) फुट्नमा कोको जिम्मेवार, कोको दोषी भन्ने चर्चा बहसको म अब केही अर्थ देख्दिनँ । आँशु बगाएर बसेका लाखौं कार्यकर्ता र शुभचिन्तकको आँशु पुछ्ने नै अब आधिकारिक पक्ष हो । हामी फुट्यौं, फुटेकै हौं । दोष एक आपसमा दिनुको अब केही अर्थ रहेन । अब जुटाउँछ कसले ? अब हाम्रो सरोकार यही हो । एक मात्र सरोकार यही हो ।
४) कांग्रेस भनेको पार्टी मात्र होइन, जीवन पद्धति पनि हो, संस्कृति पनि हो । तैपनि हामी फुट्यौं । फुटेको यो दुःखद घडीमा एक आपसमा आरोप प्रत्यारोप र गाली गलौज गर्ने काम कुनै हालतमा नगरौं । हामी कम्युनिष्ट होइनौं, सुसंस्कृत कांग्रेस हौं । तसर्थ, म फेरि पनि आग्रह गर्दछु, कुनै हालतमा विभाजनको रेखा गहिरो बनाउने काम नगरौं ।
५) म शेरबहादुर दाईले नेतृत्व छाड्नैपर्छ भन्ने पक्षमा थिएँ र छु । यो विषयमा आधिकारिक रुपमा बोलेको लेखेको पनि हो । जेन्जी आन्दोलनको स्वामित्व कांग्रेसले लिनुपर्छ भनेर सबैभन्दा पहिले भन्ने शायद म नै हो । म अब कसैलाई दोष दिन्नँ ।
६) हामी कांग्रेस दुईतिर भयौं, विभाजित भयौं । भएकै हौं । अब कसलाई दोष दिने ? दोष तपाईंको पनि हो, मेरो पनि हो, हामी सबैको हो । अब जो मिल्दैन, जो जुट्दैन, एकतामा जो आउँदैन उही दोषी हो । किन फुट्यौं ? अब यो कुरा छाडौं, अब मिलौं, मिल्नुको विकल्प छैन ।
७) प्रिय मित्रहरु, कुनै कुनै कुनै हालतमा पनि आपसी गालीगलौज नगरौं । नेता फुटेका हुन् कार्यकर्ता फुटेका होइनन्, विचार फुटेको होइन । वीपी कोइराला, सुबर्ण शंसेर,गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला,महेन्द्रनारायण निधि, शैलजा आचार्य , शेख इद्रिस, भूविक्रम नेम्वाङ, प्रदीप गिरी, भिमबहादुर तामाङ लगायतका हामा आदरणीय नेता साझा हुन् । हाम्रो विचार एउटै हो, वर्तमान एउटै हो, भविष्य पनि एउटै हो ? फुट्यौं किन ? आत्मसमीक्षा गरौं । आत्मसमीक्षामा अर्काे पक्षको होइन, आफ्नो पक्षको मात्र गल्ती खोजौं ।
८) झुकौं । झुकौं । झुकौं । हामी एक आपसमा झुक्नैपर्छ । कोसँग झुकेको ? आफू आफैसँग झुक्ने हो । शेरबहादुर , डा शेखर पूर्णबहादुर, विमलेन्द्र , कृष्णप्रसाद सिटौला, प्रकाशमानसँग झुक्न गगन थापा र विश्वप्रकाश शर्मालाई कुनै आपत्ति छ र ? तपाईंहरुकै प्रडक्ट हो त्यो गगन विश्व र विशेष महाधिवेशनमा सहभागी भएका साथीहरु, उनीहरुसँग झुक्न तपाईहरुलाई केको आपत्ति ? आफ्नै सन्तान सरह हुन् । यो वरवादी नगरौं । प्लिज, प्लिज, प्लिज, सबैजना सबैसँग झुकौं । हारजितको खेल नगरौं ।
९) निर्वाचन आयोग र अदालतमा वैधानिकता खोज्ने लडाईं अब हुने देखियो । निर्वाचन आयोग र अदालतमा कसैले जित्ला, कसैले हार्ला । राजनीति हारजितको मात्र खेल हो र ? हामी आफ्नो आदर्शका लागि जेलनेल भोग्न तयार भयौं, सर्वस्व गुमाउन तयार भयौं । हामी विचारले चलेका प्राणी होइनौं र ? कानुन संविधानको आधारमा हारजित होला, त्यो आफ्नो ठाउँमा होला ।
तर, लाखौं कार्यकर्ता र भावना जित्न सकिएन भने जितको के अर्थ ? प्राविधिक बहुमतको के अर्थ ? त्यसैले अब हामी सबैजनाले हारिदिउँ । कार्यकर्ता समक्ष हारिदिउँ, जनता समक्ष हारिदिउँ। प्लिज शेरबहादुर र डा. शेखर दाई, प्लिज गगन र विश्व हार्न तयार भइदिनुस् । तपार्ईहरु सबैजनाले हारेर कार्यकर्तालाई जिताइदिनुस्, जनतालाई जिताइदिनुस्, देशलाई जिताइदिनुस् । प्लिज, प्लिज ।
१०) कांग्रेस केन्द्रीय समिति सदस्यका रुपमा मलाई आज ग्लानी भइरहेछ, लज्जा भइरहेछ । हामीले के गर्यौं ? हामी सबैले हारेका छौं । पार्टी विभाजित हुँदा शेरबहादुर र शेखर, गगन र विश्व कसैले जित्छ र ? हामी लाखौं कार्यकर्ता र शुभचिन्तकले जित्छौं र ? झन् बढी एकताको खाँचो भएको बेला हामी विभाजित भएका छौं । यो विभाजनको दोषी र अभियुक्त म पनि हुँ, यो विभाजनको अभियोगमा मैले के सजाय भोग्नुपर्छ ? म तयार छु ।
दिनेश कोइराला – केन्द्रीय सदस्य, नेपाली काँग्रेस















