पोखरा, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले यहि पुष २७ र २८ गते काठमाडौँमा हुन लागेको पार्टीको बिशेष महाधिबेशनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काबा सभापति पूर्णबहादुर खड्का र बरिष्ठ नेता डा. शेखर कोइराला सहित सम्पूर्ण नेतागण सहभागी भएर विशेष महाधिवेशनलाई ऐतिहासिक वनाउन आग्रह गरेका छन। प्रदेश सभापति शर्माले भोलिबाट शुरु हुने कांग्रेसको बिशेष महाधिबेशनका सम्बन्धमा आंफ्नो धारणा भन्दै सार्बजनिक गरेको बिज्ञप्तीमा पार्टीका सबै नेतागण सहभागी भएर एतिहासिक बनाउन समेत उनले आग्रह गरेका छन ।
अघिल्लो महाधिबेशनमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका शर्मा पछिल्लो समय नेता कोइरालासंग निकट मानिन्थे। तर,यस पटक हुन् लागेको राष्ट्रिय सभा सदस्यको निर्बाचनमा पार्टीको तर्फबाट टिकट नपाएपछि उनि पार्टीका महामन्त्री गगन थापाको निकट हुन् पुगेका छन। राष्ट्रिय सभा सदस्यको निर्बाचनमा कांग्रेसले ९ जना उमेद्वार बनाएकोमा कोइराला निकटका ३ जना र बाँकी देउवा निकटका रहेको चर्चाले ब्यापकता पाइरहेको छ। आँफुलाई देउवा र कोइरालाले उमेद्वार बनाउन चासो नदिएको भन्दै उनि सभापति देउवाप्रति असन्तुष्ट देखिएका थिए।
महामन्त्री थापा भने चुनाबमा गठबन्धन नगर्ने पक्षमा रहेको र गठबन्धन नगर्दा नेकपा एमाले र नेकपा मिलेको अबस्थामा कांग्रेसले चुनब जित्ने अबस्था पनि थिएन। सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीसंग कुरा गरेर कांग्रेसका नौजनाले निश्चित बिजय प्राप्त गर्ने किसिमले गठबन्धन गरेको अबस्थामा पनि आंफुले टिकट नपाएको भन्दै शर्मा चिन्तित बनेका छन। त्यसमा पनि गण्डकी प्रदेशबाट कांग्रेसको उमेद्वार बनेका प्रजातन्त्रबादी प्राध्यापक संघका सभापति जगत तिमिल्सिना उमेदवार बन्ने प्रक्रियामा सामेल नभएको तर प्रक्रिया बिना नै तिमिल्सिनालाई उमेदवार बनाइएपछि शर्मा आक्रोशित बनेको बताइन्छ ।
यस्तै कारणले हुनुपर्छ बिभिन्न पांचवटा प्रदेशका सभापतिले नियमित महाधिबेशनको पक्षमा र बिशेष महाधिबेशनको बिपक्षमा बिज्ञप्ती सार्बजनिक गर्दा शर्माले सहभागिता जनाएका थिएनन्। शर्माले शनिबार एक अपिल सार्बजनिक गर्दै बिशेष महाधिबेशनमा सबै सहभागी हुन र आगामी चुनाबमा कांग्रेसका उमेदवारहरुलाई बिजयी गराउन बिशेष महाधिबेशनले निर्देशन दिनुपर्ने स्पष्ट पारेका छन ।
कांग्रेस नेता तथा प्रदेश सभापति शर्माले नेपाली काँग्रेस आंफ्नो जिबनकालको गम्भीर संकटमा फँसेको समेत बताएका छन। २०६१ सालमा शुरु भएर २०६२/६३ मा सकिएको तत्कालिन आन्दोलनको सफलातापछि प्रजातन्त्रको ठाउँमा लोकतन्त्र, समाजवादको ठाउँमा समाजवाद उन्मुख, सनातन धार्मिक स्वतन्त्रताका ठाउँमा निरपेक्ष, संवैधानिक राजतन्त्रका ठाउँमा गणतन्त्र राखेर अन्तरिम संविधान लेखिएको भएपनि यसको ब्यबस्थापनमा ध्या नपुर्याउन नसकेको भन्दै शर्माले तत्कालिन आन्दोलनको उपलब्धि धोकामा परिणत भएकोले सार्बजनिक रुपमा क्षमा माग्नुपर्नेमा समेत जोड दिएका छन ।
शर्माले जारी गरेको अबधारणा पत्रको पूर्ण पाठ
आज नेपाली काँग्रेस आफ्नो जीवनकालमा भयङ्कर संकटमा फसेको छ । जेनजी आन्दोलनपछि देश संकटको भूमरीमा छ, खरानी माथिवाट देशको भविष्य निर्धारण गरी देशलाई आश्वस्त पार्नुपर्ने वेला हो यो । त्यसैले आफू उभिएको स्थानवाट मुट्ठीभरी माटो साथमा राखी अन्तरआत्माले दिएको आवाजलाई निम्नानुसार यो विशेष महाधिवेशनमा प्रस्तुत गरी सार्वजनिक गरेको छु ।
सर्वप्रथम देशमाथिको यो संकट पार लगाउन सार्वभौम जनतालाई साथमा लिएर हिड्ने गरी विगतका कमी कमजोरीहरु नदोह¥याउने संकल्प साथ क्षमा माग्नु पर्दछ । नेपाली काँग्रेस र अन्य पार्टीहरुविचको भिन्नता अथवा कम्यूनिष्टहरु हामी फरक छौं । हामी राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रतामा विश्वास गर्छौ, त्यसैले सिद्धान्तत, व्यवहारत, कार्यगत रुपमा पनि भिन्न छौं । अरु पार्टीहरुले यो सिद्धान्त मान्दैनन् ।
०६१ सालको आन्दोलनको सफलतापछि प्रजातन्त्रको ठाउँमा लोकतन्त्र, समाजवादको ठाउँमा समाजवाद उन्मुख, सनातन धार्मिक स्वतन्त्रताका ठाउँमा निरपेक्ष, संवैधानिक राजतन्त्रका ठाउँमा गणतन्त्र राखेर अन्तरिम संविधान लेख्यौं । यसको व्यवस्थापनमा ध्यान पुर्याएनौं, परिणाम हेरेनौं, शासन गर्ने अधिकार नभएका व्यक्तिहरुको समूह “लोक” हो भ्रममा पारी तन्त्र थपेर आन्दोलनको उपलब्धिलाई धोकामा वदलिन पुगेको आजको अवस्था हो भन्ने महसुस गरेका छैनौं । तसर्थ, सार्वजनिक रुपमा क्षमा मागौं ।
जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दछौं । दिवंगत आत्माको चिरशान्तिको कामना, घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यसबाट भएको राष्ट्रिय क्षतिको उचित छानविन गरी क्षतिपूर्ति समेतको व्यवस्था मिलाउन विशेष महाधिवेशनले माग गरोस्। आसन्न निर्वाचनमा नेपाली कांग्रेसको पूर्ण एकताका साथ जनताका अपेक्षा अनुसार संकल्प बोकेर नेपाली कांग्रेसका तर्फबाट प्रस्तुत उम्मेदवारहरुलाई विजय गराउन यो विशेष महाधिवेशनले निर्देशन गरोस् ।
लामो समयदेखि हामीले गण्डकी प्रदेशका तर्फवाट नेपाली काँग्रेसको विरासतमा फर्कौं भनेर गरेको निर्णयहरुलाई कार्यान्वयन गराउन पट्टी ध्यान दिएनौं । विगत महासमितको वैठकमा १२ सय भन्दा वढी महासमिति सदस्यहरुले निरपेक्ष हटाएर सनातन धार्मिक स्वतन्त्रतामा फर्कन गरेको प्रस्ताव माथि छलफलसम्म पनि गरेनौं । नीतिमा, कार्यक्रममा नेतृत्व समेत आमूल परिवर्तको लागि उठने गरेका आवाजहरुलाई अल्पमत र वहुमत भनेर थन्क्यायौं ।
जीवन्त पार्टीले आफ्नो नियमित अधिवेशन सम्पन्न गराउने प्रथम कर्तव्यमा पर्ने विष्यलाई गर्ने, नगर्ने मत खडा गरेर महिनौं खर्चिने, गैरजिम्मेवार भएर पार्टी संचालन हुन सक्दैन भनि विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गराउन ५४ प्रतिशत महाधिवेशन प्रतिनिधीहरुले विधिवत माग गर्दा पनि अनेक वहानामा यस्लाई टाल्न प्रयास गरिराखिएको आजको अवस्थामा लामा–लामा त्याग, समर्पण, वलिदानीवाट जीवन्त नेपाली काँग्रेसलाई असफल वनाउन हुँदैन, पाईदैन भनेर विद्यमान संकटवाट पार लगाउन, भावी जिम्मेवारीमा संकल्पित भएर जुटन, देश, प्रजातन्त्र र खरानीको थुप्रोमा खडा भएर समृद्ध, सम्पन्न नेपाल निर्माण गर्ने, जिम्मेवार नेतृत्व निर्माण गर्ने लक्ष्यका साथ यही पौष २७ र २८ गते काठमाण्डौमा हुन लागेको नेपाली काँग्रेसको विशेष महाधिवेशनमा पार्टी सभापति, बरिष्ठ नेता डा.शेखर कोइराला सहित सम्पूर्ण नेतागण महाधिवेशनमा सहभागी भएर यो विशेष महाधिवेशनलाई ऐतिहासिक वनाउन हामी अपील गर्दछौं ।
नेपाली काँग्रेस वचाउँनु पहिलो काम हो, देशमाथि परेको संकटलाई पार लगाउन पनि इतिहासले फेरी एकपटक काँग्रेसको नेतृत्व खोजेको छ । तसर्थ, परिमार्जित, प्रशिक्षित देशको, जनताको सेवामा समर्पित नेतृत्व निर्माण यही विशेष महाधिवेशनवाट चयन गरौं, गुमेका हाम्रा विरासतहरु राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता (हिन्दु धर्म) पुनः वहाली गरौं, संवैधानिक नहुँदा फेरिएको संवैधानिक तन्त्रलाई पुनः वहाली गर्न देशमा क्रियाशिल सवै शक्तिहरुसंग विचार विमर्श गरौं, गणतन्त्रै हो भने पनि प्रतिक्रियावादीहरु ले उपयोग गर्न नसक्ने गरी व्यवस्थापन गरौं ।
अव ढिला भै सक्यो, देश निर्माणमा जुट्न, विदेशिएको हाम्रो जनशक्तिलाई जन्मभूमि निर्माणमा फर्कने गरी कानूनी, प्रशासनिक, व्यवहारिक झन्झटवाट मुक्त पारेर हामीसंग भएका भौतिक संरचनाहरु देशहितमा प्रयोग गर्ने गरी योजनाहरु वनाऔं। आध्यात्मिक मठ मन्दिरहरुको पुनः निर्माण गरी ध्यान साधना केन्द्रमा वदलौं । जडीवुटीको संवर्धन गरी विश्वमानव समुदायलाई स्वस्थ जीवन पद्धति प्रदान गरौं । शान्ति, स्वास्थ्य, मोक्ष दिन सक्ने नेपाललाई दाता मूलुक वनाऔं । भौतिक सम्पन्नताले निम्त्याएको हिंसा, वदला र अशान्तिले मानव समाज आक्रान्त छ ।
हाम्रो हिमालयको “वसुदैव कुटुम्वकम्, सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया” भन्ने सन्देश विश्वमानवको पहूँचमा पु¥याउने कार्य योजना तयार पारौं । नेपालवारे सवैले वुझ्ने गरी पाठ्य पुस्तक तयार पारौं, हाम्रा छोराछोरी हामीवारे, नेपालवारे, हाम्रा विरासतवारे पठन पाठन गराउने व्यवस्था गरौं, देश वन्छ, आजको संकट फेरी फर्कदैन । हामी जिम्मेवार देशभक्त, शासन गर्ने क्षमता भएका नागरिक, प्रजाको शासनको अगुवा भएर सवैको साथ लिएर चीरकालतक नेपालको अस्तित्व कायम राख्न सक्छौ । हामी कमजोर नहूँदा छिमेकीका दृष्टीमा प्रेमभावका साथ परस्पर समानतका आधारमा नेपाली भएर वाँच्न, देश चलाउन सक्छौं, आन्दोलनको अव उप्रान्त आवश्यता रहँदैन, केवल केवल देश, प्रजातन्त्र …।
नेपाली काँग्रेस गण्डकी प्रदेशका यी विषयहरुलाई यो विशेष महाधिवेशनले आफ्नो निर्णय प्रक्रियामा समावेश गरी नेपाली काँग्रेसको नीति, सिद्धान्त वनाओस, हाम्रो विधानमा आमूल परिवर्तनको खाँचो छ, ठूला ठूला दस्तावेज कम्यूनिजम् पद्धतिमा हुने गर्छन्, प्रजातन्त्रमा सटिक, छोटो, दोहोरो अर्थ नलाग्ने नीतिद्वारा नेता, कार्यकर्ता निर्देशित हुने, परिचालित हुने व्यवस्था हुन्छ, कार्य व्यवस्था आकर्षक, भरपर्दो, सेवा प्रदायक हुन्छ । तर लोकतन्त्रमा ठिक उल्टो नेता मालिक, कार्यकर्ता दास र जनता रैती हुने आजको पद्धति पनि नास हुन्छ । पार्टीमाथिको आजको संकटवाट पनि हामी मुक्त हुन्छौं । नेताहरु सम्मानीत हुन थाल्दछन्, कार्यकर्ता ईमान्दार पार्शद हुन्छन्, जनता मालिक वन्दछन्, शासनमा वस्नेहरु सेवक भएर सत्ता संचालन गर्दछन् । जय नेपाल ।
प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता- देश निर्माण गर्ने अचुक अस्त्र”
नेपाली कांग्रेस गण्डकी प्रदेश प्रथम सम्मेलनबाट पारित अवधारणामा उल्लेख भएका नाराहरुः
“विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं, ईमान भएकाहरुलाई जिम्मेवारीमा राखौं,
“भ्रष्टचारबाट पार्टीलाई बचाऔं, कांग्रेसी चरित्र पुनः स्थापित गरौं ।”
“शिक्षामा आमूल परिवर्तन गरांै, नैतिक र प्राविधिक शिक्षामा जोड दिऔं ।”
“लगानी भित्र्याऔं, कृषि उत्पादन गरी आत्मनिर्भर बनौं, रोजगारी बृद्धि गरौैं ।”
शुक्रराज शर्मा
सभापति
नेपाली काँग्रेस गण्डकी
















