पोखरा, सामाजिक संजाल र बिभिन्न संचार माध्यमबाट हिँसा भड्काउने किसिमको अभिव्यक्ति दिंदै आएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो ।
भुषाललाई हामीले नियन्त्रणमा लिएका छौं अहिले मेडिकल गराउन अस्पताल पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले डा. भुषाललाई पक्राउ गरेर परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा लगिएको जानकारी दिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलवार उनलाई गोरखामा नियन्त्रणमा लिएको र स्वास्थ्य परिक्षण पछि काठमाडौँ लगिने बुझिएको छ ।
डा. भुसालले यहि कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
सामाजिक सञ्जालमा त्यस्तो अभिव्यक्ति दिएपछि नेकपा एमालेका केहि नेतासहित नेपाली काँग्रेस सम्बद्ध तरुण दलका केहि नेताले भुसालको समूहलाई प्रतिकारको चेतावनी दिएका थिए ।
दुवैपक्षबाट उत्तेजक अभिव्यक्ति आएपछि सम्भावित मुठभेद हुन नदिनको लागी भुसाललाई नियन्त्रणमा लिइएको प्रहरी अधिकृतहरू बताउँछन् । यसअघि गत असोज २३ मा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएको बताइएको छ ।
त्यसपछि पनि उनको विवादित अभिव्यक्ति रोकिएको छैन । जेनजी प्रदर्शनमा ओली, लेखक र प्रजिअले सर्वसाधारणको ‘हत्या’ गरेको अभिव्यक्ति दिँदै भुसालले उनीहरूको घर घेरेर कारबाही गर्ने अभिव्यक्ति दिएका थिए ।















