पोखरा, शुक्रबार रातिदेखिको परेको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानको सडकमा आवतजावत अबरुद्ध भएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधनको आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ। लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ ललितपुरको बागमती गाउँपालिका–३ टाकुचेमा खसेको पहिरोले आवात–जावत बन्द छ ।
यसैगरी फर्पिङ–सस्नेरी अन्तरगत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द गरिएको छ । बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुङ्गामा खसेको पहिरोका कारण सवारी आवागमन बन्द भएको छ ।
यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिएको र धुलिखेल खावामा र ५४ किलोमा पहिरोका कारण आवतजावत पूर्ण रूपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलमा पहिरो जाँदा आवतजावत बन्द भएको प्रवक्ता सुवेदीले जानकारी दिए।
धादिंग सडक खण्डको १६ स्थान पहिरोको जोखिममा
वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् । धादिंगमा जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले राजमार्गमा यात्रा गर्न सकिने अवस्था नभएकाले आआफ्नो स्थानमा सुरक्षित रहन आग्रह गर्नुभयो । उनले सबैभन्दा बढी जोखिम बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा देखिएको बताए । यस्तै, झ्याप्ले खोला (पुरानो पहिरो क्षेत्र), सुरुङ मार्ग, चार किलो (बाटो भासिएको), सात किलो, कमेरे भिर, महेश दोभानमा, चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर, हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर र लाल्टिन बजारमा पहिरोको उच्च जोखिम रहेको छ ।
विपद् व्यवस्थापन टोलीका अनुसार अन्य जोखिमयुक्त स्थानमा पनि वर्षा बढेपछि तत्काल पहिरो जाने खतरा छ । हाल पहिरोमा रोकिएका सवारीसाधनलाई पहिरो पन्छाउदै गन्तव्यतर्फ पठाइएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सवारीसाधनलाई जोखिम क्षेत्र प्रवेश गर्न रोक लगाइएको र आपतकालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको जानकारी दिए ।
देशभर दुई दिन सार्बजनिक बिदा
देशका बिभिन्न भागमा भारी बर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ गते आइतबार र २० गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
पछिल्ला दिनमा लगातार वर्षा भइरहेको र अझै असोज २० गतेसम्म तीव्र वर्षा जारी रहने पूर्वानुमान भएकाले बाढी, डुबान, भूक्षय र सडक तथा हवाई यातायात अवरुद्ध हुने जोखिम बढेको छ। त्यस्ता सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। दसैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला दुई दिन बिदा थप गरिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपालभरका सबै कार्यालय, संस्था र निकायमा सार्वजनिक बिदा रहनेछ।’
यस्तै सरकारी निकायले नागरिकलाई सम्भावित विपद् जोखिमलाई ध्यानमा राखी अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा रहन र सरकारी सूचना तथा निर्देशनअनुसार आचरण गर्न आग्रह गरे छ। सरकारले वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता जोखिमबाट नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न सबै तहका प्रशासनिक र सुरक्षात्मक निकायहरूलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइसकेको छ।
बागमती नदीमा जलसतह खतराको तह भन्दा माथि
यसैबबीच काठमाडौं र ललितपुर क्षेत्र हुँदै बग्ने बागमती नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ। बागमती नदीस्थित मनोहरा र खोकना जलमापन केन्द्रमा शुक्रबार साँझ पानीको सतह लगातार बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नदीको बहाव तीव्र बढ्दै गएर खतरा तह नाघिसकेको हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ ।
ललितपुरमा २५ जनाको बिशेष उद्वार टिम
ललितपुरस्थित नदी/खोला किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । शुक्रवार रातिदेखि परेको अविरल वर्षाको कारण पानीको बहाव बढेसँगै किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए। मनोहरा, कर्मनाशा तथा नख्खु खोला र बागमती नदी किनारका बासिन्दालाई अन्यत्र स्थानान्तरण गरिएको हो ।
लगातार वर्षा भएसँगै सम्भावित जोखिम न्यूनीकरण गर्न ललितपुर प्रहरीले विशेष उद्धार टोली तयार गरेको छ । नेपाल पर्वतारोहण संघ र पर्वतीय उद्धारमा सक्रिय नारा र एनएनएमजीएसँगको सहकार्यमा २५ जनाको विशेष उद्धार टिम तयार गरिएको एसएसपी बोगटीले बताए । उनले भने, ‘विशेष उद्धार टिमलाई तत्काल घटनास्थलमा परिचालन गर्नेगरी जावलाखेलमा तयारी अवस्थामा राखिएको छ ।’















