पोखरा, आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिनमा आज बिहिबार देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा गरिन्छ । यसैक्रममा पोखराको बिन्दुबासिनी, तालबाराही, भद्रकाली, अकलादेबी लगायतका धार्मिक स्थल एबम शक्तिपीठहरुमा बिहानै देखि भक्तजनहरुको भिड लागेको छ ।
पौराणिक मान्यताअनुसार सम्पूर्ण ब्रह्माण्डमा व्याप्त जीवित तथा निर्जीव तत्त्व सबै देवी कुष्माण्डाकै कृपाले उत्पन्न भएको हो। सृष्टिको आरम्भ यिनै माताको शक्तिबाट भएको विश्वास गरिन्छ। आफ्नो बलले अण्ड (ब्रह्माण्ड) उत्पन्न गर्न सक्ने भएकाले देवीलाई कुष्माण्डा भनिएको हो।धार्मिक ग्रन्थअनुसार सृष्टि रचना हुनु अघि चारैतिर अन्धकार मात्र रहेको समयमा यिनै देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको सृष्टि गरेकी थिइन्। त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरूपा र आदिशक्ति भनिन्छ।
कुष्माण्डा मातालाई अष्टभुजा पनि भनिन्छ। यिनको आठवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, गदा र सिद्धि–निधि प्रदान गर्ने माला रहेका छन्। सिंह यिनको वाहन हो। धार्मिक मान्यताअनुसार देवीले सूर्य भगवानलाई आफ्नो तापशक्ति दिई प्रज्ज्वलित बनाएर सौरमण्डल र अन्य ग्रहहरूको समेत रचना गरेकी थिइन्।
कुष्माण्डा देवीलाई कुभिण्डो (कूष्माण्डा) प्रिय लाग्ने भएकाले मन्दिर तथा शक्तिपीठमा कुभिण्डोको बलि दिने परम्परा छ। कुभिण्डो उष्ण वातावरणमा हुर्किने तर शीतल गुण भएको फल भएकाले यसलाई देवीको प्रतीक मानिन्छ। कुष्माण्डा देवी सूर्य मण्डलमै वास गर्ने भएकाले यिनको शरीर सूर्य जस्तै देदिप्यमान मानिन्छ। भक्तिपूर्वक पूजाआजा गर्दा आयु, यश, बल, आरोग्य र बुद्धिको वृद्धि हुने धार्मिक विश्वास छ। मालपुवा प्रसाद चढाइने चलन पनि रहेको छ।
आज देशभरका शक्तिपीठ र नवदुर्गा मन्दिरहरूमा कुष्माण्डा देवीको दर्शन र पूजाका लागि भक्तजनहरूको ठुलो भीड लागेको छ।















