Play

सरकारी कार्यालयहरुबाट सेवा दिने क्रम शुरु, महानगरका क्षतिग्रस्त वडाहरुमा सरसफाई

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका कास्की जिल्लाका बिभिन्न सरकारी कार्यालयहरु र पोखरा महानगरपालिका सहित बिभिन्न वडा कार्यालयहरु बिस्तारै संचालनमा आउन थालेका छन कास्की जिल्लाका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगलागी भएपछि ठप्प बनेका सेवाहरु क्रमशः पुनः सञ्चालनमा आउन थालेका छन् ।

कास्की जिल्ला प्रशासन कार्यालयले सामान्य सरसफाइ र मर्मतपछि आंशिक रूपमा सेवा सञ्चालन थालेको छ । मुद्दा दर्ता, शान्ति–सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अत्यावश्यक सेवा खुलाइएको कार्यालयले जनाएको छ । अन्य सेवाहरू क्रमिक रूपमा सञ्चालन गरिँदै जाने बुझिएको छ ।  अचानक सेवामा अवरोध भएपछि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता सेवाग्राही प्रभावित भएका छन् । ध्वस्त संरचनाको पुनर्निर्माणका लागि संघीय सरकारसँग समन्वय भइरहेको बताइए पनि क्षतिको परिमाणबारे आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले सरसफाइपछि आंशिक सेवा सुरु गरेको जनाउँदै पूर्ण रुपमा सेवा सञ्चालन गर्न समय लाग्ने उल्लेख गरे । उनले भने, ‘करिब शून्यबाट सेवा सुरु गर्नु छ, सरसफाइ सकेर अत्यावश्यक सेवा दिन सुरु गरेका हौँ ।’

आगलागीबाट भवन र कागजातमा क्षति पुगेको कास्की जिल्ला अदालतले आइतबारदेखि आंशिक सेवा सुरु गरेको छ । अदालतको पूर्ण बैठकले गरेको निर्णय अनुसार म्याद थप, पक्राउ पुर्जी स्वीकृत वा जारी गर्ने, बन्दी प्रत्यक्षीकरणका निवेदन र अभियोगपत्रसहित उपस्थित गराइएका प्रतिवादीहरूको थुनछेक मात्र हुने व्यवस्था मिलाइएको छ ।

मालपोत कार्यालय कास्कीमा भने सेवा सुरु हुने समय अझै अनिश्चित बनेको छ । तोडफोड र आगलागीका कारण मोटर, कम्प्युटर, रोखा, फोटोकपी मेसिनसहितका उपकरणमा क्षति पुगेकाले आवश्यक मर्मत सम्पन्न नभएसम्म सेवा सुरु गर्न नसकिने कार्यालयले जनाएको छ ।

पोखरा महानगरले बैकल्पिक स्थानबाट सेवा दिने, वडा कार्यालयहरुमा पनि सरसफाई 

यसै गरि जेन–जीको प्रदर्शनमा प्रमुख प्रशासकीय भवन जलेर नष्ट भएपछि पोखरा महानगरपालिकाले असोज १ गतेदेखि वैकल्पिक कार्यालय मार्फत सेवा दिने भएको छ । महानगरले सूचना जारी गर्दै विभिन्न शाखा–महाशाखाका सेवा अन्य कार्यालयमा सारिएको जानकारी दिएको छ ।

पोखराको  शान्ति वन बाटिका नजिक रहेको दमकल कार्यालयबाट मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित सार्वजनिक लेखा समिति, कानुन महाशाखा, सरसफाइ र सूचना प्रविधि शाखाको काम हुनेछ ।

सेवाग्राहीको भीड हुने प्रशासन, राजस्व, सहरी विकास, भण्डार, तथ्यांक, विपद् व्यवस्थापन, अभिलेखीकरण, पञ्जीकरण, लेखा र महानगर प्रहरी शाखा भने पोखरा सभागृहबाट सञ्चालन गरिनेछ । शिक्षा महाशाखा रहेको भवनबाट आर्थिक प्रशासन र कोष प्रशासन शाखा पनि चल्नेछन् भने सामाजिक विकास महाशाखा हालकै ठाउँमै रहनेछ ।

पूर्वाधार विकास महाशाखाबाट योजना, आलेप, भूमि प्रशासन र खरिद शाखा सञ्चालन हुने र आर्थिक विकास महाशाखाबाट सहकारी, श्रम तथा रोजगार र व्यवसाय प्रवद्र्धन केन्द्रका काम गरिने महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार असहज अबस्था कायम रहेपनि नागरिकको सेवा अवरुद्ध हुन नदिन वैकल्पिक व्यवस्थाबाट काम सुरु गरिएको हो ।

बिभिन्न वडा कार्यालयहरुमा भएको तोडफोड र आगजनीका कारण पुगेको क्षतिको आंकलनसंगै वडा कार्यालयहरु सफाइको क्रमपनि चलिरहेको छ । सोमबार बिहान र दिउसो पोखरा बजारका धेरैजसो वडा कार्यलयहरुमा स्थानीय सर्बसाधारणको उपस्थितिमा सरसफाई गरिएको थियो ।

पोखरा -५ को वडा कार्यालयमा १ करोड बढीको क्षति 

पोखरा महानगरपालिका -५ को मालेपाटनस्थित वडा कार्यालयमा भएको तोडफोड र आगजनीको कारण एक करोड रुपैया भन्दा बढी क्षति भएको वडाध्यक्ष बिष्णुप्रसाद बरालले गुरुकुल खबरलाई जानकारी दिए । उक्त वडा कार्यालय भवन केहि महिना अगाडी मात्र आधुनिक र सुबिधा सम्पन्न स्वरुपमा बनाइएको थियो ।

करिब ६ करोड रुपैया खर्च गरेर बनाइएको उक्त वडा कार्यालयको मर्मत सुधार गरेर केहि समयमा सोहि भवनबाट सेवा संचालन गरिने भएपनि हाल भने पुरानो वडा कार्यलयबाट सेवा सुचारु गरिने वडाध्यक्ष बरालले जानकारी दिए।

३० भाद्र २०८२, सोमबार ११:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा