Play

सम्बाद र एकताको बाटो अहिलेको विकल्प, अब जवाफदेही र पारदर्शी भएर काम गरौँ- म्रुख्यमन्त्री पाण्डे

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प भएको बताउंदै राष्ट्रपति रामचन्द्र पौडेलले अगाडी बढाएको संवादको पहललाई स्वागत गरेका छन ।

केहि दिनदेखि दुबईको भ्रमणमा रहेका गण्डकीका मुख्यमन्त्री पौडेलले प्रेषित गरेको बिज्ञप्तीमा राष्ट्रपतिले गरेको पहललाई सफल बनाउन राजनीतिक दल,नागरिक समाज, सञ्चार जगत लगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य रहेको समेत उल्लेख गरेका छन । उनले पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत राजनीतिक दलका नेताहरूमाथि भएको अमानवीय आक्रमणप्रति गहिरो खेद व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

मुख्यमन्त्री पाण्डेले आगामी दिनमा भने जिम्मेवार, जवाफदेही र पारदर्शी भएर काम गर्ने प्रतिबद्दता व्यक्त गर्दै भनेका छन, “यो घटनाक्रमले राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य पारेको छ । अब हाम्रो जिम्मेवारी भनेको जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा अघि बढाउनु हो।”

मुख्यमन्त्री पाण्डेको बिज्ञप्तीको पूर्ण पाठ

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू एवम् गण्डकी प्रदेशवासी नागरिकहरू !

गत भाद्र २३ र २४ गतेका दिन Gen-Z युवाहरूले गरेको आन्दोलनका क्रममा जीवन गुमाउनुहुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु।

देशमा भदौ २३ गते भएको मानवीय क्षतिको पीडामाथि भदौ २४ गते सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षतिले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ । संघिय संसद भवन, सिंहदरबार परिसर, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेशसभा भवन,प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, सरकारी कार्यालय-निवास, नीजी सम्पत्ति लगायतका संरचनामा पुगेको क्षति अत्यन्त दुःखद र निन्दनीय छ ।

यसैगरी, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत राजनीतिक दलका नेताहरूमाथि भएको अमानवीय आक्रमणप्रति गहिरो खेद व्यक्त गर्दै घोर निन्दा गर्दछु । साथै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस्तो विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । सम्माननीय राष्ट्रपतिज्यूले अघि बढाउनुभएको संवाद पहललाई गण्डकी प्रदेश सरकार हार्दिक स्वागत गर्दछ । यो पहललाई सफल बनाउन राजनीतिक दल,नागरिक समाज, सञ्चार जगत लगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य छ ।

युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी छ ।

भदौ २३ को अत्यधिक बल प्रयोग र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न आवश्यक छ भन्नेमा म दृढ छु । शान्तिपूर्ण आन्दोलनको नाममा घुसपैठ गरी नियोजित विध्वंस गर्ने प्रवृत्ति अस्वीकार्य छ र यसको कठोर निन्दा गर्दछु ।

यो घटनाक्रमले राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य पारेको छ । अब हाम्रो जिम्मेवारी भनेको जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा अघि बढाउनु हो । नेपाली समाजको विशिष्ट चरित्र ‘सामाजिक एकता र सद्भाव’ हो, जसलाई अझ बलियो बनाउँदै हामीले नयाँ बाटो पहिल्याउनुपर्ने घडी आएको छ ।

युवापुस्ताको उत्साह, आम नागरिकको अपेक्षा र लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्दै, गण्डकी प्रदेश सरकार ‘घर जलेपछिको खरानीलाई जग र जरैदेखि बलियो बनाउन पुँजीको रूपमा’ लिँदै शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

धन्यवाद ।
जय नेपाल !
सुरेन्द्रराज पाण्डे
मुख्यमन्त्री
गण्डकी प्रदेश सरकार
दिनाङ्क: २०८२ भाद्र २५ गते, बुधबार

२६ भाद्र २०८२, बिहीबार २०:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा