पोखरा, जेनजीको नाममा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले पोखराको गैरापाटनमा रहेको कास्की जिल्ला प्रहरी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका छन् ।
बजारको बिच भागमा रहेको जिल्ला प्रहरी कार्यालयमा रहेका प्रहरीहरुले बल प्रयोग गर्दा अप्रिय घटना हुन सक्ने भएकोले पनि सम्भावित जोखिम हुन् नदिन प्रहरीले आफ्नो कार्यालय नै छोडेर बाहिरिएको थियो।

त्यसपछि प्रदर्शनकारीहरुले कार्यालय भित्र प्रवेश गरि त्यहाका केहि सामान बाहिर निकालेर आगो लगाएका थिए एक युवाले कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाको नेमप्लेट रहेको पोशाक लगाएर बाहिर प्रदर्शनमा निस्केका थिए।
साँझ करिव ५ बजेदेखि प्रहरी र प्रदर्शनकारीको झडप भएकोमा करिव साढे आठ बजे उक्त कार्यलयबाट प्रहरी बाहिरिएसंगै प्रदर्शनकारीले कार्यालय कब्जामा लिएर आगो लगाएका हुन्।
करिब १ हजार कैदीबन्दी भगाइयो
यसैगरी जेनजी युवाको सहयोगमा कास्की कारागारमा रहेका सबै कैदीबन्दीलाई बाहिर निकालिएको छ । जेनजी प्रदर्शनकारीले कारागार तोडे पछि भित्र रहेका कैदीबन्दी त्यहाँबाट भागेर आफ्नो गन्तब्य तर्फ लागेका थिए ।
जेनजी आन्दोलनकारीले कारागार नजिक रहेका सबैजसो सरकारी कार्यालयहरू जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने हल्ला सार्बजनिक भएसंगै सुरक्षा ब्यबस्था कडा पारिएको थियो ।
मंगलवार बेलुकापख जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतको भनाई छ । जेनजीको नाममा आएका प्रदर्शनकारीहरुले कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिट समेत गरेको र कैदीबन्दीलाई भगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

‘आन्दोलनकर्मीहरु भित्र छिरेर तोडभोड गरे र भित्रबाट कैदीबन्दी पनि उत्रिएपछि कारागार तोडेर भागेका हुन्’ जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले भने । कास्की कारागारभित्र ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना गरि ९ सय ८१ जना कैदीबन्दी रहेका थिए ।














