पोखरा, काठमाडौँको नयाँ बानेश्वरमा आयोजित जेनजीको प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । कतिपयले हाल सम्म ९ जनाको मृत्यु भएको बताए पनि कतिपयले मृत्यु हुनेको संख्या १४ जना सम्म पुगेको समेत उल्लेख गरेका छन। हाल सम्म लम्तिमा १२ जनाको मृत्यु भएको बिभिन्न संचार माध्यमले जनाएका छन। बिभिन्न अस्पतालहरुमा घाइतेहरुको संख्या उल्लेखनीय रहेकोले त्यो संख्या अझ बढ्न सक्ने अनुमान पनि गरिएको छ ।
विभिन्न अस्पतालमा करिब १ सय २५ जना घाइतेको उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार सिभिल अस्पतालमा मात्रै ५० जना घाइते उपचाररत छन् । सोही अस्पतालमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा १४ जना घाइते पुगेका छन्, जसमा दुई जना गम्भीर अवस्थामा छन् । त्यसमध्ये एक जनाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा १३ जना घाइते पुगेका छन् भने एक जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ४० जना घाइतेलाई भर्ना गरिएको छ, जहाँ पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै, पाटन अस्पतालमा दुई, बी एण्ड बी अस्पतालमा एक, भेनस अस्पतालमा दुई (प्रहरी ओमबहादुर राणा र दिपक सिजाली) र बयोदा अस्पतालमा एक महिला उपचाररत छन् । घाइतेमध्ये सात जना प्रहरी र दुई जना सशस्त्र प्रहरी (एपीएफ) पनि रहेका छन् ।
सुनसरीमा पनि गोली चल्यो
सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो । इटहरी उपमहानगरपालिकाभित्र रहेका प्रदर्शनकारीलाई लक्षित गरी हवाई फायर गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि हवाई फायर र लाठी चार्ज भएको हो उनका अनुसार अवस्था नियन्त्रणका लागि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको छ ।
काठमाडौँमा कर्फ्यु
जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। प्रदर्शनकारीहरु निशेधित क्षेत्र तोड्दै संसद भवनभित्र समेत घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।
पोखरामा पनि निषेधाज्ञा

जेन जीको आन्दोलन चर्कंदै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा निषेधाज्ञा जारी गरेको छ । प्रहरी घेराभित्र रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोडका साथै आगजनी प्रयास भएपछि सहिदचोक आसपासमा निषेधाज्ञा आदेश जारी गरिएको हो ।कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित सूचनाअनुसार, २०८२ असार २३ गते दिउँसो २ बजेदेखि लागु हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (एक) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।
पोखरामा झडप पछि गोली चल्यो, चारजना घाइते
पोखराको नयाँसडक, चिप्लेढुंगा र पृथ्वीचोक लगायतका क्षेत्रमा प्रदर्शन गर्दै शहिदचोक पुगेको प्रदर्शनकारीहरुको समुहले मुख्यमन्त्री कार्यालय वरपर घेराउ गरेको थियो। त्यसपछि प्रदर्शनकारीहरुको उक्त समुहले सडकमा पार्किंग गरेर राखिएको खानेपानी कार्यालयको सरकारी गाडी तोडफोड र मुख्यमन्त्री कार्यालयमा पनि तोडफोडको प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयको उत्तर मासबार तर्फ अगाडी बढेपछि प्रहरीले चलाएको गोलि लागेर एकजना युवा गम्भीर घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन। मासवारको पुस्करेश्वर महादेव मन्दिर तर्फबाट हानेको गोलि लागेर श्रीकृष्ण माबिको गेट नजिक रहेको फलफुल पसल अगाडी रहेका एक युवा गम्भीर घाइते भएको बुझिएको छ। पोखराका बिभिन्न स्थानमा घाइते भएका चार जनाको उपचार स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भैरहेको बताइएको छ।

उनलाई तत्काल उपचारको लागि अस्पताल पठाईएको भएपनि उनको अबस्थाबारेमा जानकारी प्राप्त हुन् सकेको छैन। मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलि लागेर घाइते भएकालाई प्रदर्शनकारीले उपचार गराउन अस्पताल लगेको बुझिएको छ। घाइतेकाे पहिचान खुल्न बाँकी छ ।
घट्नाका बारेमा प्रहरीले पृष्टी गरेकाे छैन तर भिडीयोमा भने पृष्टी भएकाे छ । उनलाई गोलि लागेको ठाउँमा रगत बगेको देखिएको छ। प्रदर्शनमा सहभागी कतिपय युवाहरुले केहि सिमित व्यक्तिहरुका कारण प्रदर्शन हिंसात्मक बनेको टिप्पणी गरेका थिए ।















