पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुप्रसाद बरालले कांग्रेसका नेताहरुको बिचमा आग्रह र पूर्वाग्रह धेरै छचल्किएको भन्दै यस्तो प्रवृतिले संगठन बलियो हुननसक्ने भएकोले केन्द्र देखि तल्लो तहको जिम्मेवारीमा रहेका सबैले आत्मसमिक्षा गर्नुपर्नेमा जोड दिएका छन। नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य बरालले सबै तहको जिम्मेवारीमा बस्नेहरुबाट बेईमानी भएको भन्दै आत्मसमिक्षा गरेर अगाडी बढ्नुको विकल्प नरहेकोमा जोड दिए।
केन्द्रीय सदस्य बरालले बैठकमा बोल्ने क्रममा भने, “केन्द्रीय समितको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले आग्रह र पूर्वाग्रह राखेर बोल्दा धेरै कुराहरु छचल्किए। यसले संगठन झन् कमजोर बनाउँछ। हामी केन्द्र देखि टोलसम्म जो जो जुन जिम्मेवारीमा छौं, सबैले केहि न केहि बेइमानी गरेकै छौं, तसर्थ अब आग्रह पूर्वाग्रह छोडेर आत्मसमिक्षा गरौँ र संगठनलाई बलियो बनाउन प्रयास गरौँ।
उनले सरकारमा रहेर पार्टीको लागि सहयोग गर्ने र पार्टीको हितमा काम गर्ने नेताहरुलाई समेत पार्टीका केन्द्रीय नेताहरुबाट आलोचना गर्ने र हेरेस्मेन्ट गर्ने काम भएको भन्दै दुख समेत प्रकट गरे । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बजेट विनियोजन गरेर योगदान गरेको तर पार्टी भित्रैबाट उनि आक्रमणमा परेको बरालले बैठकमा सुनाए ।
‘योगदान गरेको अवस्थामा पार्टीले आभार प्रकट गर्ने हो कि पार्टी मेसिनरीबाटै आलोचना र ह्यारेसमेन्ट गर्ने काम गर्ने हो,’ बरालले भने, ‘राम्रो गरेकालाई राम्रो भनौँ । नराम्रो गरेकालाई संशोधन गर्न प्रयत्न गरौँ । तर आलोचना गर्ने होइन ।’ उनको भनाई थियो ।
केन्द्रीय सदस्य बरालले भने, “अहिले बर्षाको समय छ। किसानहरुले मल पाउन सकेको छैनन । कृषि मन्त्री कांग्रेसको हुनुहुन्छ तर, किसानलाई कसरि खुसि बनाउने भन्नेमा ध्यान पुग्न सकेको छैन। यस्ता बिषयले पार्टी संगठन निर्माणमा पनि चुनौती थपिन्छ।”
आँफु पार्टीको आपुर्ती एबम उपभोक्ता विभागको प्रमुख भएको कारण देशका बिभिन्न जिल्लामा पुग्दा विभिन्न उपभोग्य बस्तुको सहज आपुर्ती हुन नसकेको र कालोबजारी बढेको भन्ने जस्ता गुनासा बारम्बार सुन्नुपरेको भन्दै नेपाली काँग्रेस समेत सहभागि रहेको बर्तमान सरकारले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएर कालोबजारी तत्काल अन्त्य गर्न गम्भीरता देखाउनुपर्नेमा जोड दिए ।
बरालले हाल सुन चांदी व्यवसायीको आन्दोलन चलिरहेको भन्दै उनीहरुको आन्दोलनलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गर्ने तर्फ पार्टी गम्भीर बनोस भन्ने सुझाब दिए। उनले मुलुकको बिभिन्न क्षेत्रको सन्तुलित बिकासको लागि सन्तुलित ढंगले बजेट बिनियोजन गर्नुपर्नेमा त्यसो हुन् नसकेको भन्दै सरकारमा बस्नेहरुको आलोचना पनि गरे।