पोखरा, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान एबम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभाकक्षमा आज भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले प्रजातान्त्रिक पद्धतिमा सवै वर्गको सहभागिता र संरक्षण हुनुपर्नेमा जोड दिए कांग्रेस कमजोर भएमा समाजका विभिन्न वर्ग विमुख बन्नुपर्ने अवस्था आउन सक्ने उनको भनाई थियो ।
त्यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशका अध्यक्ष शङ्करप्रसाद पराजुलीले प्रदेश तथा केन्द्र सरकारले अपाङ्गता भएका व्यक्ति र संस्थाहरुलाई समेट्न नसकेको बताए ।
संघका केन्द्रीय सदस्य राधाकृष्ण गुरूङले सरकारमा रहेकाहरु नै अपाङ्ग मैत्री बन्नुभन्दा पनि शक्तिमैत्री बन्दा अपाङ्गहरु आफुले पाउने सेवा सुविधाबाट बञ्चित बन्नुपरेको उल्लेख गरेका थिए । “जसको पहुँच छ, उसले कार्यक्रम र योजनाका नाममा लाखौं रकम लिन सक्ने तर कार्यक्रम प्रभावकारी छ, पहुँच छैन भने पैसा उठाएर कार्यक्रम गर्नुपरेको छ ” उनले भने । अपाङ्गता भएका केही व्यक्तिहरुले खाली भाँडा थापेर पैसा माग्नु भन्दा व्यवसायीक रुपमा केही वेचेर, उपहार दिएर, आफ्नो कला कौशल प्रदर्शन गरेर सहयोग लिनु उत्तम हुने उनको धारणा रहेको थियो।
नेपाली कांग्रेस गण्डकी प्रदेशका मुख्यसचिव पदम श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको समस्या, चुनौती र समाधानको बारेमा जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा महाधिवेशन प्रतिनिधि परशुराम भट्ट, पूर्व केन्द्रीय सदस्य श्याम प्रसाद अर्याल, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ कास्कीका सभापति सुशिल गोदार, पर्वतका सभापति गणेश भुसाल, पोखरा १४ का सभापति सुजन बस्ताकोटीलगायतले अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई एउटै कलष्टरमा राखेर निर्वाचन गरिनुले मर्कामा परेको, नेपाली कांग्रेसको विधान संशोधनको आवश्यकता रहेको, अपाङ्ग व्यक्तिहरुको राजनीतिक पहुँच बनाउन कानुनी सुधार, सामाजिक चेतना, राजनीतिक दलको सहयोगले अपाङ्ग समुदायको आवाज सशक्त बनाउने धारणा राखेका थिए ।
कार्यक्रममा कलाकारहरु दिलिप भण्डारीले सारङ्गी बजाएका थिए भने होमनाथ पौडेलले गीत गाएर आफ्नो प्रतिभा देखाएका थिए। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशका महामन्त्री युवराज पराजुलीले सञ्चालन गरेको कार्यक्रम उपसभापति ताराप्रसाद तिवारीले स्वागत गरेका थिए भने प्रदेश अध्यक्ष शङ्करप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।