पोखरा, पोखरा महानगरपालिका वडा नम्बर ४ र ५ जाेड्ने फिर्के खाेलामाथि निर्माणाधीन पुल ६ वर्षदेखि अलपत्र छ । पछिल्लाे पटक थपिएकाे म्याद पनि गत वर्ष असारमा सकिएकाे छ भने काम अघि बढ्न सकेकाे छैन ।
भूपी शेरचन राजमार्ग अन्तर्गत (पोखरा–बागलुङ) सडकखण्डमा पर्ने फिर्के पुलको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय पोखराले रद्द गर्ने निर्णय गरेको छ । निर्माण जिम्मा पाएको श्री शान्ति–आरोग्य जे.भी. सानेपा, ललितपुरले समयमै काम सम्पन्न नगरेपछि कार्यालयले सम्झौता तोड्ने निर्णय गरेको हो ।
सम्झौता अनुसार २०७८ सालमा निमार्ण सकिनुपर्ने थियो । तर सम्झौता म्याद सकिएको तीन वर्ष सम्म पनि पुल अलपत्र छ । पटक–पटक म्याद थपेर पनि पुल निर्माणको काम निर्धारित कार्यतालिका अनुसार अघि नबढे पछि सम्झौता खारेज गरिएको डिभिजन कार्यालयले जनाएको छ ।
पुल निर्माणमा ढिलाइ भएको भन्दै डिभिजन कार्यालयले कम्पनीलाई कार्यप्रगति देखाउन निर्देशन दिएको छ । २०७५ सालमा पुल निर्माणको ठेक्का शान्ति आरोग्य जेभीलाई दिइएको थियो । ३० महीनाभित्र पुन निर्माण गर्ने गरी शान्ति आरोग्यसँग ठेक्का सम्झौता गरेको थियो । तर तीन पटक म्याद थपिदा पनि पुल बन्न सकेको छैन ।
पहिलो पटक २०७८ असोज २२ मा काम सक्नेगरी २०७८ असार २३ मा म्याद थपिएको, २०७९ भदौ ६ मा दोस्रोपटक म्याद थपेर २०८० असार २७ सम्म पुर्याइएको र २०८० असार ३१ मा फेरी तेस्रोपटक म्याद थपेर २०८१ असार २७ सम्मको समय दिइएको कार्यालयले जानकारी दिएको छ ।