पोखरा, पोखरा महानगरपालिका -५ प्रस्यांगमा रहेको शान्ति निकेतन स्कुलले बिद्यालय प्रयोजनको लागि अत्याधुनिक भवन निर्माण गर्ने भएको छ। बिगत केहि समय यता पोखरामा संचालित विभिन्न विद्यालयले आफ्नो भौतिक संरचनामा बिस्तार र सुधार गर्दै जाने क्रममा शान्ति निकेतन बोर्डिंग स्कुलले पनि आफ्नो सुबिधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । स्कुलको नयाँ भवनको शिलान्यास नेपाली नयाँ बर्ष २०८२ को पहिलो दिन गरिएको छ ।
नयाँ भवन निर्माणमा १५ करोड रुपैया खर्च गर्ने योजना रहेको विद्यालयका संस्थापक प्राचार्य डाक्टर महेश्वर पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए। पोखरा- बागलुङ राजमार्गबाट १०० मिटर भित्र पोखरा ५ को धारापानीमार्गमा करिब ६० करोड रुपैया मूल्य बराबरको जग्गामा भवन निर्माण कार्य सुरू गरिएको उनले बताए । भवनको निर्माण कार्य एक बर्षमा सम्पन्न गर्ने लक्ष राखिएको छ।
शनिबार बिहान भवनको शिलान्यास कार्यक्रममा बोल्दै डा. पराजुलीले शान्ति निकेतन स्कुलको नयाँ भवन अत्याधुनिक प्रविधियुक्त र सुबिधा सम्पन्न हुने बताए । नयाँ भवन अपांगता मैत्री हुने, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, स्मार्ट क्लासरूम, डिजिटल उपकरणहरू, कम्प्युटर ल्याब, साइन्स ल्याब र वर्ल्ड क्लास डिजिटल लाइब्रेरीको व्यवस्था हुने समेत उनले स्पष्ट पारे ।
विद्यालयका संस्थापक प्राचार्य पराजुलीले नयाँ भवन शिलान्यास र विद्यालयको २० वर्षको गौरवमय शैक्षिक यात्राबारे जानकारी दिंदै विद्यालयको स्थापना २०६२ सालमा गरिएको र शान्ति निकेतन स्कुलले पोखरा क्षेत्रका साढे दुई सय विद्यालयमध्ये विभिन्न परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको जानकारी गराए ।
स्कुलको पूरानो भवनमा मन्टेश्वरी तहदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि पठनपाठन सञ्चालन हुने र नयाँ भवनमा कक्षा ४ देखि कक्षा १२ सम्म पठानपाठन गराउने उनले बताए । उनले आगामी २०८३ सालदेखि कक्षा १२ सम्मको पाठ्यक्रम विस्तार गरिने सुनाए । पराजुलीले भने-‘हामीले शुल्क वृद्धि नगर्ने र समय सापेक्ष शुल्क निर्धारण गर्ने प्रतिबद्धता जनाएका छौं।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले पनि विद्यालयका सबै प्रगतिको पक्षमा उल्लेख गर्दै सबैलाई शुभकामना दिएका छन् । उनले नयाँ संरचनाले विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने र भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शान्ति निकेतन स्कूल अघि बढ्ने बताए ।
स्थानीय सर्बसाधारण र अभिभावकहरुको समेत उपस्थितिमा भवनको शिलान्यास गरिएको थियो शिलान्यास समारोहमा पोखरा -५ का वडाध्यक्ष बिष्णुप्रसाद बराल, स्थानीय अभिभावक एबम युवा ब्यबसायी पुरुषोत्तम पराजुली लगायतले शैक्षिक क्षेत्रको बिकासको लागि बिद्यालयहरुको भौतिक संरचनामा सुधार गर्नुको साथै बिद्यार्थी, अभिभावक र शिक्षक तथा बिद्यालय सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।