पोखरा, गण्डकी प्रदेशको स्याङ्जा जिल्लाका पांचवटा क्याम्पसमा स्ववियुको निर्वाचन भएकोमा नेपाल बिद्यार्थी संघले चारवटामा र अनेरास्ववियुले एक क्याम्पसमा बिजय प्राप्त गरेको छ। मंगलबार सम्पन्न भएको वालिङ बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति जितेको छ ।
सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सभापतिमा जित हात पारेको छ । जिल्लामा धेरै बिद्यार्थी रहेको वालिङ बहुमुखी क्याम्पसमा नेविसंघका निरज श्रेष्ठ सभापतिमा निर्वाचित भए पनि सचिवमा अनेरास्ववियुकी बिना रेग्मीले चुनाब जितिन अन्य सबै पदमा नेविसंघका उमेद्वार विजयी भए ।
यस्तै, जिल्ला सदरमुकाममा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका देवदत्त सुवेदीको प्यानल निर्वाचित भएको छ । यस्तै, फेदीखोलामा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको सभापतिमा प्रतीक्षा गोदारको प्यानल बिजयी भएको छ । समानुपातिकमा भने नेविसंघ र अनेरास्ववियुका २–२ जना निर्वाचित भएका छन् ।
यस्तै, गल्याङको मालुंगा सार्वजनिक बहुमुखी क्याम्पसमा नेविसंघका गोविन्द भण्डारी र चापाकोटमा रहेको राधादामोदर संस्कृत विद्यापीठमा नेविसंघका रविन भट्टराई सभापतिमा चयन भएको छ । दुबै क्याम्पसमा सहमतिका आधारमा स्ववियु गठन भएको हो ।
यसैबीच कालीगण्डकीको मिर्मी बहुमुखी क्याम्पस र गल्याङको गल्याङ बहुमुखी क्याम्पसमा विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । मिर्मी बहुमुखी क्याम्पसमा सहमतिको प्रयास भइरहँदा नेकपा एमालेले एकलौटी गर्ने प्रयास गरेको भन्दै क्याम्पसका १२ जना सञ्चालक समिति सदस्यले सामूहिक राजिनामा समेत दिएका छन् । क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले छलफलको प्रयास जारी रहेको बताए ।
सम्बन्धित समाचार ..
वालिंग क्याम्पसमा स्ववियु निर्बाचन: अध्यक्षमा नेविसंघ र सचिबमा अनेरास्ववियुका उमेद्वार बिजयी