पोखरा, नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको गण्डकी प्रदेश समितिको अध्य्यक्षमा दोश्रो कार्यकालको लागि पनि पोखराका पत्रकार इन्द्रप्रसाद पौडेल निर्बाचित भएका छन। नवलपुरमा सम्पन्न दोश्रो अधिवेशनबाट पौडेल आगामी तीनवर्षे कार्यकालका लागि पुनः अध्यक्षमा चुनिएका हुन । पौडेल पोखराबाट कान्तिपुर टेलिभिजनमा लामो समयदेखि कार्यरत छन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष पौडेलले प्रेस चौतारी नेपाल पत्रकारको हकहितसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सत्य, न्याय र निष्ठाको पक्षमा सदैव क्रियाशील हुने बताए । प्रदेश समितिको महासचिवमा पनि लम्जुंगका आशबहादुर गुरुङ दोहोरिएका छन । गुरुङ पनि कान्तिपुर पब्लिकेसनमा कार्यरत छन् ।
कार्यसमितिको उपाध्यक्षमा इतराज गुरुङ, उपाध्यक्ष (महिला) मा रञ्जिता शर्मा, कोषाध्यक्षमा मदनराज तिमिल्सिना तथा पाँचजना सचिवमा सिर्जना बराल, गौरव त्रिपाठी, गोपाल जिटी, बालकृष्ण सुवेदी र दिलबहादुर विक छन् ।
प्रदेश कार्यसमितिको सदस्यहरुमा रोशन लामिछाने, राजन पौडेल, डा. नरनाथ पाण्डे, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा (सुशान्त), विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा, नीरज थकाली निर्बिरोध निर्बाचित भएका छन् ।
अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए । अध्यक्ष मण्डलको अध्यक्षमा गणेश पाण्डे र निर्वाचन आयोग अध्यक्षमा गणेश खनाल रहेका थिए।
मुलुक संघीय संरचनामा गएसँगै २०७३ जेठ ६ मा उपाध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा रामकृष्ण शर्मा सचिव रहने गरी प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समिति विस्तार भएकोमा २०७५ जेठ ३ मा प्रेस चौतारी नेपाल र नेकपा माओबादी सम्बद्ध प्रेस सेन्टरबीच एकतापछि प्रेस संगठन नेपाल बनेको थियो ।
एमाले र माओबादी पार्टीको एकता टुटेसँगै प्रेस चौतारी नेपाल पूर्ववत् अवस्थामा फर्किएको हो । त्यसपछि केन्द्रीय निर्देशनअनुसार रामकृष्ण शर्मा इन्चार्ज, श्यामनाथ कुँवर सह–इन्चार्ज, सुष्मा पौडेल संयोजक, विद्रोही गिरी सहसंयोजक, रुद्र श्रीष सहसंयोजक सहित ७५ सदस्यीय प्रदेश समिति गठन भएको सोहि समितिले २०७८ फागुन १९ मा पोखरामा गरेको प्रथम अधिबेशनबाट इन्द्रप्रसाद पौडेलको नेतृत्वमा ४५ सदस्यीय गण्डकी प्रदेश समिति निर्वाचित भएको थियो ।