पोखरा, नेपाली कांग्रेसले पार्टीको जिल्ला नेतृत्वलाई संगठन र समसामयिक सन्दर्भमा ‘पढाउन’ कास्कीको पोखरामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले ७७ वटै जिल्ला र सात वटै प्रदेशका सभापति सहित प्रशिक्षण शाखाका प्रमुखहरुलाई ‘पढाउन’ भनेर पोखरा बोलाएको थियो ।
कांग्रेसको विधानमा दुई उपसभापतिमध्ये एक जनालाई प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारी दिने ब्यबस्था गरिएको छ । केन्द्रमा भने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान रहने र त्यसको प्रमुख पनि एकजना उपसभापति रहने व्यवस्था बमोजिम हाल उपसभापति पूर्णबहादुर खड्काले केन्द्रको नेतृत्व लिएका छन । पार्टीले माघ २१ गते सातवटा प्रदेशको लागि अनि २२ र २३ गते ७७ वटा जिल्लाको लागि यस किसिमको कार्यक्रम आयोजना गरेको हो ।
छ जनाले दिए, विभिन्न विषयमा प्रशिक्षण
जिल्ला सभापतिहरुको लागि आयोजित कार्यक्रममा छ जनाले विभिन्न बिषयमा प्रशिक्षण दिएको कास्कीका उपसभापति एबम प्रशिक्षण शाखाका प्रमुख युबराज कुँवरले गुरुकुल खबरलाई जानकारी दिए कार्यक्रममा पार्टीका महामन्त्री गगन थापाले पार्टी संगठन, सदस्यता अभियान, केन्द्र र प्रदेशबीचको अन्तरसम्बन्धबारेमा, अर्का महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान राजनीति र समसामयिक मुद्दाहरु सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
यसैगरी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र नेपाली कांग्रेसको दायित्व बिषयमा, सदस्य विश्वदीप लामिछानेले नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव बिषयमा, सदस्य डा. कृष्णप्रसाद पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयमा, प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवाद–नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ विषयमा सहभागीहरुलाई पढाएका थिए ।
महामन्त्री शर्माले महासमितिपछिको राजनीतिक परिस्थिति र समसामयिक सन्दर्भ विषयमा कार्यपत्र प्रस्तुत गर्दै अध्यादेश हुँदैमा सबै गलत र विधेयक हुँदैमा सबै सही नहुने कुरा पनि उल्लेख गरे उनले बर्तमान सरकारले केहि समय अगाडी जारी गरेका केहि अध्यादेशको बचाउ गर्दै उक्त कुरा बताएका हुन । ‘पछिल्ला अध्यादेश र विधेयकहरू’ शीर्षक दिएर शर्माले कार्यपत्रमा लेखेका छन्, ‘अध्यादेश हुँदैमा गलत हुँदैन, विधेयक हुँदैमा सही हुँदैन ।’
उनले बुँदागत रूपमा ‘अध्यादेशमा रहेका मुख्य विषयवस्तु’ र ‘विधेयकउपर उब्जिएको प्रश्नको निदान’ नाम दिएर बन्दसत्रमा थप प्रष्टयाएको अभिमुखीकरण कार्यक्रममा सहभागी एकजना जनप्रतिनिधिले बताएका छन् । राष्ट्रपति पौडेलद्वारा जारी अध्यादेशको पक्षमा वकालत गर्दै महामन्त्री शर्माले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको भनाइ पनि उद्धरण गरेका छन् । ‘अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ’ चन्द्र ढकाल (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ) उनले आफ्नो कार्यपत्रमा लेखेका छन् ।
प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले अभिमुखीकरणको बन्दसत्रमा पेस गरेको ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्रमा केन्द्रदेखि स्थानीय तहसम्म चारवटा टिमको परिकल्पना गरिएको हो कार्यपत्रमा ‘डिजिटल टिम’को संरचना बनाउने क्रममा राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय टिमको परिकल्पना गरिएको छ ।
लामिछानेले कार्यपत्रमा नेपालमा एक करोड ३५ लाख (जनसंख्याको ४३.५ प्रतिशत) नागरिकले फेसबुकको प्रयोग गर्ने गरेको उल्लेख छ । यस्तै इन्सटाग्रामका ३६ लाख, एक्स (ट्विटर)का ६ लाखभन्दा बढी र टिकटकका नेपाली प्रयोगकर्ता १५ लाख रहेका पनि कार्यपत्रमा भनिएको छ । लामिछानेका अनुसार एक करोड आठ लाख ५० हजार नेपालीले फेसबुक म्यासेन्जर प्रयोग गरिरहेका छन् । कार्यपत्रमा खाडी र मलेसियामा २० लाख तथा भारतबाहेकका अन्य मुलुकमा २५ लाख नेपालीले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको उल्लेख छ ।
सामाजिक सञ्जालमार्फत् मतदाताहरूसँग सजिलै सम्पर्क गर्न सकिने, उनीहरूलाई संगठित गर्न सकिने र मतदानका लागि प्रेरित गर्न सकिने लामिछानेको तर्क छ । ‘सामाजिक सञ्जालले स्थानीय कार्यकर्ताहरूलाई सजिलै पार्टीसँग जोड्न मद्दत गर्छ । सामाजिक सञ्जालमार्फत् दलले आफ्ना विचार प्रवर्द्धन गर्न र प्रतिपक्षीहरूलाई जवाफ दिन सक्छन् ।’ लामिछानेले भनेका छन ।
अभिमुखीकरण कार्यक्रममा प्रतिष्ठानका सदस्य डा. कृष्ण पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र पेस गरेका थिए । ‘२०४६ सालसम्म : राजनीति त्याग, निष्ठा, आदर्श र समर्पण थियो । २०४६–२०५१ सम्म : सेवामा समर्पित रह्यो,’ कार्यपत्रमा लेखिएको छ, ‘२०५१ पछाडि राजनीति पेशा र व्यवसायमा परिणत भएको छ । अहिलेको राजनीतिमा त्याग, निष्ठा, आदर्श, समर्पण र सेवाभाव न्यून हुँदै गएको छ ।’ प्रतिष्ठानका सदस्य पौडेलले राजनीतिलाई सेवा भावमा नै समर्पित गर्न आवश्यक रहेकोमा पनि जोड दिएका छन् ।
‘लोकतान्त्रिक समाजवाद : नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ विषयमा प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा शिक्षा र गरिबीको विशेष अन्तरसम्बन्ध देखिने गरेको भन्दै लेखिएको छ, ‘स्नातक वा त्यसभन्दा बढी शिक्षा हासिल भएको घरमूलीको घरमा गरिबी छैन । यो जम्मा ०.४४ प्रतिशत छ।’राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका प्रतिष्ठानका निर्देशक पोखरेलले कार्यपत्रमा हवाईजहाजको तस्बिरसहित ‘हामी उड्ने अवस्थामा छौँ’ शीर्षकमा नेपालको अर्थतन्त्रको झलक र नेपालीको जीवनस्तरबारे बुँदागत ब्याख्या गरेका छन्।
नेपालीको जीवनस्तरबारे गरिएको ब्याख्यामा उनले भनेका छन्, ‘सुविधाको पहुँच जति टाढाको दूरीमा रहेको छ, गरिबीको दर कम्तीमा पनि १.५ गुणाले बढेको देखिन्छ ।’ कार्यपत्रमा स्मार्ट फोन बोक्ने नेपालीको संख्या ७३ प्रतिशत र विद्युत पुगेको घर ९४ प्रतिशत रहेको पनि उल्लेख गरेका छन् । पोखरेलले कार्यपत्रमा नेपालको अर्थतन्त्रको झलक अन्तर्गत नेपालको गार्हस्थ उत्पादन ५७ खर्ब र नेपालको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलरबराबर रहेको तथ्य प्रस्तुत गरेका छन् । उनका अनुसार नेपालमा अहिले २०.२७ प्रतिशत गरिबी छ । पुरानो मापदण्डअनुसार नेपालको गरिबी ३.५७ प्रतिशत मात्रै रहेको पोखरेलले उल्लेख गरेका छन् । कार्यपत्रअनुसार मानव विकास सूचकांक ०.६०१ र गार्हस्थ बचत ७.६ प्रतिशत छ ।
सुझाबको आधारमा समाधान सहितको प्रतिबेदन तयार गरिने
कांग्रेसले बुधबार बिहानदेखि सहभागीहरुलाई समूहमा बाँडेर समूहगत छलफल चलाएको र पहिलो दिन प्रस्तुत गरिएका विभिन्न कार्यपत्रहरुमाथि बुधबार छलफल गरेर प्रतिवेदन तयार गरेको जनाएको छ । जिल्ला पार्टी संगठन एवम् प्रशिक्षण सँग सम्बन्धित समस्यालगायत विषयमा छलफल गरेर समाधान सहितको सुझाव–प्रतिवेदन तयार गरिने कार्य तालिका रहेको प्रतिष्ठानका एक सदस्यलाई उधृत गर्दै कास्की कांग्रेसका सह सचिब शंकर ढुंगानाले गुरुकुल खबरलाई जानकारी दिए।
गठबन्धनमा र सरकारको काममा शंका नगर्न देउवाको निर्देशन
पोखराको केसी क्याटरिङमा आयोजना गरिएको ‘जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा र प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काले सभापतिका रूपमा सम्बोधन गरेका थिए भने कास्कीका सभापति किशोरदत्त बरालले सहभागीलाई स्वागत गरेका थिए ।
महाधिवेशनलाई नेताको प्रतिष्ठा र गुटसँग नजोडी कांग्रेसको विरासतसँग जोड्ने र सुधारिएर जाने हो भने २०८४ मा कांग्रेसलाई कसैले राक्ने नसक्ने कुरामा नेताहरुले जोड दिएका थिए । सभापति देउवाले त कांग्रेस नेता कार्यकर्ताहरूलाई सरकारको काम र गठबन्धनबारे शंका नगर्न समेत सुझाए उनले अन्तर्घातको रोगलाई हटाउन एक भएर लाग्नसमेत निर्देशन दिए । गठबन्धन लामो समयसम्म जाने हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धेरै शंका नगर्न आग्रह गर्दै देउवाले बरु कांग्रेसलाई एकतावद्ध र सुदृढ गराउन निर्देशन दिएका थिए ।
अन्तर्घात महारोग भयो, यो नियन्त्रण गर्न सके काँग्रेसले बहुमत ल्याउँछ- खड्का
कार्यक्रमको सभापतित्व गरेका उपसभापति पूर्णबहादुर खड्काले २०८४ अघिका तीन वर्ष पार्टीले चलाएका अभियान सफल भइसकेपछि कांग्रेसलाई स्थानीय तह, प्रदेश र संघमा बहुमत ल्याउन कसैले पनि रोक्न नसक्ने दाबि गरेका थिए। ‘मुलुकमा कांगेसको ०८१ को अभियान चलाऔँ, ०८२ को अभियान चलाऔँ, ०८३ को अभियान चलाऔँ । तीन वर्षे अभियान सफल भइसकेपछि कांग्रेसलाई ०८४ मा स्थानीय, प्रदेश र संघमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन । रोक्यो भने कांग्रेसमा वर्षौँदेखिको अपराध र अन्तर्घातले मात्र रोक्छ ।’
उपसभापति खड्काले कांग्रेसमा देखिएको अन्तर्घातको महारोग अन्त्य गर्नसके एक्लै चुनाव लडेर पनि बहुमत ल्याउन सकिने बताए । ‘अन्तर्घात कांग्रेसको महारोग भयो, यो रोगलाई कसरी निराकण गर्ने हो ?,’ उनले भने, ‘जुन रोग अन्त्य गरे कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्छ ।’ उनले भने ।
देउवा र खड्का बाहेक सबै दर्शकदीर्घामा
अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा सभापति देउवा र प्रतिष्ठान प्रमुख रहेका उपसभापति खड्का बाहेक सहभागी केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य लगायत नेताहरूलाई यथास्थानमा राखिएको थियो। यस्तै संघीय सरकारका मन्त्रीहरू, पार्टीको प्रदेश कार्यसमितिका सभापतिहरू, प्रदेशका मुख्यमन्त्रीहरू, ‘पढाउन’ बोलाइएका जिल्ला सभापतिहरू, उपसभापति लगायत अन्यलाई पनि केन्द्रीय पदाधिकारीसरह हलमा यथास्थनमै आशन गराइएको थियो । त्यस अगाडी प्रदेशस्तरको कार्यक्रममा पनि दुईजना मात्र मन्चमा बसेर अन्यलाई यथास्थानमा राखिएको थियो।
देउवा र खड्कामात्र मन्चमा रहनु र अन्यलाई दर्शक दीर्घामा राखेको बिषयलाई कतिपयले प्रशंशा गरेको भएपनि कतिपयले भने पार्टीको पदाधिकारी, पूर्व पदाधिकारी सहित मर्यादा गर्नुपर्ने नेतालाई सम्मान नगरिएको भन्दै टिप्पणी पनि गरेका थिए। कार्यतालिकाअनुसार पार्टीको कास्की जिल्ला प्रशिक्षण शाखा प्रमुख युवराज कुँवरले धन्यवाद मन्तव्य राखेपछि केन्द्रीय उपसभापति खड्काले आफ्रनो भनाई सहित अभिमुखीकरण कार्यक्रमको समापन गरेका थिए । यस अघि कांग्रेसले पोखरामै सोमबार सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई पनि प्रशिक्षण दिएको थियो।
पार्टीमा एकता कायम भए कांग्रेसले यसै प्रणालीमा पनि बहुमत प्राप्त गर्नसक्छ – सभापति देउवा
कांग्रेसको पोखरा महानगर सम्मेलन: दर्जन बढी केन्द्रीय नेताहरु, दुई दर्जन बढी बक्ता