Play

पार्टीमा एकता कायम भए कांग्रेसले यसै प्रणालीमा पनि बहुमत प्राप्त गर्नसक्छ – सभापति देउवा

मंगलवार ७७ जिल्लाका सभापति सहित प्रशिक्षण शाखा प्रमुखको लागि अभिमुखीकरण, केन्द्रिय पदाधिकारी र सदस्यको जमघट पोखरामा


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा एकता कायम हुनसके कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन कठिनाई नहुने बताएका छन । पोखरामा नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना गरिएको प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्ने क्रममा सभापति देउवाले उक्त कुरा बताएका हुन।

सभापति देउवाले विद्यमान समावेशी र समानुपातिक राजनीतिले एउटा पार्टीको बहुमत आउन जटिल जस्तो देखिए पनि  पार्टी भित्र एकता कायम हुन सकेमा आगामी दिनमा बहुमत प्राप्त पार्टी बनाउन सकिने बिश्वास ब्यक्त गरे ।

“अहिले समावेशी, समानुपातिक राजनीति हामीले सुरु गरेका छौं, यो राजनीतिले कुनै एउटा पार्टीको बहुमत आउन गार्हो देखिन्छ तै पनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं । त्यसका बाबजुद पनि पार्टीका सबै साथीहरूमा एकता भयो भने भोलिका दिनमा हामीहरू बहुमत प्राप्त पार्टी बन्न सक्दछौं ।” पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने

विपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायत नेताहरूले सुम्पनुभएको जिम्मेवारीलाई पूरा गर्न पनि एकता जरुरी रहेकोमा देउवाले जोड दिए ।

संघर्षको जगमा प्राप्त लोकतन्त्र, संघीयता, समावेशीतालाई सुदृढ गर्न जरुरी रहेको बताउदै देउवाले देशको विकासका लागि अधिकारको विकेन्द्रकरण हुनुपर्ने र देशको सबै स्थानको विकास हुनुपर्ने आवश्यकता औंल्याए । प्राप्त अधिकारको सदुपयोग गर्दै विनम्रताका साथ अघि बढ्न र जनताको सेवा गर्ने व्यक्तिका रुपमा स्थापित भई सोहि अनुरुपको पहिचान बनाउन पार्टीका नेता कार्यकर्तालाई देउवाले निर्देशन दिए ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवम् पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवम् निर्व्वाचन क्षेत्र मार्फत सम्बन्धित तहमा सञ्चालन हुने जानकारी दिए।

पार्टीको प्रशिक्षण पुस्तिका निर्माणको तयारी समेत गरिएको जानकारी दिदै  खड्काले पुस्तिकाको ड्राफ्टलाई अन्तिम रुप दिन पार्टीका निकायहरूमा छलफलका लागि पठाइसकिएको समेत स्पष्ट पारे । यसका लागि माघ महिना सम्म सुझाब संकलन गरिने उनको भनाई थियो । प्रशिक्षणबाट नेता तथा कार्यकर्तामा निराशा नभै आशा जगाउने विश्वास उनले ब्यक्त गरे ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य मान्यता र विरासतलाई विर्सन नहुने कुरामा जोड दिंदै पार्टीमा सबैलाई समेटेर लैजानुपर्ने र प्रत्येक निकायलाई बलियो बनाउने गरी अघि बढ्नु जरुरी रहेको बताए ।

एक दिन मात्र चल्ने प्रशिक्षण एवम् अभिमुखीकरण कार्यक्रममा सातवटै प्रदेशका पार्टी सभापति, सातवटै प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लामा रहेका केन्दीय सदस्य तथा प्रदेशका पदाधिकारीहरु सहभागी रहेको नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचार विभागका उपप्रमुख शिरोमणि बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैबीच मंगलवार देशका ७७ जिल्लाका सभापति र प्रशिक्षन शाखाका प्रमुखहरुको लागि पनि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ।प्रदेश र जिल्ला स्तरको अभिमुखीकरण कार्यक्रममा सहभागी बन्न तथा आसन्न १५ औं महाधिबेशनको लागि तयारीमा जुट्ने र नेता कार्यकर्ता संग भेटघाट गर्ने उद्धेश्यका साथ कांग्रेसका केन्द्रीय समितिका सबै जसो पदाधिकारी र केन्द्रीय सदस्यहरु पोखरामा आइसकेका छन्।

२१ माघ २०८१, सोमबार १४:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा