पोखरा, पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धी कास्की जिल्ला अदालतमा चलिरहेको मुद्दामा बिहिबार जाहेरवालाहरुको तर्फका अधिवक्ताहरुको बहस हुँदैछ। कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएकाले आजदेखि जाहेरवालाको तर्फबाट बहस हुन लागेको हो ।
सरकारी वकिल कार्यालयको तर्फबाट बुधबार बहस गर्नेले के भने ?
न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिल कार्यालयका तर्फबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, सहन्यायाधिवक्ताहरु सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका थिए ।
उनीहरुले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरुलाई सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षमा पठाउनुपर्ने तर्क प्रस्तुत गरेका थिए ।
सूर्यदर्शन सहकारी अपचलनमै जोडिएका यसअघिका प्रतिवादीहरूलाई पनि जिल्ला अदालतले पुर्पक्षमा राखेर मुद्दा अघि बढाउन आदेश दिएको र माथिल्ला न्यायालयबाट पनि सोही आदेश सदर भएकोले अहिलेका प्रतिवादीलाई पनि पुर्पक्षमा पठाउनुपर्ने जिकिर उनको थियो । रविसहित ४ जना सहकारी सदस्य नभए पनि सहकारीको रकम अपचलनमा गम्भीर बदनियत गरेका र बाँकी ३ जना सहकारीको पदाधिकारी भएर पनि पदीय दायित्व पूरा नभएको उनले तर्क गरेका थिए ।
उपन्यायाधिवक्ता प्रकाश गौतमले प्रतिवादीहरूलाई थुनामा नराखे मुद्दामै नकारात्मक प्रभाव पर्ने जिकिर गरे । ‘सहकारीका नाममा चेक काटेको छ । ऋण लिएको छैन भन्ने अनि चेक काट्ने ? करोडौँ रकम हिनामिना भएको छ,’ उनले भने, ‘प्रतिवादीहरूलाई थुनामा नराख्दा मुद्दामा नकारात्मक प्रभाव पर्ने भएकोले थुनामै राख्नुपर्छ ।’
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पीडितको बचत फिर्ताकै लागि अनुसन्धान गरेर अभियोगपत्र दायर गरेकोले अदालतबाट सोही अनुसार आदेश हुनुपर्ने बताइन् । ‘बचतकर्ताहरूले थोपा थोपा गरेर जम्मा गरेको रकम यहाँ उपस्थित गराइएका प्रतिवादीहरू समेतको मिलेमतोमा हिनामिना भएको छ । हिनामिना भएको रकम जसरी पनि बचतकर्तालाई फिर्ता दिलाउनुपर्छ भनेर मुद्दा अनुसन्धान प्रक्रिया पूरा गरी ल्याएका हौँ,’ उनले भनिन् ।
काफ्लेले निकै दुख गरेर बचतकर्ताले जम्मा गरेको सहकारीको रकम खाइमासेको हुँदा पीडितलाई फिर्ता भराउन पनि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरिन् । ‘गाईभैँसी पालेर, मोही आफू र आफ्ना छोराछोरीलाई खुवाएर, दुध, दही र घ्यू बेचेर सन्तानको उज्ज्वल भविष्यको लागि बचत गरेको रकम जसरी हिनामिना भयो । त्यो रकम बचतकर्ताले फिर्ता पाउनैपर्छ । त्यो पाउन सातै जनासहितका प्रतिवादीलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न जरुरी छ,’ उनले थपिन् ।
सहायक न्यायाधिवक्ता विपिनराज तिवारीले बचतकर्ताको रकम लगेर खोलिएको टिभी अहिले बन्द हुनुमा आफ्नो लगानी नहुनु नै भएको तर्क पेस गरे । ‘आफूले एक रुपैयाँ पनि लगानी नगरेका तर नेपालको सबैभन्दा महँगो टिभी सञ्चालन गर्छु भनेर कुनै अनुसन्धान र अध्ययन नगरीकन बचतकर्ताको विभिन्न सहकारीको अर्बौँ रकम लगिएको छ । टिभी पनि बन्द छ,’ उनको दलिल छ, ‘आफूले लगानी गरेको भए पो माया हुन्छ, जनताको रकम कसलाई माया हुन्छ ? टिभीमा लगेर बचतकर्ताको रकम डुबाएका छन् । अपचलन गरिएको रकम प्रतिवादी सहितका व्यक्तिहरूले फिर्ता गर्नै पर्छ ।’
अब जाहेरवालाको तर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ ।
लामिछाने समेतको तर्फबाट कसकसले बहस गर्दै छन ?
रास्वपा सभापति लामिछाने सहितका प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्त लगायतले बहस गर्ने तयारी गरेका छन् । रास्वपा सांसद समेत रहेकी सोविता गौतम पनि प्रतिवादी लामिछाने लगायतको पक्षमा बहस गर्ने तयारीमा छिन् ।
दुवै पक्षको बहसपछि उच्च सरकारी वकिल कार्यालयका अधिवक्ताहरुले जवाफी बहस गर्ने छन् । त्यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दा फैसला गर्ने कि बाहिरै राखेर भन्ने आदेश न्यायाधीशले सुनाउने छन् ।
सहकारीको रकम अपचलन आरोपमा पूर्व गृहमन्त्री एवम् गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्धक समेत रहेका लामिछाने सहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते मुद्दा दायर गरेको थियो ।
लामिछानेसँगै रामबहादुर खनाल, पूर्वडीआईजी छविलाल जोशी, जोशी र लीला पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।